Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश पढ्न जाने विद्यार्थीलाई मेला

आइतबार, २५ असार २०७४

काठमाडौं - विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिन शैक्षिक मेला हुने भएको छ । विगत वर्षहरुमा झैं यस वर्ष पनि नेपाल शैक्षिक परामर्श संघ ईक्यानले मेला गर्न लागेको हो । आगामी साउन ५ गतेदेखि ८ गतेसम्म राजधानीमा हुने उक्त मेला एघारौ शैक्षिक मेला हुने छ ।

मेलाका बारेमा जानकारी दिन आईतबार आयोजित पत्रकार सम्मेलनमा ईक्यानका कार्यवाहक अध्यक्ष विष्णुहरि पाण्डेले ‘विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भईरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने हाम्रो उद्देश्य एवम् दायीत्व हो ।’ भने ।

मेलामा २ सय ३३ स्टलहरु तथा १७ वटा पेभेलियनहरु (ठुला स्टलहरु) रहने छन् ।

पाण्डेका अनुसार मेलामा ईक्यानसंग आवद्ध देशभरिका शैक्षिक परामर्श दात्री संस्था सहभागी हुने छन् । मेला भृकुटी मण्डपमा हुने छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालयबाट जारी शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्वन्धि निर्देशिका – २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा, शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर मेला गर्न लागेको ईक्यानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेलामा एक लाख भन्दा वढि महानुभावहरुले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ ।

मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको ईक्यानले जनाएको छ । मेलामा विगत बर्षहरुमा जस्तै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता रहने ईक्यानले जनाएको छ ।

प्रतिक्रिया