Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

एसईई त कट्यो अब के पढ्ने ?

बुधबार, ०७ असार २०७४

काठमाडौं - सर्मिन अर्यालको एसईईमा ३.८५ जीपीए आयो । काभ्रेको सञ्जिवनी माविबाट उनले ‘ए प्लस’ ग्रेड ल्याए । सुविधानगरमा भेटिएका अर्याललाई अब कहाँ पढ्ने भन्ने दोधारले हैरान पारेको छ ।  

त्यस्तै भक्तपुर कमलविनायककी निता थिङको पनि ‘ए’ ग्रेड आयो । उनी पनि कहाँ पढ्ने ? के विषय पढ्ने ? भन्ने द्विविधामै छिन् ।

कक्षा १२ सम्म विद्यालय शिक्षा हुने शिक्षा ऐनमा ब्यवस्था भए पनि कलेजहरुको भड्किलो प्रचार शैलीले विद्यार्थीलाई थप अन्योल बनाएको छ ।

कक्षा ११ र १२ लाई कलेज वा उमावि भन्न नपाइने भए पनि कति विद्यालयले भने कलेज र उमावि भनेर बोर्ड झुण्डाइरहेको विषयमा पनि विद्यार्थीले ध्यान दिनु आवश्यक रहेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् । आफूलाई पायक पर्ने विद्यालय र आफ्नो रुचीको विषय पढ्नुपर्ने उनले औंल्याए ।

‘आफूले लिएको लक्ष्य अनुसार पढन सकियो भने सफल पनि होइन्छ र पछि पछुताउनु पर्दैन ।’ उनले भने ।

अभिभावकले दबाबमा विद्यार्थीलाई पढ्न लगाउन नहुने मात्र नभएर विद्यार्थीले पनि अभिभावकको कुरै नसुनी मनलाग्दी विषय र कक्षा ११ पढाइ हुने विद्यालय छनौट गर्न पनि नहुने उनले जनाए ।

‘आफ्नो आर्थिक स्थितिलाई हेरेर विद्यालय र विषय छान्नुपर्छ, सकभर आफूले रोजेको विषय आफू १० सम्म पढेको विद्यालयमा छ भने त्यही पढ्न उचित हुन्छ’ उनी भन्छन्, ‘यतिबेला विद्यार्थीहरुलाई परामर्श दिन अत्यन्तै जरुरी छ । विद्यालयहरुले गर्ने प्रचारको पछि लाग्नुभन्दा राम्रोसँग बुझेर सही विद्यालय र सही विषय छनौट गर्नु वुद्धिमानी हुन्छ ।’

टिनएजको मध्य अवस्थामा पुगेका कारण विद्यार्थीले यो समयमा के गर्ने भनेर निक्र्योल गर्न सकेका हुँदैनन् । ठीक त्यसरी नै एसईईको नतिजापछि पनि कुुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने निक्र्यौल गर्न मुश्किल छ । विद्यार्थीले साथीको लहलहैमा लागेर वा कलेजको प्रभोलनमा परेर विषय तथा कलेज छनोट गर्नु नहुनेमा शिक्षकहरुको जोड छ ।

कलिलो उमेरका विद्यार्थीहरु साथीहरुको लहलहैमा लागेर, बिल्डिङ राम्रो देखेर, विज्ञापन राम्रो देखेर, कतिपय अवस्थामा कलेजको युनिफर्म राम्रो देखेर, स्कुलका सवारी साधन राम्रो देखेर, लामो कपाल राख्न पाउने भएर, लामो दूरीको स्वदेश वा विदेशको भ्रमण अवसर हुने भएर पनि कतिपय विद्यार्थीले स्कुल वा कलेज रोज्ने गरेको पनि पाइन्छ । आफ्नो रुची, चाहना र क्षमता सबैभन्दा बढी आफैलाई थाहा हुन्छ । आफूले अध्ययन गर्न सक्ने विषय वा शैक्षिक धार र भोलि मार्केटमा रोजगारी पाउने र गुणस्तरीय जीवन जीउन सकिने हुन्छ भनि विचार गरेर छनोट गर्नुपर्ने सुझाव छ भक्तपुर स्थित शारदा माविका प्रअ रोशन तुईतुईको ।

विद्यार्थीले पनि आफ्नो रुचि, चाहना र क्षमताको विषय क्षेत्रको बारेमा थप परामर्शको लागि आफ्ना अभिभावक, आफूले अध्ययन गरेको विद्यालयका शिक्षक, शिक्षिकाहरुसँग पनि परामर्श लिई, आफूले अध्ययन गर्न चाहेको विद्यालयको विगतको रिजल्टको अवस्था, शैक्षिक सुविधाका विषयहरुमा विभिन्न माध्यमबाट सूचना लिई आफ्नो अनुकुलको विद्यालयको छनोट गर्दा उपयुक्त हुने सुझाव छ, भक्तपुर स्थित वागीश्वरी मावि÷कलेजका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिको ।

यसबाहेक उनी कक्षा ११ र १२ पढाइ हुने निजी तथा सार्वजनिक विद्यालयको वेवसाइटबाट पनि कुन कलेज कस्तो ? भनी छुट्याउन सक्ने उपाय बताउँदै विद्यार्थीले मात्र नभएर अभिभावकले पनि त्यसबाट विद्यालयमा कस्तो कस्तो विषयको पढाइ हुन्छ भन्ने कुराको जानकारी लिन सक्नुपर्नेमा जोड दिन्छन् ।

‘अहिले त अभिभावकले विद्यालयको भ्रमण गर्ने, शिक्षक शिक्षिकाहरुसँग शुल्क, पढाइ र सुविधाबारेमा जानकारी लिने, छलफल गर्ने गर्नुपर्ने भएको छ ।’ उनले भने ।

विद्यार्थी सरल विषय पढेर सहज ढंगले पास हुन सकिन्छ भन्ने कुराबाट पनि प्रभावित हुन्छन । यसले भोलिको भविष्यमा पर्ने प्रभावबारेमा पनि ख्याल गर्नुपर्ने ख्वप कलेजका प्रिन्सिपल रुपक जोशीले बताए । उनले धेरै विद्यार्थीले जुन विषय पढे पनि निक्कै ख्याल गरेर र गम्भीर भएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए ।

अहिले सही विषय र सही विद्यालय छनौट गर्न सकियो भने एसईईपछिको करिअर राम्रो बनाउन सकिने भएकोले निक्कै ख्याल गर्नु आवश्यक छ ।

प्रतिक्रिया