पुग्ने दरबन्दी नभए, विशेषज्ञ शिक्षक


संघीयतासँगै माध्यामिक तह सम्मको शिक्षाको जिम्मा स्थानीय सरकार मातहत भएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचन सँगै गठित स्थानीय सरकारले आफ्नो अधिकारको प्रयोग गर्न थालेको गतिलो उदाहरण भएको छ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका ।

गाउँपालिकाले जिल्ला शिक्षा कार्यालयालाई संविधान प्रदत आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप नगर्न सचेत गराउँदै यस्तो अभ्यास थालेको हो । स्थानीय दुई विद्यालयमा शिक्षक नियुक्तिमा नवगठित स्थानीय सरकारलाई वेवास्ता गरेर जिल्ला शिक्षाले प्रकृया थालेको भन्दै त्यसलाई तत्काल बन्द गर्न नवनिर्वाचित गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले जिल्ला शिक्षा कार्यालयलाई सचेत गराउँदै पत्र पठाए ।

संबैधानिक ब्यवस्थाको स्मरण गर्दै, स्थानीय सरकारको क्षेत्राधिकार र संविधान कार्यान्वयनका सन्दर्भमा गाउँपालिकाबाट गर्नु पर्ने कार्यका बारेमा सिन्धुपाल्चोकको जुगलबाट शुरु भएको कदम शिक्षामा स्थानीय सरकारको सकृयताको प्रस्थान विन्दु बनेको छ । स्थानीय सरकार र शिक्षाका सन्दर्भमा अहिलेको अवस्था र चुनौतीबारे श्रीधर पौडेलले श्रेष्ठसँग गरेको कुराकानी :

- संघीयतासँगै मुलुकको शिक्षाको अधिकारहरु गाउँपालिका÷नगरपालिका वा स्थानीय निकाय मातहतमा गइसकेको अवस्थामा तपाइँले त जिशिकालाई थर्काएरै पत्र लेख्नु भयो, निक्कै चर्चित पनि भयो , त्यो काम किन गर्नु जरुरी ठान्नुभयो ?

यो थर्काएर भन्ने भाषामा अलिकति सच्याउन चाहन्छु । मैले थर्काएको होइन, मैले स्थानीय तहलाई दिएको अधिकार नमिच्नको निम्ति आग्रह गरेको हो । मैले प्रष्ट बनाएको हुँ । मैले अन्यथा यस्तो गरिन्छ, उस्तो गरिन्छ भनेर थर्काउने शैलीको भाषा प्रयोग गरेको छैन । मैले प्रष्टसँग संविधानको अनुुसूची ८ को ८ औं अधिकारमा आधारभूत शिक्षा र माध्यमिक शिक्षा स्थानीय तहलाई भनेर प्रष्ट राखिएको छ । जुन कतै बाझिएको छैन । कतिपय हक अधिकारहरु गाउँ, स्थानीय तहको अधिकार क्षेत्रमा नि राखिदिएको छ, प्रदेशमा पनि, संघकोमा पनि राख्दिएको छ । त्यो हुँदा बरु छलफलको विषय बन्ला, तर यो आधारभूत र माध्यमिक शिक्षालाई प्रष्ट स्थानीय तहको मातहतमा राखिदिएको छ ।

- तपाइँले पठाउनुभएको पत्रले त शिक्षाका निकायहरुलाई त थर्काएकै जस्तो देखिएको छ त ?

जुन कुरा आफ्नो अधिकार क्षेत्र भित्र पर्दैन, यो अधिकार, यो क्षेत्र मेरो हो भन्ने मै थर्काएको महशुस गर्नुहुन्छ कसैले भने त्यो उहाँको सोच्ने तरिका हो । त्यो हिजो देखिको सामन्ती संस्कारको तरिका हो । मैले राजगाज गरिआएको चिजबिज, अरुलाई कसरी छोड्नु ? भन्ने कुराले अभिप्रेरित गरेको हो ।

- माध्यामिक तह सम्मको शिक्षाको धेरै अधिकारहरु स्थानीय तहबाट गरिने भनेर संविधानमा लेख्न त लेखियो, कार्यान्वयन कसरी होला भन्ने चुनौति देखिएको छ, स्थानीय निकायका प्रतिनीधिले आफ्नो त्यो अधिकारलाई चिन्लान् कि नचिन्लान् ? भन्ने अवस्थामा तपाइँमा त्यो कुरा कसरी जागृत भयो त ?

एउटा कुरा त मैले २०५४ सालमा अध्यक्ष भएको बेलामा नै स्थानीय निकायको स्वायत्त शासन ऐन अन्तर्गत बिकेन्द्रीकरणको अभ्यासमा काम गरेको भएँ । अर्कोकुरा त्यसको अर्थ म मात्र जान्दछु, अरु जान्नुहुन्न भनेर मैले भन्न पनि खोजेको होइन । यो अभ्यासले नै हुने हो ।  अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रम चलाउन पनि अभ्यासले सिकाएको हो । जन्मिनासाथ प्रधानमन्त्रीको हक अधिकार के हो भनेर पढेर, अनि सक्षम भएर प्रम भएका होइनन् । त्यसकारण स्थानीय तहलाई दिएको अधिकार हामी छलफल गर्दै, अध्ययन गर्दै, कसैले छिटो सुरु गर्नुहुन्छ, कसैले अलि ढिलो सुरु गर्नुहुन्छ । यति हो । कोही पर्खिने वातावरणमा हुनुहुन्छ, कोही नपर्खिने वातावरणमा फरक यत्ति हो ।

- तपाइँ किन पर्खिनुभएन  ?

मैले पर्खिनै खोजेको थिएँ । आम जनसरोकारको विषय बनाउने भनेर मैले प्रअहरु र वुद्धिजीवीहरुलाई भेला गरेर कसरी शिक्षामा परिवर्तन गरेर जाने भन्ने कुराहरु उहाँहरुबाटै लिने, संविधानले व्यवस्था गरेको स्थानीय तहको कार्य विस्तृतीकरणको ५७ भित्र शिक्षाका यी यी अधिकारहरु सुम्पेको छ । मन्त्रीपरिषद्को १७ गतेको निर्णय (स्थानीय तहको गठन आदेश) राजपत्रमा प्रकाशित भएपछि एउटा कानून बनेर आयो । त्यसपछि कानूनी व्यवस्थासहित अहिलेका कानूनी केही फेरि तरलता पनि छन् । अहिले कुनै नियुक्ति गर्ने कुनै अधिकार पनि छैन । यो ऐन अहिले सक्रिय पनि हुन सक्तैन । यो संविधानसँग बाझिएको छ । त्यसरी बाझिएका ऐज कानूनहरु खारेज हुन्छ । त्यही ऐन कानूनबाट अहिले गरिरहनु भएको छ । अब त्यो राम्रो हुँदा हाम्रो नयाँ ऐन एक्टिव नभएको भए चुप लाग्न सकिन्थ्यो । सबै काम शिक्षालाई राम्रो बनाऊ, तेरो जिम्मेवारी हो भनेर हामीलाई सबै सुम्पे, त्यो अनुसारको स्रोत र साधन त अझै पनि सुम्पेको छैन ।

काम धेरै प्रतिशत स्थानीय तहमा पठायो, अहिलेको बजेटमा पनि हामीलाई थोरै अंशमात्र माथि पठाइदियो, शसर्त त्यो पनि । र, राजस्वको सन्दर्भमा स्थानीय तहलाई एकदम कम अधिकार दिएर फेरि पनि प्रदेशमा थुपार्ने काम गरिरहेको छ ।

ठीक छ, यो चुनौतिलाई हामी सामना गर्छौं । कोहीसँग करोड रुपियाँ हुँदा पनि दशलाखको आउटपुट दिन सक्तैन, हामी दशलाख हुँदा पनि करोडको आउटपुट दिन्छौं भन्ने हामीसँग संकल्प त छ नै । त्यसो भएकोले यो सबै कुरालाई समेटेर त्यही भित्रबाट समाधान निकाल्छु भन्दै थियौं । तर, एकाएक स्थानीय तहले अलि पछाडिदेखि अधिकार प्रयोग गर्छ, अहिले नै हाम्रो इन्टे«स्टका मान्छेहरु भर्ना गर्नुपर्छ, भन्ने तरिकाले खाली भएको ठाउँमा नियुक्तिको तयारी भयो । हिजोदेखि गरिआएको सबैलाई त्यसमा नमुछौं । तर, क्वालिटीको,  अलिकति योग्यताको, अलिकति दक्षतायुक्त शिक्षकहरु भर्ना गर्ने भन्दा मेरो तेरो, यो पार्टीको त्यो पार्टीको, पैसा केही लिएर भर्ना गर्ने हिजो टे«न्ड थियो । त्यही अनुसार हुने खतरा बढ्यो ।

