अहिलेको शिक्षा प्रणाली 'फैक्ट्री मोडल'


शिक्षालाई भारतीय समाजको संरचनासंग जोडेर व्याख्या गर्न माहिर भारतीय शिक्षण मण्डलका संगठक एवं महामन्त्री मुकुल कानिटकार भारतीय जनता पार्टीका शिक्षा विभाग प्रमुख हुन् । २५ बर्षदेखि शिक्षा क्षेत्रसंग जोडिएर पार्टीको जिम्मेवारी वहन गरिरहेका कानिटकार भारतको वर्तमान शिक्षा प्रणालीलाई 'फैक्ट्री मोडल' भन्न रुचाउँछन् । उद्योगले जस्तो विद्यार्थीलाई एकमुष्ठ उत्पादन गरेर बजारमा पठाउने शिक्षा पद्धती भारतमा सन् १८३५ को ब्रिटीस अधिकारी मैकालेले भित्राएको उनी बताउँछन् ।

सन् १९४८ मा भारत स्वतन्त्र भएपछि पनि त्यही जगमा उभिएर गुलामी उन्मुख शिक्षालाई भारतले निरन्तरता दिएको उनको आरोप छ । त्यसैले समृद्ध भारत बनाउने हो, भने शिक्षामा आमुल परिवर्तन गर्नुपर्छ भन्ने उनको मान्यता छ । उनको समूहले भारतका विभिन्न राज्यमा समाज संरक्षित मोडल स्कुल सञ्चालन गरेर परिक्षण समेत गरिरहेको छ । कानिटकारसंग पत्रकार सञ्जय पन्थीले गरेको कुराकानी :

- सत्तासिन पार्टीको शिक्षा विभाग प्रमुखका हैसियतमा भारतको वर्तमान शिक्षा प्रणाली र व्यवस्थालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

शिक्षा कुनै पनि समाजको ऐना हो । शिक्षाले नै समाजको दिशा तय गर्छ । अझै स्पष्ट भाषामा भन्नुपर्दा समाजको रिडको हड्डी नै शिक्षा हो, भन्दा हुन्छ । भारतीय समाजका लागि पनि शिक्षा त्यही अवस्थामा छ ।
भारतको वर्तमान शिक्षा पद्धतीका बारेमा भन्नुपर्दा गर्व गर्ने किसिमको र विश्वस्त हुनसक्ने किसिमको छैन । सन् १८३५ मा अंग्रेज शासकका नियुक्त अधिकारी मैकालले बनाएको शिक्षा निती र प्रणाली अहिले पनि निरन्रतरता प्रति हाम्रो आपत्ती छ । खासगरी युरोपको औधोगिक क्रान्ति पश्चात फैक्टीमा काम गर्नेहरुका लागि बनाईएको फैक्ट्री मोडल एजुकेशनलाई अपनायो । भारतको आफ्नै भुमिको बैद्धिक सनातन प्रणालीको शिक्षालाई उन्मूलन गरेर पश्चिमा जानकारीमा आधारित शिक्षा प्रणाली त्यस वखत शुरु गरियो ।

तत्कालिन समयसम्म भारत वर्षमा सनातन् बैद्धिक शिक्षा पद्धती मार्फत शिक्षा दिईन्थ्यो । त्यो सबैका लागि समान थियो । बेदका ६ अंगको वर्णनमा आधारित शिक्षा प्रणाली थियो । त्यो शिक्षा प्रणालीले विद्यार्थीको सर्वाङ्णि विकास गर्न सक्छ । यो हैन की एकांकी विकास । तर अंग्रेजी शिक्षाले त्यही एकांकी शिक्षा विकास गरिरहेको छ ।

शिक्षा अध्ययन केन्द्रित हुनुपर्छ । अध्यापन केन्द्रित हैन । टिचिंग वाई लर्निगं हुनुपर्छ । शिक्षा ज्ञानमा आधारित हुनुपर्छ, यो हैन की सुचनामा आधारित होस् । तर अहिलेको शिक्षा त्यही सुचनामा मात्र आधारित छ । त्यसैले अहिलेको भारतको शिक्षा पद्धती एकांकी छ, भन्ने हाम्रो बुझाई हो । ज्ञान अनुभुतीले प्राप्त हुन्छ सुचनाले हैन । त्यसैले यो शिक्षा प्रणाली क्रमिक रुपमा परिवर्तन गर्दै सनातन बैद्धिक शिक्षा प्रणालीमा आधारित युगानुकुल शिक्षा प्रणाली लागु गरेर शिक्षामा आफ्नो पहिचान बनाउन पर्छ, भन्ने मान्यताले हामीले काम गरिरहेका छौं ।

