Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

‘चन्दा बार्गेनिङ गर्न’ शैक्षिक हड्ताल, तीन लाख विद्यार्थीको पठनपाठन अवरुद्ध

मंगलबार, १३ असार २०७४

काठमाडौं– निजी विद्यालयहरुले शुल्क वृद्धि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले शैक्षिक हड्ताल गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) नामक संगठनले मंगलबार (आज) देशको राजधानी काठमाडौं उपत्यकामा एकदिने शैक्षिक हड्ताल गरेको हो  ।
संगठनले सतहमा शुल्क वृद्धिको मुद्धा उठान गरे पनि निजी विद्यालय सञ्चालकहरुसँग भारी चन्दा असुली गर्ने माध्यमको रुपमा उपयोग गरेको बन्दबाट प्रभावित विद्यालयहरुले जनाएका छन् ।
‘विद्यालयहरुले २०७४ बैशाख १५ गते शिक्षा मन्त्रालयमा भएको सहमति बमोजिम वृद्धि गरिएको शुल्क फिर्ता नगरेकोको कारण हामी बन्द गर्न बाध्य छौं ।’ बन्दकर्ता संगठनका केन्द्रीय सदस्य सुनिल बञ्जाडेले भने ।
उनले त्यसो भने पनि एक विद्यालय सञ्चालक भने सो कुरालाई मान्न तयार छैनन् । उनी भन्छन्, ‘विद्यार्थी संगठनको नाम गरी दशैं खर्च उठाउने दाऊ हो, हामीसँग संगठनले चन्दाको लागि वार्गेनिङ गर्ने बाटो खोजिरहेका छन् ।’
बन्दबाट उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका सबै निजी विद्यालयहरु प्रभावित भएको बन्दकर्ताको ठम्याइ छ । बन्दकर्ताले भक्तपुरका पनि सबै निजी विद्यालय बन्द गरेको ठोकुवा गरे पनि भक्तपुरमा भने अधिकांश विद्यालय खुलेका छन् ।
बन्दबाट काठमाडौं उपत्यकाका करिब १८ सय निजी विद्यालय र सो विद्यालयमा पढ्ने करिब ३ लाख विद्यार्थीको पठनपाठन ठप्प भएको निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) का बरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले बताए । उनले वार्ताबाट समाधान हुने विषयलाई विप्लव माओवादी निकट विद्यार्थी संगठनले ठूलो विषय बनाएको जनाए ।
‘आन्दोलनपूर्व भएको वार्तामा हामीले बन्द नगर्न आग्रह गरेका थियौं तर उहाँहरु भने वार्तामै नबसीकन, हाम्रो पूर्व निर्धारित कार्यक्रम भनेर जानुभयो ।’ वरिष्ठ उपाध्यक्ष ढुंगानाले भने ।
उनले शुल्क वृद्धि गरिएका केही विद्यालयहरुको समस्यालाई लिएर अन्य विद्यालयहरुलाई पनि प्रभावित गर्ने काम संगठनबाट भएको बताए । वरिष्ठ उपाध्यक्ष ढुंगानाले संगठनले आफ्नो प्रचारवाजीको लागि विद्यालय  र विद्यार्थीलाई उपयोग गरेको पनि उल्लेख गरे ।
त्यस्तै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले भने अकस्मात गरिएको बन्दबाट चलिरहेको परीक्षासमेत स्थगन गर्नुपर्ने बताए । ‘निजी विद्यालयलाई लक्षित गरी गरिएको बन्दले परीक्षासमेत बन्द गर्नुपरेको छ, यसबाट पर्ने घाटाको विषयमा संगठनले खासै ध्यान नदिँदा यस्तो भएको हो ।’ उनले भने ।
बन्दकर्ता संगठन सदस्य बञ्जाडेले भने विद्यार्थी र अभिभावकबाट निक्कै गुनासो आएपछि आफूहरु बन्दसम्मको कार्यक्रमका साथ अघि बढेको बताउँदै चन्दाको लागि बन्द नगरेको बताए । उनले निजी विद्यालयहरुले उठाइरहेको शुल्क घटाउनुपर्ने डर र चन्दाको बार्गेनिङ गरेको आफूहरुमाथि आरोप लागेको बताउँदै आन्दोलन तुहाउने कुरा गरेको प्रतिक्रिया दिए ।
विद्यालय बन्द गर्नका लागि उनीहरुले तीनवटै जिल्लाका विद्यालयका प्रअसँग अनुरोध गरेको बताउँदै भक्तपुरका नेमकिपासमर्थित विद्यालयहरु भने चालू रहेको स्वीकारे । उनले भने, ‘परीक्षा चलिरहेको छ, हामीलाई बन्द गर्न कर नगर्नुस्, भनेर भनेपछि हामीले केही स्कुललाई जर्बजस्ती गरेनौं ।’
आन्दोलनको क्रममा संगठनले शुल्क बढायएका विद्यालयहरुमा कालो झण्डा गाढ्ने, सरोकारवालाहरुसँग अन्तरक्रिया, विद्यालयको लेखाशाखा र प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी समेत गरेको जनाएको छ ।

 

प्रतिक्रिया