कतिपय भएका शिक्षकलाई रातारात सरुवा गर्ने, त्यहाँ गएर फलानालाई नियुक्ति गर्ने, त्यही गएर सल्लाह भयो भन्ने सुनिने, सरुवा हुने भएपछि भोलि त हामीले सम्हाल्नुपर्छ । भोलि गुणात्मक शिक्षा आएन, परिणाममुखी शिक्षा आएन भने त त्यो जिम्मेवारी हामीले बोक्नुपर्ने हुन्छ । अनि स्वार्थयुक्त नियुक्ति भएपछि आउटपुट लिन सकिँदैन ।

केही साथीहरुले विरोध गर्नुहोला, तर पनि विरोध सहने कि, आलोचना सहने कि, यो बेथिति हुन दिने ? यो दुईटा कुराहरुमध्ये एउटामा त जोखिम उठाउनै पर्यो । त्यहीकारण यो बेथितिलाई रोकौं, सबैखाले प्रेशर म थेग्न सक्छु भनेर मैले कदम चालिहाँले ।
जुन शिक्षकहरु  नियुक्तिको प्रक्रिया सुरु भयो, त्यो राजनीतिक आस्थाको आधारमा, उनीहरुको राजनीतिक आस्थासँग नमिलेर तपाईले रोकेको भन्ने आलोचना पनि सुन्न पाइएको छ नि ?

यो चाहिँ अहिले मैले स्पष्टिकरण दिएर हुन्न । अहिले मैले गरेको व्यवहार, भोलि मैले गर्ने व्यवहारले पुष्टि गर्छ । प्रमाण म यतिमात्र भन्छु । अहिले यति मात्र भन्छु, बीचको बाटो निकालौं न । मैले  अघि न पनि भनेँ, शिक्षा ऐन, त्यो नियुक्ति गर्ने धारा, संविधानले खारेज गरिदियो, अर्को शिक्षा ऐनको व्यवस्था गर्ने, स्थानीय कानून बनाउने कुरा हामीले गरिसकेको छैन । अहिले शिक्षक नियुक्ति पूर्ण कानून अनुसार हुँदैन । त्यसो भए अधिकार गाउँपालिकालाई दिएको छ, हिजोको ऐन अनुसार हिजो हुने गथ्र्यो । यसको दुईटा सयुक्त अभ्यासबाट गरौं न त । मैले एउटा प्रस्ताव गरेँ, मैले के भनेँ भने जहाँजहाँ जुन स्कुलमा क्याण्डिडेटहरु आएको छ, आवेदकहरु आएको छ । त्यो सबै विवरण, एउटा खास स्कुलको मात्र होइन, पाँचवटा स्कुलले विज्ञापन गरेर संकलन गर्ने र आवेदकहरुलाई एकमुष्ट गाउँपालिकामा पठाइदिउँ ।

हामी  अरु थप विज्ञान गर्छौं, अरु कोही योग्यता, क्षमता भएका जुगल भित्रका र बाहिरका मिलाएर जुगलको स्कुललाई राम्रो बनाउँछु भन्ने कोही मान्छे छन् भने आउनुस, हामी योगदान गर्नेलाई इन्सेन्टिव पनि राख्छौं, प्रोत्साहन पनि गर्छौ । वर्षको कुनै अवसर पारेर हामी सम्मानित पनि गर्छौं, र केही रकम जम्मा गरेर पचास साठी हजार कति जम्मा हुन्छ, त्यसभित्र पत्रकारहरुलाई पनि राखेर, शिक्षाका कर्मचारीहरुलाई पनि राखेर, अनुगमनमा राखेर फेयर परीक्षा कसरी लिने लौ यसरी लिने भनेर, हामी गर्छौं, त्यसो गर्दा दुईटा कोटा भएको ठाउँमा दुईजना छान्दैनौ, उहाँहरुलाई बाध्यकारी बनाउँदैर्नौं । हामी चालिस पचास जना भयो भने त्यसभित्र कतिजना हामीलाई चाहिने क्याण्डिडेट हुन्छ ?

उदाहरणको लागि २० जना भयो भने २० जनाको लिष्ट प्रकाशित गर्दिन्छौं, त्यो २० जनामध्ये प्रक्रियाले जो जो भर्ना गरे नि गर्नुस् ।

- भनेको मतलब अहिलेको शिक्षामा स्थानीय मातहत अधिकार गएको छ, जनशक्ति नियुक्ति अथाव शिक्षकको चयन ठूलो चुनौतिको कुरा रैछ ?