त्यसका लागि हामीले पार्टीका तर्फबाट सरकारलाई सुझाव पनि दिएका छौं । सरकारले पनि त्यसलाई सकारात्मक रुपमा लिएको छ । अझै पछिल्लो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्नु भएका आदित्यनाथ योगीले त झन् आगामी वर्ष सन् २०१८ को बजेट बनाउँदा नै त्यो शिक्षा व्यवस्थाालाई व्यवहारमा कार्यन्वयन गर्नेगरी केही गर्ने आश्वासन नै दिनु भएको छ ।

- भारतको वर्तमान शिक्षा प्रणाली ज्ञानमा आधारित छैन ?

भारतको शिक्षा पद्धती सुचनामा आधारित छ, भन्न मलाई कत्ति पनि आपत्ती छैन । किनकी भारतको वर्तमान शिक्षा पद्धतीको संरचना सबै अंग्रेज शासकका अधिकारी मैकालले तय गरेका हुन् । जुन शिक्षा पद्धती उपभोक्तावादी छ । त्यो केवल सुचनामा आधारित छ । भारतको वर्तमान मोडलको उत्तम मानिएको सिविएसई वोर्डमा सय प्रतिशत रिजल्ट ल्याउने विद्यार्थीको संख्या कम छैन । तर व्यवहारमा ती विद्यार्थी कति अव्वल छन् ? भन्ने हाम्रो जिज्ञासा छ ? त्यसैले शिक्षामा परिवर्तन गरेर अध्ययन मुलक ज्ञानमुलक शिक्षा प्रणाली आजको भारतका लागि आवश्यकता हो । न की १२ कक्षा पास गर अनि दिल्लीको चाणक्यपुरीमा रहेको अमेरिकी दुतावासको प्रांगणमा एका विहानै लाईनमा उभिएर प्रवेशज्ञा माग्ने किसिमको होस् । वा अन्य पश्चिमा देशमा जानका लागि प्रवेशाज्ञा माग्ने शिक्षा प्रणाली होस् ।

त्यसैले भारतमा आफ्नै मोडेलको शिक्षा पद्धती हुनुपर्छ । त्यसका लागि अनुसन्धान गरेर शिक्षाको विकासमा काम गरिरहेका छौं । त्यो शिक्षा पद्धती व्यापारिक र व्यवसायिक नभएर ज्ञानमा आधारित सर्वजन हिताय हुनेगरी हामीले काम गरिरहेका छौं । त्यसैको पछिल्लो उदाहरण हो, प्राचिन भारतको शैक्षिक संस्था तक्षशिला र नालन्दा जस्ता विश्वविद्यालयलाई त्यही नामले त्यही ज्ञान पद्धतीमा आधारित रहेर पुर्नजागृत भएका छन् ।

प्राथमिक शिक्षाका लागि गुरुकुलीय मोडललाई जोड दिदै बर्षमा ५ सय आचार्य उत्पादनमा लागेका छौं । आचार्यहरु आचरणले आचार्य बन्न सक्नुपर्छ । नकी कर्तव्य विना अधिकारको शिक्षाका पक्षपाती होउन् । साथै हामीले यतिवेला शिक्षा क्षेत्रमा जागरणको काम गरिहेका छौं । शिक्षक, लेक्चर र प्राध्यापकहरुसंग शिक्षाका बारेमा छलफल चलाएर युगानुकुल शिक्षाको संरचना तयार गर्ने काममा निरन्तरता दिएका छौं । शिक्षामन्त्री र शिक्षाका अधिकारीहरुसंग पनि देशभर छलफल चलाएका छौं । साथै अभिभावकसंग पनि । जागरण र अनुसन्धानको कामलाई भारतीय शिक्षण मण्डलले गरिरहेको छ, भन्ने जानकारी गराउन चाहन्छु । ३ सय ६८ विषयमा आफैले मण्डलले अनुसन्धान गरिहेको छ । साथै नेपाल, भारत, जर्मन, बर्मा, अमेरिका, बेलायत सहितका देशका गरुकुलहरुका बारेमा पनि अध्ययन गरिरहेका छौं ।

