Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी भर्ना लिन मानेनन् निजी कलेजले

आइतबार, ११ असार २०७४

काठमाडौं ११ असार/निजी मेडिकल कलेजले मेरिट लिस्टमा परेका विद्यार्थीहरूलाई स्नातकोत्तर अर्थात् पिजीमा भर्ना लिन नमानी फर्काएका छन् । त्रिभुवन विश्वविद्यालय र डिन कार्यालयले गत ७ असारमा बैठक गरी मेरिट लिस्टमा परेका विद्यार्थीलाई चार दिनभित्र भर्ना हुन जानु भनेर पठाए पनि निजी मेडिकल कलेजले भर्ना नलिई फिर्ता पठाएका हुन् ।

मेरिट लिस्टका आधारमा भर्ना हुन नेसनल मेडिकल कलेज वीरगन्ज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा पुगेका विद्यार्थीहरूलाई कलेज सञ्चालकहरूले भर्ना नगरी फिर्ता पठाएका छन् । ‘हामी मेरिट लिस्टमा परेर भर्ना हुन नेसनल मेडिकल कलेज गएका थियौँ । उनीहरूले भर्ना लिनेभन्दा पनि अपशब्द प्रयोग गरेर पठाए,’ नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले नयाँ पत्रिकासँग भने ।

त्यस्तै, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा पुगेका विद्यार्थीहरूले प्रशासनका कर्मचारी नभेटेको बताए । सम्बन्धित व्यक्ति नभएकाले भर्नाका विषयमा कुरा गर्न नमिल्ने बताएको विद्यार्थीले जानकारी दिए । सरकारले नेसनल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई पिजी अध्ययनको अनुमति दिएको छ । सरकारले पिजीका लागि ३१ लाख रुपैयाँ लिन पाउने निर्णय गरेको छ । तर, निजी कलेजले ५० लाख रुपैयाँसम्म लिएको विद्यार्थीहरूको भनाइ छ ।

अहिले भर्ना लिँदैनौँ : अन्सारी 
नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दिन अन्सारीले विद्यार्थीहरूले सर्वोच्चमा रिट हालेको भन्दै त्यसको सुनुवाइ नहुँदासम्म विद्यार्थी भर्ना नलिने बताए । ‘हामीले भर्ना लिइसकेका छौँ । विद्यार्थीले रिट हालेकाले अहिले मेरिट लिस्टका विद्यार्थी लिँदैनौँ । १४ असारमा सुनुवाइ भएकाले के आदेश आउँछ, त्यहीअनुसार अगाडि बढ्नेछौँ,’ उनले भने । दुवै मेडिकल कलेजले मेरिट लिस्ट आउनुभन्दा अघि बाहिरका विद्यार्थीसँग ४० देखि ५० लाख रुपैयाँ लिएर भर्ना गरेको स्रोतले बतायो । नेसनल मेडिकल कलेजले ३२ र युनिभर्सल कलेजले ४२ जना विद्यार्थी भर्ना लिएका छन् ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया