Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

भविष्यको ग्यारेण्टी खोज्दै नयाँ पुस्ता, विदेशिने विद्यार्थीको संख्या बढ्दो

शुक्रबार, ०६ साउन २०७४

काठमाण्डौं - नेपालगंजका अभिषेक बम मल्ल काठमाण्डौं एक नीजि कलेजबाट स्नातक तेस्रो बर्षको परीक्षा दिएका विद्यार्थी हुन् । उनी यस अघिको पढाई विदेशमा गएर पुरा गर्ने ध्याउन्नमा छन् । नतिजाको पर्खाई जारी रहँदा उनी विदेश अध्ययन गर्न जानु अघि पुरा गर्नु पर्ने प्रकृया र विषय छनौटको काम सक्ने योजनामा छन् । कुरा बुझ्न धेरै कन्सल्टेन्सी पनि धाए ।

'कता कता पुगियो कता कता, कुरा नबुझि हाम्फाल्नु पनि भएन' उनले भने 'तर कुरा बुझ्दा बुझ्दा धेरै समय वित्यो ।'

कहिले यता कहिले उता कुरा बुझ्दै हिँडेका मल्ललाई बिहीबारबाट शुरु शैक्षिक मेला एकै ठाउँमा बसेर धेरै जानकारी पाउने गतिलो ठाउँ बन्यो ।  

रुपन्देही भलवारी की सुनिता चौधरी कक्षा १२ को परिक्षा दिएर एमबिबिएस तयारी गर्न  राजधानी आएकी थिईन् । परीक्षाको तयारी जारी रहँदा पनि उनलाई शैक्षिक मेलामा पुग्न मन लाग्यो । कथंकदाचित छात्रबृत्तिमा नाम निकाल्न सकिएन भने बैदेशिक अध्ययनमा जाने सोच बनाएकोले उनी थप जानकारी लिन मेलामा पुगेकी हुन् ।

'विदेशै जाने त निर्णय गरिसकेको छैन, हेरौं यहाँ रिजल्ट कस्तो आउँछ। राम्रो भएन भने त विदेशै जानु पर्ला' उनले मेलामा आउनुको कारण खुलाईन् ।

आफ्ना लागि यो मेला एउटै छानामुनि बैदेशिक शिक्षाका बारेमा सम्र्पूण जानकारी लिने अवसर बनेको उनले बताईन् ।

नेपाल शैक्षिक परामर्श संघ ईक्यानले गरेको शैक्षिक मेलामा विद्यार्थी मात्रै हैन तीनका अभिभावक पनि खुवै चासो सहित कुरा बुझिरहेका भेटिन्छन् ।

यतिवेला देश शासकीय संरचना परिवर्तनको कार्यन्वयनमा रहे पनि युवा शिक्षित जनशक्तिका लागि सुनिश्चित भविष्यको आधार बन्न सकेको छैन ।

त्यसैले उच्च शिक्षाको अवसरसंगै बैदेशिक राजेगारीको लालसाले नेपाली विद्यार्थी र तिनका अभिभावक विदेश जाने ध्याउनन्मै भेटिन्छन् । भृकुटीमण्डपमा आयोजित ११ औं ईक्यान शैक्षिक मेलामा आएका अभिभावक र विद्यार्थीका कुराले पनि त्यही पुष्टि गरिरहेको छ ।

शिक्षा मन्त्रालयका अनुसार ७० भन्दा धेरै देशमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् । यस्ता विद्यार्थीलाई शिक्षा मन्त्रालयले एलओआई अर्थात पूर्व स्वीकृती पत्रदिने गरेको छ । भारत बाहेकका देशमा जान विद्यार्थीले अनिवार्य रुपमा उक्त स्वीकृतीपत्र लिन पर्ने हुन्छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक बर्ष मात्र ५० हजार ६ सय ५९ विद्यार्थीले त्यस्तो स्वीकृतीपत्र लिएका छन् । ०७२/०७३ मा ३२ हजार ४ सय ८९ विद्यार्थीले एलओआई लिएकोमा ०७३/०७४ मा अघिल्लो बर्ष भन्दा ५६ प्रतिशतले बृद्धि भएको छ । यो संख्या भारत वाहेकका बैदेशिक अध्ययनमा जानेहरुको हो । भारतीय राजदुत दीपकुमार उपाध्यायका अनुसार भारतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या करिब ३० हजार छ ।