जसले शिक्षामा रचनात्मक काम गर्न सकियोस् भनेर । सन् २०१८ को अप्रिल २८ र २९ मा अन्तराष्ट्रिय गुरुकुल सम्मेलन भारतमा गर्ने तयारी पनि गरेका छौं । त्यसले भारतमा आधुनिक गुरुकुलीय शिक्षा पद्धतीको दिशा तय गर्नेछ । साथै भारतको शिक्षाको मोडलका बारेमा समेत त्यस बखत चर्चा हुनेछ । विराट् गुरुकुल सम्मेलन हुनेछ । यतिवेला हामीले संचालन गरेको गुरुकुल खोल्न धन पैसाको सहयोग गर्ने जमात भारतमा ठुलो छ । तर आचार्य विनाको गुरुकुलले आचरणमा आधारित शिक्षा दिन सक्दैन । त्यसैले सबैभन्दा पहिला आचार्य उत्पादनमा हामीले काम गरिरहेका छौं ।

- 'फैक्ट्री मोडल अफ एजुकेशन' अर्थात आधुनिक शिक्षा पद्धती गलत सिद्ध गर्ने  तयारी हो गुरुकुलीय मोडल ?

त्यसरी पनि नवुझौं । तर आधुनिक शिक्षा पद्धतीमा सुधार ल्याउनुपर्छ भन्ने मान्यता भने पक्कै हो । त्यसको शुरुवात हालै नियुक्त हुनु भएका उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले गर्दै हुनुहुन्छ । आगामी वर्षको वजेट सार्वजनिक गर्दा त्यो शुरुवात गर्ने वहांले तयारी पनि गर्नु भएको छ ।

नैतिक आचरणको शिक्षामा जोड दिने गरी शिक्षा पद्धतीमा सुधार गर्ने वहांले जानकारी गराउनु भएको छ । यदि भारतको शिक्षा पद्धतीमा युगानुकुल सुधार भयो भने नेपालमा पनि त्यसको प्रभाव पर्नेछ । नेपालको शिक्षा पनि मैकाले शिक्षा पद्धतीको जगमा अर्थात भारतीय मोडलबाट नै प्रारम्भ भएको हो । अझै उत्तर प्रदेश र विहारको  शिक्षा पद्धतीमा सुधार हुनसक्यो भने त्यसको तत्काल प्रभाव नेपालमा पनि पर्नेछ भन्ने कुरामा जानकार छौं । हाम्रो शिक्षा पद्धती सुधार परियोजना वा प्रकल्पको सह संयोजक नेपाली बन्धु डा. दीप कोईराला भएको जानकारी गराउँछु । अहिले वहांको भारतका शिक्षामन्त्री प्रकाशजीसंग पटक–पटक मिटीङ समेत हुने गरेको छ ।

दिल्लीको जेएनयु अध्ययनरत केही विद्यार्थीले देशको मानो खाएर देशको नै विरोध गरेको देख्नु भयो । त्यो मैकाले शिक्षा पद्धतीको परिणाम हो । नैतिक शिक्षाको अभावमा त्यो कार्य भएको हो, भन्ने हाम्रो बुझाई छ । त्यसैले विश्वविद्यालयका युवासंग पनि भारतमा अवको विश्वविद्यालयको शिक्षा कस्तो हुनुपर्छ भनेर छलफल चलाई रहेका छौं ।

- शिक्षाका क्षेत्रमा काम गरिरहनु भएको सरकारले त्यसलाई कसरी लिएको छ ? तपाईले भने अनुसार शिक्षामा परिवर्तन गर्न त सबैभन्दा पहिले वजेटको आवश्यक पर्छ । साथै तत्काल पाठ्यक्रम परिवर्तन गर्नुपर्छ, त्यो सम्भव छ ?

तपाईले उठाएको जिज्ञासाका बारेमा हामीले हाम्रा शिक्षामन्त्री संग पटक पटक छलफल गरेको छौं । समय सापेक्ष शिक्षामा सुधार गरिएन भने हामीले त्यही वेथिती भोग्नुपर्छ । जुन ६० बर्ष राज गरेको कांग्रेस सरकारले भोग्नु प¥यो भनेर भन्यौ । त्यसका लागि एकै पटकमा आमुल परिवर्तन नभएर क्रमिक रुपमा काम गर्ने सहमती भएको छ । वजेटको प्रवन्ध सहित आवश्यक सामाग्री उपलब्ध गराउन सरकार तयार देखिएको छ । त्यो कदमको अभिभार प्रधानमन्त्री मोदीले लिनुपर्छ भन्ने हाम्रो माग पनि छ ।