नियुक्ती कोही मान्छेलाई जागिर खुवाउने र नखुवाउनेसँग जोड्नुभो भने यो गलत आशय तिर जान्छ । होइन, अहिले  हाम्रो बास्तविक परिस्थिति के छ भने सबैभन्दा योग्य दक्ष मान्छे, सबैभन्दा पहिला निजामति कर्मचारीमा प्रयास गर्छन् । त्यहाँ भएन भने आईएनजिओमा जान्छन्, कहिँ पनि भएन भने माष्टरै भए नि हुन्छु भन्छन् । जसले भोलिको कर्णाधार बनाउनु छ । त्यहाँ चाहिँ छोडेको मान्छे जान्छ ।

मूल प्रश्न पहिला रोज्ने बनाउनुपर्यो । बरु, अन्तभन्दा बढी सेवा दिन पनि हामीले कञ्जुस्याइँ गर्नु भएन । यहाँ चाहिँ योग्य, दक्ष मान्छे पहिलो रुपमा योग्य दक्ष मान्छे  शिक्षक बन्नुपर्छ । जनशक्ति उत्पादन गर्ने प्रेरणाको स्रोत बन्नुपर्छ, भन्ने कुरालाई, एकदुई जना भर्ती गर्ने कुरामा मात्रै केन्द्रित गरियो भने हाम्रो लक्ष्य माथि, हाम्रो इमान्दार प्रयत्नमाथि चोट पुग्ने हुन्छ । त्यही कारण पत्रकार सहित राखेर साँच्चिकै निष्पक्ष गरेर हामी क्वालिफाइड आवेदकहरु यी यी हुन् है, यसमध्येबाट फेरि तपाइँले शिक्षा ऐन, नियमावली अन्तर्गत हाम्रो पनि संलग्नता भएपछि, हामीले छानेपछि फेरि ऐन मान्ने भन्ने होइन । अहिले उहाँहरुको पनि सबै टुटिनसकेको, हाम्रो अधिकार पनि पूर्ण प्रयोग हुन नसकेको सन्दर्भमा संक्रमणकालीन कानून भनेको दुइटै पक्षको सहमतिमा हुने हो । त्यसकारण दुइटै पक्षको सहमतिबाट हामीलाई चाहिएको रामबहादुर, श्यामबहादुर, सीता, गीता को राख्ने होइन, भोलि जुगलको शिक्षा राम्रो बनाउन सक्ने मान्छे जम्मा होस् भन्ने हुन्छ ।

हामी प्रारम्भिक रुपमा त्यसरी छनौट गर्छौं, त्यसभित्र फेरि पनि उहाँहरुको विधिबाट कम्तीमा ५० मध्ये २२ जना त छानेर राख्नुहुन्छ नि । उत्कृष्ट मान्छेहरु त त्यो १८ जना मध्येमा पर्नुहुन्न होला नि त । त्यसकारण हामीले त्यो कुरा गर्न खोजेको तर मानिसक्नु भएको छैन ।

- तपाइँको सपना के छ ? पाँच वर्षभित्रमा म जुगललाई के बनाउँछु भन्ने छ ?

सबै पाँचै वर्षमा परिवर्तन एकैचोटि त आउँदैन तर के चाहिँ गर्न सकिन्छ भने इज्जतदार मान्छे, इज्जत प्राप्त गर्नलाई, सम्मान प्राप्त गर्नलाई, आफूलाई सन्तुष्टी प्राप्त गर्नलाई गर्नपर्ने काम, निजामति कर्मचारी, अरु अरु भन्दा होइन है, शिक्षक नै हो भन्ने महशुस गराउन चाहन्छु । शिक्षणमा योग्य मान्छेहरु आकर्षित होऊन् । अर्को, हाम्रो गाउँपालिका एकदमै विकट क्षेत्र हो । यहाँ दुइटा कारणले अलिकति केही गर्नुपर्छ भन्ने मान्छे विस्थापित भएका छन्, एउटा, रोजगारी, कामकाजका अभावले । त्यो अर्को पाटो भो । कसरी काम गरेर खाने, राम्रो गर्ने मान्छेलाई त्यही रोक्ने अर्को पाटोबाट गर्छौं ।

मेरो त जिन्दगी त गयो, गयो, मेरो बच्चालाई राम्रो स्कुलमा पढाऔं भन्नको लागि काठमाडौं जाने । पहिला बोर्डिङमा बच्चा पढाउन जाने अनि केही काम खोज्ने भएर विस्थापित हुने गरेका छन् ।
राम्रो स्कुलमा पढाउँछु भन्नेको केही न केही राम्रो भएको छ । त्यसकारणले  केही मान्छेहरु काम गरी खानुपर्छ भन्ने मान्छे र राम्रो स्कुलमा पढाउनु पर्छ भन्ने मान्छे त्यहाँ रोक्न सकियो भने उपलब्धि हुन्छ । समाज विकासको चक्र  भनेको त राम्रा मान्छेहरु धेरै त्यहीँ बस्यो भने हुने हो नी ।