स्वेदशमा उच्च शिक्षा पछिको अवसर नहुँदा विदेशिने विद्यार्थीको संख्या बृद्धिन्मुख छ । मध्यम वर्गीय तथा उच्च वर्गीय परिवारका सन्तान बैदेशिक अध्ययनमा जाने गरेका छन् ।

अध्ययन पछि विद्यार्थी श्रम बजारमा बिक्न चाहन्छ तर नेपालमा त्यो अवसर नै छैन् । नेपालको सरकारी क्षेत्रमा मुस्कीलले १० हजार जनशक्ति वार्षिक खपत छ । निजी क्षेत्रमा पनि त्यो अवसर उल्लेख्य छैन । व्यापार व्यवसाय गर्न पर्याप्त धन नहुने र त्यस किसिमको वातावरण नभएकोले नै बैदेशिक अध्ययनमा जानु पर्ने अवस्था रहेको उनले बताए । विदेशमा श्रम, स्वआर्जन संगै अध्ययनको अवसर हुने भएकोले विद्यार्थी बैदेशिक अवसरमा रमाउने गरेका छन् ।

मल्ल परिवारका एक्ला सन्तान हुन् । तर पनि विदेशजानु रहर मात्र नभएर भबिष्यको ग्यारेण्टीका लागि पनि भएको उनले बताए । विदेशिन चाहने विद्यार्थीका लागि मल्ल प्रतिनिधी पात्र हुन् । उनको जस्तै समानविचार राखेर नै बैदेशिक अध्ययनमा जान चाहन्छ नयाँ पुस्ता ।

खास गरी नेपालबाट बैदेशिक अध्ययनमा जानेहरु १२ कक्षा उत्तीर्ण देखि स्नातकोत्तर तह अध्ययनरत बढी जाने गरेको रीयल ड्रिम्स  एजुकेशन कन्सल्टटेन्सी की जनसम्पर्क अधिकारी विमला भटट्राइले जानकारी गराइन् । अधिकांश विद्यार्थीको पहिलो रोजाई अमेरिका हुने गरेको भए पनि सबैलाई त्यो अवसर उपलब्धहुननसक्ने जानकारी गराउदै अन्य देशका अवसरका बारेमा जानकारी गराउने गरेको उनले बताइन् । अष्ट्रेलिया, बेलायत, जापान, डेनमार्क, नर्वे फिनल्याण्ड सहितका युरोपियन देशमा अध्ययनको अवसरकाबारेमा परामर्श सहित सुविधा उपलब्ध गराउने गरिएको उनले बताईन् । विषयगत रुपमा विदेशमा जानेहरुले अधिकांश व्यवस्थापन, नर्सिङ, आईटी र अन्य प्राबिधिक विषयको अध्ययनको ध्येय राख्ने गरेको अनुभव उनले सुनाईन् ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष प्रकाश पाण्डेले  विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन सहितको अवसर बारेमा जानकारी दिन ईक्यानले ११ बर्षदेखि मेला आयोजना गर्दै आएको बताए । पाण्डेले भने “विदेशको अध्ययन चाह भएकालाई मेला अवसर हो, पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीतिको बारेमा मेलामा जानकारी गराउँछौं ।'

विद्यार्थी र अभिभावकलाई एउटै छातामा राखेर वैदेशिक अध्यनका लागि सुसूचीत गराउनु नै मेलाको एक मात्र उद्धेश्य भएको इक्यानले जनाएको छ ।

मेलामा आउने विद्यार्थीले विदेशमा पढ्नका लागि आवश्यक नीति नियम, भर्ना प्रक्रिया, भिसा आवेदन देखि लिएर सुरक्षित र गुणस्तरीय शिक्षामा विद्यार्थीलाई परामर्श दिदै आएको ईक्यान सचिव तथा सूचना र सञ्चार विभाग प्रमुख उमेश ढुगेंलको भनाइ छ । विभिन्न देशहरूले आफ्नो देशको बदलिदो भिसा प्रणाली, शैक्षिक स्थिति नीति नियम भिसा प्रक्रियामा आवश्यक पर्ने कागजपत्र सहजिकरण जस्ता विषयबस्तु मेलामा आउने विद्यार्थी र अभिभावकहरूले जानकारी पाएका ढुगेंलले जनाए । व्यवसायलाई प्रवर्धन गर्नुका साथै विद्यार्थी र अभिभावकलाई बढी भन्दा बढी सूसुचीत गराएर ढुक्क बनाउनु नै मेलाको उद्धेश्य भएको उनको भनाइ छ । 'यो एउटै त्यस्तो थलो हो जहाँ विद्यार्थी र अभिभावकलाई धेरै भन्दा धेरै विदेशी र स्वदेशी शिक्षण संस्थालाई भेट्ने र सूसुचीत हुने अवसर प्राप्त हुन्छ' ढुगेंलले भने ।