हामीले गर्न चाहेको शिक्षाको परिवर्तनले भारतीय समाजको चेतनालाई अझै माथि उठाउँछ भन्नेमा हामी विश्वस्त छौं । सवल शिक्षाको जगमा समृद्ध भारत र छिमेकीको पनि समृद्धी छ, भन्नेमा हामी विश्वस्त छौं । त्यसैको शुरुवात हो, तक्षशिक्षा र नालन्दा विश्वविद्यालयको जर्गेना । ती शैक्षिक संस्था भारतको ज्ञान पद्धतीका धरोहर संस्था हुन् । त्यसैले ती संस्था हाम्रो सुझावमा व्युतिएका हुन् । त्यहाँ अध्ययन गर्ने विद्यार्थी केवल भारतीय मात्र हुने छैनन्, अन्तर्राष्ट्रिय जगतका समेत हुनेछन् । हाम्रो मान्यता छ, शिक्षामा कसैको हस्तक्षेप हुनुहुदैन । चाणक्यले लेखेका छन् - राजालाई विद्यालयमा प्रवेश गराईनु हुदैन, उनले आफ्ना वफदार मात्र जन्माउन चाहन्छन् । त्यसै अनुसार शिक्षा प्रारम्भ गर्न निर्देशन दिन्छन् । अहिलेको शिक्षा व्यवस्थाको सञ्चालन पनि झनै त्यस्तै छ, जहांवाट डोनेसन आउाछ उसै प्रति कृपा पात्र बन्नुपर्ने खालको छ । त्यसैले शिक्षा व्यवस्था याज्ञवाल्क्यको मान्यतामा आधारित 'साःविद्याया विमुक्तये' उक्तिमा आधारित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

- पार्टीबाट भईरहेकन यी कामका बारेमा सरकारलाई चाँही कति जानकारी छ ?

हामीले सरकारमुखी भएर भन्दा जनमुखी भएर काम गरिरहेका छौं । सरकारलाई हामीले लिखित सुझाव दिएका छौं । त्यसमा स्वतन्त्र शिक्षा आयोग तत्काल गठन गरियोस् भनेर दिएका छौं । त्यसमा आयोग कस्तो संरचनाको हुनुपर्छ भन्ने ढांचा सहितको जानकारी गराएका छौं । सरकारले त्यसलाई ग्रहण गरेको छ । हामी आशावादी छौं, सन् २०१९ अघि नै सरकारले शिक्षा क्षेत्रमा हाम्रो सुझावमा आधारित रहेर केही कामको शुरुवात गर्नेछ । किनकी सन् २०१९ मा लोकसभाको निर्वाचन हुदैछ ।

म स्वयंम २५ बर्षदेखि पार्टीको शिक्षा विभागमा काम गरिहेको छु । शिक्षाका बारेमा यावत समस्या देखि लिएर योजना हामीसंग छन् । सरकाररको मन्त्रालयसंग बरु कसरी तलव खाने र काममा कैफियत गर्ने भन्ने अधिकारीहरु छन् । तर हामीले सिंगो भारतवर्षको शिक्षा पद्धतीमा कसरी परिवर्तन गरेर समाजको धरातलमा परिवर्तन गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।

- वर्तमान पुँजीवादी युगमा तपाईहरुले परिकल्पना गरेको आर्दशवादी शिक्षा व्यवस्था कति संभव छ ? किनकी आज मानिस त्यही यन्त्रको पुर्जा भएर जन्मिएको छ । उसको अध्ययन मेरिट् वेशमा हुन्छ र त्यही वेशका आधारमा रोजगारीको वजारमा बिक्छ भने तपाईले परिकल्पना गरेको शिक्षा पद्धतीमा जीवनयापन गर्न सक्ने संभावना कहाँ रहन्छ त ?

तपाईले भन्न खोज्नुभएको मैले बुझे । आजको शिक्षा व्यापारिक अर्थात् कर्मशियल छ । त्यसले बस्तु मात्र उत्पादन गर्छ । हामीले मानिसलाई बस्तु नवनाईयोस् भन्ने हो । एउटा अभिभावकले सन्तान जन्माउँदा परिवार भन्दा धेरै ती कर्मशियल संस्थाका मानिस खुशी हुन्छन् भन्ने तपाईले बुझ्नु भएको छ ? त्यस्तो अवस्थाामा राज्यले आफ्ना जिम्मेवारी व्यक्तिलाई दिएर तिमीले शिक्षामा व्यापार गर भनेर अनुमति दिनु कति उचित हो ? पश्चिमा जगतले खोलेको च्यारिटीबाट सञ्चालित स्कुलहरुले बाल मष्तिस्कमा धर्म र धन्दाका बारेमा भराउनु कति उचित हो ?

