Edukhabar
मंगलबार, ११ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीलाई मेला, पहिलो दिन २० हजारद्धारा अवलोकन

विहीबार, ०५ साउन २०७४

काठमाडौं - विदेश जान चाहने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श तथा कलेज छनौट गर्न सघाउने उद्देश्यले शैक्षिक मेला शुरु भएको छ । भृकुटीमण्डपमा शुरु मेला परामर्श दिदैं आएका संस्थाहरु आवद्ध नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आयोजनामा भएको हो ।

बिहीबार शुरु  ११ औँ ईक्यान शैक्षिक मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाली राजदुत डव्लु एस परेराले गरिन् । उद्घाटनपछि शुभकामना ब्यक्त गर्दै राजदुत परेराले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा ईक्यानको जिम्मेवार भूमिका प्रसंशनीय भएको बताईन् ।

विदेशका कलेज तथा विश्वविद्यालयका शिक्षाका राम्रा स्वरुपहरु नेपालमा पनि लागू गराउनेतर्फ पहल गर्न उनले ईक्यानसँग आग्रह गरिन् । कार्यक्रममा ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले उच्चशिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको भन्दै नेपाल भित्र प्रर्याप्त अवसर सृजना हुन नसकेको कारणले नेपाली विद्यार्थी बाहिरिन बाध्य भएको बताए ।

सरकार र शिक्षा क्षेत्रका लगानीकर्ताहरुले नेपालमै अन्तर्राष्ट्रिय स्तरको ब्यवहारोपयोगी शिक्षा उपलब्ध गराए आफूहरु लाखौं विदेशी विद्यार्थी नेपाल भिœयाउन तयार रहेको उनको दावी छ ।

मेलालाई शुभकामना दिँदै नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरले मेलाको सफल आयोजनाले नेपालीहरु जस्तोसुकै विपद्मा पनि फेरि अघि बढ्न सक्छन् भन्ने सन्देश दिएको बताए । अभिभावक संघ नेपालका उपाध्यक्ष सुवास भण्डारीले नेपाललाई नयाँ शैक्षिक गन्तब्यका रुपमा विकास गर्नेतर्फ मेलाले नयाँ सोच विकास गरेको बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका अधिकृत तारानाथ निरौलाले शैक्षिक परामर्शदाताहरुको ब्यवसायिक समस्या सम्बोधन गर्न मिलेर जाने प्रतिबद्धता ब्यक्त गरे । ब्रिटिश काउन्सिलका विजनेज डेभलप्मेन्ट हेड  विक्रान्त गुरुङ्गले शैक्षिक मेलाले सही सूचना मार्फत विद्यार्थीलाई उपयुक्त कलेज वा विश्वविद्यालयको छनोटमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।

मेलामा भारत, चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं ईक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुइ सय पचास भन्दा बढी स्टल राखिएका छन् । उच्च शिक्षा अध्ययनका लागि संसारका विभिन्न मुलुकमा जान चाहने विद्यार्थीलाई एकै थलोबाट विभिन्न देशका शिक्षा निती, भिसा नीति, प्रवेश का लागि आवश्यक कुराहरु, छात्रवृत्ति तथा सम्पूर्ण आवश्यक सूचना एवं जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।

मेलाको पहिलो दिन करीब २० हजार विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको ईक्यान सचिव तथा सूचना र सञ्चार विभाग प्रमुख उमेश ढुगेंलले वताए ।

यो पनि पढ्नुहोस् : जारी ईक्यान शैक्षिक मेलामा दुई वर्ष अघिको भूकम्पबाट भएको मानवीय, शैक्षिक, भौतिक तथा सांस्कृतिक क्षती झल्कने फोटोको समेत प्रदर्शनी

प्रतिक्रिया