नेपालमा राम्रा शैक्षिक संस्था भएपनि राज्यले विदेशी विद्यार्थी नेपाल भित्राउनका लागि आवश्यक नीति र सुविधाको व्यवस्था गर्न नसक्दा आफूहरुले चाहेर पनि नेपाललाई शैक्षिकहबका रुपमा विकास गर्न नसकेको पूर्व अध्यक्ष राजेन्द्र बराल बताउँछन् ।

उनी भन्छन् “त्यसैले नेपालको ब्रेन, ड्रेन हुने गरेको छ ।” बरालका अनुसार व्यवसायले नेपालका विद्यार्थी बाहिर मात्र नपठाएर भित्र्याउन पनि सफल छ ।

नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको छ, भनेर राज्यले नै विश्वमा सन्देश प्रवाह गर्नुपर्ने उनको भनाई छ । तर नेपालमा शैक्षिक सुरक्षाका लागि आवश्यक नीति  र कार्यक्रम नल्याएसम्म विदेशी विद्यार्थी नेपाल आउन सहज नभएको उनको गुनासो छ ।

'विदेश जान चाहने विद्यार्थीलाई हामीले नजान त भन्न सक्दैनौं तर उनीहरुलाई पुनः नेपाल फर्कन भने पहल गरिरहेका छौं । हामीले यसको लागि यो ठाउँ र समय उचित छ र तिम्रो भविश्य पनि उज्वल छ नेपालमा नै बस भनेर भन्ने अवस्था नै छैन'उनले भने, 'नेपाल जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देशमा एजुकेशन हबबनाउन सकेमा देश र जनता सबैको भलो हुन्छ । यस विषयमा सरकारले नै सोच्नुपर्ने बेला आएको छ । दशकौ लामो गृहयुद्वबाट पीडित श्रीलंकाले त अन्तराष्ट्रिय विद्यार्थी भर्ना लिइरहेको छ भने हामी किन सक्दैनौ त्यसबाट ज्ञान आवश्यक छ ।'

व्यवसायीबाट हुने गलत सुचना प्रवाहबाट विद्यार्थी नठगिएका हैनन् । त्यसैले परामर्शदाताहरु व्यवसायिक बन्नु पर्ने अर्को चुनौती छ । परामर्शदाताकै परामर्श, सल्लाह र सुझावमा विदेश पुगेका विद्यार्थीले अन्तराष्ट्रिय रुपमा ख्याती कमाएका राम्रा उदाहरण पनि छन् ।

बैदेशिक अध्ययन यति बेलाको ट्रेन पनि हो । त्यो संख्या बृद्धि गराउनुमा हाम्रो सरकारी कार्यशैली, प्रशासकीय संरचना र समाजिक चिन्तन भागीदार रहेकोे अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीको ठहर छ ।

'किन विदेशिदैछ, नयाँ पुस्ता ? शहरको अवस्था खाल्डा खुल्डी, धुलो धुवाँ, हिलो ट्राफिक जाम, खानेपानी अभाव आदी, गाउँघरका त कुरा नगरौं' उनले भने  'विहानैं सुनियो हुम्लामा ४ महिना भै सक्दा पनि प्राथमिक तहका विद्यार्थीले पढ्ने पुस्तक नपाएको । सरकारबाट उपलब्ध हुनु पर्ने सेवाको यस्तो हालत भएपछि नयाँ पुस्ताहरु अवसर र न्युनतम सेवा प्राप्तिका लागि विदेशिन्छ नै ।'

तर पनि बैदेशिक अध्ययनमा जाने नयां पुस्तालाई अध्ययन पश्चात स्वदेशमा फर्किन सक्नु पर्छ भन्ने कुरा बुझाउन अभिभावक र परामर्शदातृ व्यवसायीले भुल्न नहुने उनको सुझाव छ ।

प्रतिक्रिया