काम नगरी खानुपर्छ भन्नेहरुलाई निरुत्साहित हुने वातावरण,  काम गरी खानुपर्छ र राम्रो शिक्षाको व्यवस्था हुनुपर्छ भन्ने मान्छेहरु त्यहाँ केन्द्रीत भयो भने त्यसले समग्रमा समाज विकासको आधार खडा गर्छ ।

पाँच वर्षमा मैले शिक्षालाई एउटा विधिमा स्थापित गरेर यहाँ चाहिँ केही हुन्छ भन्ने बनाउन चाहन्छु ।

अहिले चौतारामामा हाजिरी जवाफ, साँस्कृतिक कार्यक्रम भो, खेलकुद प्रतियोगिता भो भने अब आउँदैछ फलानो स्कुलको भनेर जुगलको नाम लियो, ए त्यो त्यहाँ त के हुन्छ  र ? भन्ने छ नि । अब काठमाडौंको राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने हो भने पाँचै वर्षसम्म त त्यो सम्भव छैन, तर मलाई लाग्छ, आजै मात्र भर्ना भएका विद्यार्थी दश वर्ष पछाडि ए, जुगको फलानो विद्यार्थी आए है भनेपछि एटेन्सन हुनुपर्ने, जुगलको त विशेषता यो छ है भन्न पर्ने ढंगले कम्तीमा आज एकमा भर्ना भएका विद्यार्थी भोलि दश वर्ष पछाडि यहाँको ले चाहिँ केही गर्छ है भन्ने बनाउँछु । हरेक क्षेत्रमा, अतिरिक्ति क्रियाकलापमा, एसईईको क्षेत्रमा पनि जुगलकोले केही गर्छ र जुगलले के गर्छ  ? भन्ने चासो राख्ने बनाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

यो कुरा सबै स्रोतसँग जोडिएको हुँदो रहेछ, स्रोतसँग जोडिएर हेर्दा त्यहाँको शिक्षाको उकास्नका लागि आवश्यक स्रोतहरु कसरी परिचालन गर्ने ? भन्ने योजना छ ?

अहिले जे स्रोत छ, मसँग के छ भन्ने आधारले हेर्ने हो भने म केही पनि गर्न सक्तिनँ । मेरो नङमासु गैहाल्छ, तर मैले त्यसरी हेरेको छैन । मसँग के योजना छ भन्ने आधारले म अघि बढेको छु । मसँग शिक्षालाई परिवर्तनको दिशातिर कसरी डोर्याउने योजना छ ।

- नम्बर एक योजना के छ ?

पहिलो, शिक्षा क्षेत्र चानचुने कुरा होइन । यसलाई अलिकति संवेदशील तरिकाले लिनुपर्छ । शिक्षकहरु, त्योसँग जोडिएका सबै व्यक्तिहरु डिभोटेड हुनुपर्छ, कामप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरा स्थापित गराउने । त्यसको लागि मेसिनबाट हाजिर गराउने प्रणाली गराउने । मैले त्यसको बारेमा अध्ययन सुरु गरेको छु । छल्ने कुराहरुलाई विस्थापित गर्ने । डे«स, तडकभडक गर्ने चिज होइन । अलिकति संस्कार सिकाउने । कतिपय हाम्रो गाउँतिर, अहिले पनि जुगलको एउटा मान्छेले बुझ्ने के छ भने त्यहाँ चाहिँ गुण्डागर्दीको एरिया । समस्या सिर्जना गर्ने एरिया । अबको बालबालिकालाई प्रतिस्पर्धा गराउने शिक्षा,  कुन स्कुलको विद्यार्थीले कति सहयोग गर्यो ? सहयोगको रेकर्ड राख्ने । त्यसको सूचना राख्ने, फलानो स्कुलको फलानो विद्यार्थीले यो क्षेत्रमा यति सहयोग गर्यो भनेर ।

