Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
गतिविधि

जागिर खान सकिन्न, त्यै भएर तालिम

शनिबार, १० असार २०७४

भक्तपुर–सिपाडोलका रिना तामांङ अहिले व्यवस्थापन संकायअन्तर्गत भक्तपुरको वागीश्वरी माविमा कक्षा १२ मा पढिरहेकी छिन् । गाउँठाउँमा मेलापात गर्दै, घरायसी काम गर्दै र पढ्दै गरे पनि उनलाई पढाइमा भन्दा बढी काममा विश्वास छ ।

एसईईमा बी ग्रेड ल्याएकी उनले के पढौं, के पढौंको दोधारमै व्यवस्थापन संकाय रोजिन्, तर उनको ध्यान भने पढाइमा भन्दा अन्यत्रै थियो । ‘कुनै काम गर्न पाए, पढाइले भन्दा कामै अझ सीपले खुवाउँथ्यो । त्यही भएर कुनै तालिम लिन पाए नि हुन्थ्यो भन्ने सोच्थेँ ।’ उनले भनिन् । नभन्दै संयोग पनि त्यस्तै जुर्यो ।

कक्षा १२ को परीक्षा पनि सकिनु अनि त्यही मौकामा भक्तपुर सूर्यविनायकको युथ सोसाइटी फर सोसियल वेलफेयर (वाईएसएसडब्लु) बाट सिलाई र सौन्दर्य कला प्रशिक्षणको तालिम आयोजना गर्ने सूचना थाहा पाउनु, एकैपटक भयो । त्यसपछि उनलाई के चाहियो ? उनी सिधै गइन्, वाईएसएसडब्लु र फाराम भरिन् । उनले १ सय ५६ घण्टाको सिलाइ तालिम लिइन्, प्रशिक्षक लक्ष्मी महर्जनबाट । तालिम सकिसकेपछि शनिबार उनले प्रमाणपत्र पनि पाइन् । प्रमाणपत्र पाएपछि उनी अझ उत्साहित भइन् र सिकेको सीप प्रयोग गर्ने बताइन् ।

भनिन्, ‘सीप नभएसम्म पढाइले मात्र केही हुन्न, त्यही भएर तालिम लिएँ, छुट्टै जोश आएको छ । पढेर जागिर खान सकिन्न, जागिर खान आफ्नो मान्छे चाहिन्छ, बरु सीप सिक्यो, आत्मनिर्भर बन्यो ।’  उनी मात्र नभएर तालिममा सहभागी अन्य प्रशिक्षार्थीहरुमध्ये अधिकांश विद्यार्थी नै थिए । कोही एसईई दिएका, कोही कक्षा १२ त कोही भने स्नातक अध्ययन गरिरहेका सम्म ।

सौन्दर्य कला र सिलाई कटाई तालिममा सहभागी ती प्रशिक्षार्थीमध्ये अन्य विद्यार्थीले पनि पढाइलेभन्दा सीपले खुवाउने भएकोले तालिममा सहभागी भएको बताए । पढ्न नपर्ने होइन, तर पढेपछि जागिर खानुपर्छ भन्ने छ, जागिर खान पावर चाहिन्छ, हामीजस्तोले खान सकिन्न, त्यही भएर सीप सिक्नुपर्छ भन्ने लाग्यो । तालिममा सहभागी अर्का प्रशिक्षार्थी एल्जिना लामाले भनिन् । उक्त तालिम अन्तर्गत सिलाई कटाईमा ८, सौन्दर्यकला प्रशिक्षणमा १० जना सहभागी भएका थिए । तालिमका लागि सूर्यविनायक नपाले आर्थिक सहयोग गरेको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सांसद अनुराधा थापामगरले प्रमाणपत्र  प्रदान गर्दै महिलालाई अघि बढाउनका लागि शिक्षा सीपको आवश्यकता औंल्याइन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका ६ वडाका वडाअध्यक्ष रामेश्वर ध्वँजू, वाइएसएसडब्लुका अध्यक्ष तुलसीकुमार त्वायना, विकासदेव लामा, हरिशरण बस्नेत, चन्द्रराज खड्का तथा प्रशिक्षकद्वय सुमित्रा श्रेष्ठ, लक्ष्मी महर्जनलगायतले सीपको उपादेयताबारे चर्चा गरेका थिए । 

 

प्रतिक्रिया