तर भारत मै भन्नुहुन्छ भने, रामकृष्ण मिशनले चलाएको स्कुल होस् वा शान्ति निकेतन जस्ता मोडलका विद्यालय सञ्चालन होउन भन्ने मात्र हो ।

कर्मशियल संस्थावाट उत्पादित सबैले के रोजगारी पाएका छन् त ? आज युरोप र अमेरिकामा किन वेरोजगारीको समस्या बढीरहेको छ त ? अमेरिकाले किन विद्यार्थी भिषामा कडाई ग¥यो त ? ती सबै समस्याको जगमा गएर बुझ्नु भयो भने पश्चिमामुखी शिक्षा व्यवस्थामा समस्या छ, भनेर बुझ्न सक्नु हुन्छ । तर आज अखवारका पानामा आउने विज्ञापनका आधारमा मात्र शैक्षिक संस्थाको मुल्यांकन गर्नुभयो भने तपाईको देशको शिक्षा व्यवस्था फैक्ट्री मोडलबाट व्यापारीको हातमा जाँदै छ भनेर बझे हुन्छ । आजको भारतमा त्यही व्यापारिक शिक्षा पद्धती समस्याको जड भएको छ । त्यसैले हामीले शिक्षाको संरचना र पद्धतीमा परिवर्तन गनुपर्छ भनेर काम गरिहेका छौं ।

हाम्रो परिकल्पनाको शिक्षा पद्धतीले १२ कक्षा पास गर्ने वित्तिकै कुनै पश्चिमा देशको दुतावास धाएर भिषा लगाउनुको सट्टा देशको दुरदराजमा गएर गाँस, वास र कपासको सहितको देशमा जिउन सक्ने व्यवस्थाको ग्यारेण्टी गर्न सक्ने होस् भन्ने किसिमको छ । अर्थात् शिक्षामा व्यापार गर्न कसैलाई सरकारले लाईसेन्स दिनुहुन्न भन्ने हाम्रो मान्यता हो । व्यापार गर्नेले शिक्षामा व्यापार गरेका छौं भन्न सक्नु प¥यो नी तर हामीले सामाजिक सेवा गरेका छौं भन्नु कति उचित हो ? त्यसैले हामी व्यापारिक शिक्षाका विरोधी हौं भन्न कुनै संकुचन छैन । शिक्षाको दायित्व सरकारले नै लिनुपर्छ भन्ने हो ।

- उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई भेट गरे भन्नुभयो । तपाइको शिक्षा सम्वन्धी सुझावलाई कसरी लिनु भयो ?

वहां मुख्यमन्त्री भएको एक महिना पश्चात लखनउ पुगेका बखत भेट भएको थियो । त्यस बखत मैले आफु शिक्षा संगठनको जिम्मेवार व्यक्ति भएकोले शिक्षाका बारेमा केही सुधारका काम गर्न सुझाव दिएको थिए । वहांले सकारात्मक रुपमा लिएको मैले पाएको छु । भारतमा हालका मुख्यमन्त्री मध्ये केही गर्ने आंट र साहस भएका मुख्यमन्त्रीका रुपमा हामीले योगीजीलाई लिएका छौं । दृढ विश्वासी र निस्कलंकित भएकोले पनि वहांमा काम गर्न सक्ने आँट र साहस छ । त्यसो त आउँदो २४ तारिखमा अयोध्या जानुछ । त्यस बखत पनि वहांसंग एक कार्यक्रमा भेट हुनेछ ।

पार्टीले उत्तर प्रदेश जस्तो विशाल जनसंख्या भएको प्रदेशमा वहांलाई मुख्यमन्त्री बनाएको छ । वहांले भनेका एउटा कुराको जानकारी गराउँ, आगामी जुलाईमा नयां शैक्षिक सत्रको शुरुवात हँुदा शिक्षामा देखिने गरी सरकारका तर्फबाट कामको शुरुवात गर्छु भन्नु भएको छ । त्यसैले हामी अरुसंग भन्दा वहांसंग बढी आशाबादी छौं ।