वर्षमा समीक्षा गरेर सहयोगमा सबैभन्दा बढी कसले  गर्यो भनेर गाउँपालिकामा सहयोगीको रुपमा विकास गर्ने । देखिएको पाठ्यक्रमको घेराभित्र मात्र होइन, सिकाइ उपलब्धिको आधारमा मात्रै हैन अरु अतिरिक्त कृयाकलापका आधारमा पनि शिक्षण वातावरण बनाउने ।  बच्चाहरु त विभिन्न सम्भावनाका हुन्छन्, कोही कितावमा पटक्कै ध्यान जाँदैन, अर्को सम्भावना विश्वव्यापीकरणको जमानामा मान्छेले पढाइ, लेखाइ मात्र होइन अरु केही गरी पनि खान सक्छ । खाली पाठ्यक्रममा केन्द्रीत नगराउने ।

हामीले अर्को के योजना बनाएका छौं भने सबै स्कुललाई पुग्ने दरबन्दी त दिन सकिँदैन तर कम्तीमा गाउँपालिकामा विशेषज्ञताको आधारमा साँस्कृतिक शिक्षक, जसले पालैपालो सबै विद्यालयमा जान्छ । त्यसले सबै विद्यालयमा कक्षा लिन्छ । त्यस्तै खेलकुद शिक्षकको व्यवस्था गर्ने । विभिन्न अतिरिक्त क्रियाकलाप गरेर स्कुललाई व्यवस्थापन, व्यवस्थापन समितिलाई पनि ठेक्कापट्टा गर्ने, स्कुल भवन बनाउने, पैसा जोगाउने टे«ण्ड होइन, हाम्रो स्कुलाई नमूना बनाउनुपर्छ, नवीनता दिनुपर्छ, नयाँपनको विकास गर्नुपर्छ भन्ने तिर केन्द्रित गर्ने । यहाँको बालबालिकाले उछिन्ने बनाउनुपर्छ । भन्ने भावनाको विकास गराउने त छँदैछ, गाउँपालिका क्षेत्रबाट पनि स्कुल एक्लैले गर्न नसक्ने, कुराहरुलाई गाउँपालिका क्षेत्रैबाट समन्वय गरेर समाधान गर्न अभिप्रेरित गर्ने परिपाटी बनाउने र राम्रो थिति बनाउने सोच छ ।

- त्यसको लागि त स्रोत चाहियो ? स्रोत कसरी व्यवस्था गर्ने ?

योजना बनाएर गैसकेपछि हामी स्थानीय स्तरमा हाम्रो भएको प्राकृतिक सम्पादहरुमा हामी के कति गर्न सक्छौं, गर्छौं । अनि विभिन्न राजनीतिक दल, विभिन्न सामाजिक संस्था, सामाजिक निकायहरु, हामी विभिन्न त्यो निकायभित्र रहेका मान्छेहरुलाई हामी यो योजनामा कन्भिन्स गर्यौं भने मान्छेले योगदान गर्छन् । 

राम्रो हो भन्ने कुरामा मैले जुगलवासीलाई कन्भिन्स गराउन सकियो भने त्यसपछि स्रोतहरु आफै जन्मिन्छ । मैले अहिले यति जाबो त पठाउने भनेर मैले बनाउन थालिँन भने, सपना देख्न थालिँन भने त मैले केही पनि गर्न सक्दिन ।
सायद एल्बा एडिसनले विना अक्सिजनले बिजुली बत्ती बाल्न सकिन्छ भन्ने सपना नदेखेको भए, त्यो बेला त पागलै भने होला मान्छेहरुले ।

माथि आकाशमा एउटा मेसिन उडाउन सकिन्छ भनेर राइट दाजुभाइले मान्छेलाई सुनाउँदा त पागलै भने होला ।

सायद् मेरो यो सपनालाई स्रोत छैन, साधन छैन, सपना चाहिँ ठूलो ठूलो देख्छ, यो पागल भन्ला तर सपना ठूलो देख्नुपर्छ, त्यसलाई बुझाउँदै जानुपर्छ, त्यो सार्थक हुन् ।

- वर्तमान अवस्थामा शिक्षाका चुनौतिहरु के देख्नुहुन्छ ?

अहिले संस्कारै हो, सबैभन्दा ठूलो संस्कृति हो । शिक्षक चाहिँ अन्त काममा फिट नभए पछि आउने, यसैले अलि धेरै बिग्रको छ । अर्को, जोसँग राम्रो पढाउने क्षमता छ, ऊ चाहिँ व्यापार गरी बसेको छ ।
जोसँग ठेक्कापट्टा राम्रोसँग गर्न आउँछ, ऊ व्यापार गरी बसेको छ ।

जो शिक्षाको क्षेत्रमा भन्दा व्यापारको क्षेत्रमा फिट छ, ऊ चाहिँ परै बसेको छ । अहिले पढाउने क्षमता, मान्छेसँग त क्षमता हुन्छ, पढाइरहने गुरुसँग, त्यो भन्दा विशेष क्षमता न व्यापार गर्नेसँग छ कि, न  उद्योग चलाउने सँग छ कि ? अरु कुन क्षमता छ ? हामी कुन क्षमता हेरेर उहाँको लागि वातावरण बनाउँछौं ।

- यो अवस्था आउनुमा शिक्षक नै सबैभन्दा मुख्य पक्ष भन्नु भाको हो ? सफलता र असफलताका लागि ?

उहाँहरुले अपराध गर्नुभयो भन्ने कोणबाट हैन । हामीले संस्कारै त्यस्तो जन्माइदियौं । पढाउन त जाने, पढाउन सकाएर कतिखेर अर्को पनि साइटको काम गर्न जाने भन्ने ध्यान भयो  । शिक्षकको पढाउने काम चाहिँ कम महत्वको विषय बन्यो ।

- भौतिक संरचना चाहिँ त्यसपछि आउने कुरा हो ? तपाइँको बुझाइमा ?

दोस्रो कुरा हो,  पहिलो कुरा संकल्पै हो । म यो स्कुललाई केही गरेरै छोड्छु, भन्ने एउटा संकल्प र योजना नै पहिलो कुरा हो । त्यसपछि डुबेर लाग्ने उसको लगाव नै पहिलो कुरा हो । लागिसकेपछि कहिँ न कहिँ बाटो खुल्छ । शिक्षकहरु अयोग्य मात्र होइनन्, योग्य पनि छन्, कुशल पनि छन् तर संस्कारै बिग्रिसकेपछि यदि कुशलले आफ्नो कुशलता देखाउन खोज्यो भने अर्को त त्यसको विरुद्धमा भैहाल्छ । असफल भैहाल्छ । त्यसकारण यो संस्कारको कुरा हो ।

- भूकम्पले थिलथिलो भएको सिन्धुपाल्चोक जिल्ला, विद्यार्थीले विद्यालयमा बसेर पढ्न पाएको अवस्था छैन, त्यो ठाउँमा तपाइँले पहिलो कुरा त विद्यालय भवन बनाउनुपर्ने होला नि होइन र ?

तर, त्यो दोस्रो कुरा नै हो । शिक्षा के का निम्ति ? विद्यालयलाई सिकाइ उपलब्धि दिलाउनका लािग । सिकाइ उपलधि दिलाउनका निम्ति त्यही अनुसारको जनशक्ति, जनशक्ति मात्र भएर भएन, त्यपछि भनेको भवन हो । भवन मात्र भएर भएन, किन असम्भव छ, एलसिडी प्रोजेक्टरबाट पठनपाठन गर्न के सा¥है टाढाको कुरा हो र ?

त्यसपछिाडि आधुनिक शिक्षा पद्दति, बालबच्चालाई फ्रेण्डली वातावरणमा साथीत्वको हिसाबमा, दमनात्मक हिसाबमा होइन, उसँग भएका क्षमता, प्रतिभालाई मार्न दिएर होइन, मसँग त केही पनि छैन, माष्टरमात्र सबै जान्ने, माष्टरले भनेको मानेन भने म बिग्रन्छु, यसले भनेको मात्र सत्य हुन्छ भनेर भन्दा माष्टरसँगभन्दा मसँग छ भनेर उसले महशुस गर्न पायो भने ऊ, त्यसबाट उत्साहित हुन पायो भने, उसँग भएका सम्भावनाहरु यत्ति धेरै प्रस्फुटित हुन्थ्यो, सिकाइ उपलब्धि बढाउने वातावरण बनाउने कि नबनाउने ? भन्ने कुरा महत्वपूर्ण छ ।

त्यसकारण भौतिक पूर्वाधार आधार हो, खुलेर पढन पाउने सिकाइ उपलब्धिको आधार हो । लादिएको शिक्षाभन्दा वास्तविक शिक्षा दिनतिर लाग्नुपर्छ । मुख्य कुरा बच्चामा भएको प्रतिभालाई बाहिर ल्याउन दिनु र उसलाई उत्साहित पार्नु पनि हो । भवनका अलावा अन्य भौतिक पूर्वाधार पनि चाहिन्छ । त्यहीँ भएका कच्चा सामानलाई पनि प्रयोग गर्ने उपाय खोज्नुपर्छ । हामीले केही राम्रो गर्नुपर्छ भन्ने भावना शिक्षकसँग भयो भने हुन्छ ।

- सबैभन्दा ठूलो चुनौति त शिक्षकलाई व्यवस्थापन गर्नु मानिन्छ, उनीहरुलाई केही गर्न खोज्यो भने आन्दोलन गर्ने, धम्कीपूर्ण कुरासमेत आउँछ भन्ने आम बुझाइ छ, त्यसलाई चिर्ने चाहिँ कसरी होला ?

के कुरामा पो समस्या छैन, राम्रो बनाउनका निम्ति, केले बाधक गर्दैन ? सबै ठाउँमा समस्या छ, त्यस्तै शिक्षामा अलि बढी समस्या छ । तर यो समस्यालाई समाधान गर्छु भनेर संकल्प लियौं भने समाधानहरु जन्मिन्छन् ।

- सामुदायिक विद्यालयको उदाहरण हेर्नुपर्यो भने जुगल जाँदा हुने भयो हैन त ?

त्यो म आमन्त्रण गरौंला,  अहिले मेरो प्रतिवद्धता त्यो छ । म बनाउुछ भन्ने मेरो संकल्प छ । अघि नै मैले भने नि शिक्षक नियुक्ति  गर्ने कुरा गरेँ । राजनीतिलाई बुझ्नु हुन्छ । किन चुनाव जिताउनु भो भन्दा भोलि जागिर खुवाउला भन्ने छ । त्यहाँ स्वार्थ बाझिन्छ, त्यसपछि मेरो विरुद्धमा लाग्नेछन् ।

क्रान्ति, परिवर्तनलाई मान्छेले के बुझेको छ भने अर्को पार्टीको अध्यक्ष बन्ने ठाउँमा आफ्नो पार्टीको मान्छे राख्नु क्रान्ति हो भन्ने बुझेका छन् । अर्को पार्टीको शिक्षक नियुक्ति गर्नु, सट्टा आफ्नो पार्टीको मान्छे नियुक्ति गर्नु क्रान्ति हो, यही बुझाइ छ । हामी क्रान्तिको नाममा यसैलाई मानिराख्ने ? सम्भव छैन ।  त्यो आदर्श, भनाइ र नारामात्र हुन्छ । त्यसकारण नारा मात्र भैरहेको छ ।

- तपाँइले भनिरहनु भएको कुरा त आदर्श नै हो कि क्या हो ? भन्ने लाग्न थाल्यो मलाई त । किन भने समाज, वातावरण, कार्यकर्ता त्यही छन्, तपाइँ आफ्नो कार्यकर्ताको तहबाट कसरी माथि उठ्न सक्नु होला त ?

आफ्नो कार्यकर्तालाई म बिर्सिन्न । तिनीहरु अयोग्य छन्, तिनीहरुलाई फाल्नुपर्छ भन्दिन । अहिले मैले अघि भनेकै उदाहरण मान्ने हो भने ५० जना मान्छेहरु प्रतिस्पर्धी छन् भने त्यसभित्र २० जना क्यापेबल छन् भने ३० जना मान्छेहरु फेरि शिक्षण नै गर्छु भन्छन् भने तिनीहरुलाई बरु तालिम दिएर, पढाउन सक्ने बनाएर फेरि प्रतिस्पर्धामा उतार्ने हो नि ।

अधैर्य गर्यो भने त्यो मेरो लागि साधक होइन, बाधक हो । धैर्य म गराउन सक्छु । होइन उहाँले पढाउन सक्ने क्षमता छ भने बरु कसरी पढाउने भन्ने बरु हामी अर्को प्याकेज बनाएर तालिम दिन्छौं । उहाँलाई सक्षम बनाउँछौं । अर्कोचोटि सफल भैहाल्नुहुन्छ । सफल भएर  मात्र शिक्षक भएर हुनुपर्छ भन्ने विधि स्थापित गर्छु । एमाले भएपछि शिक्षक हुन पाइन्छ भन्नेहरुलाई म विस्थापित गर्छु ।

श्रेष्ठसँग गरिएको यो कुराकानी रेडियो कार्यक्रम हाम्रो शिक्षामा सुन्न सक्नु हुन्छ । एक्सन एड नेपालको सहयोगमा www.edukhabar.com ले तयार पारेको यो कार्यक्रम हरेक मंगलबार विहान आठ बजे प्रदेश नम्बर ७ मा रेडियो डोटी र रेडियो धनगढी, कैलाली तथा काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट प्रशारण हुन्छ । यसका साथै www.edukhabar.com तथा एण्ड्रेईड एप Edunepal बाट पनि यो कार्यक्रम सुन्न सकिन्छ । यो कुराकानी आउँदो मंगलबार अर्थात् असार १३ गते प्रशारण हुने छ ।