Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

महाकविको योगदानबारे प्राध्यापकहरुद्वारा कार्यपत्र प्रस्तुत

शुक्रबार, १३ साउन २०७४

भक्तपुर– नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्यको साहित्कि योगदानबारे विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।

नेपालभाषा तथा साहित्यको पूनर्जागरण कालका स्रष्टा महाजुको १ सय ५० औं जन्म जयन्तीको अवसरमा भक्तपुरमा आयोजित कार्यपत्र प्रस्तुति कार्यक्रममा प्राध्यापकहरुले उनको साहित्यिक योगदानका विभिन्न आयामहरुबारेमा गरेको अध्ययन पत्र प्रस्तुत गरेका हुन् ।

नेपालभाषा साहित्य क्षेत्रको उत्थान र विकासमा महत्वपूर्ण योगदान पुर्याएका उनको सम्झनामा सिद्धिदास प्रतिष्ठान भक्तपुरले गरेको कार्यक्रममो उपप्राध्यापक रवि शाक्य, प्रा.डा. तुयुबहादुर महर्जन, प्रा.डा. चुन्दा बज्राचार्य, प्रा.डा. योगेन्द्र प्रधानले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपप्राध्यापक शाक्यले ‘सज्जन हृदयाभरण नामक महाकाव्यमा संस्कृति नीति साहित्यको प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै साहित्यमा सांस्कृतिक योगदानबारे चर्चा गरे भने सो कार्यपत्रमाथि साहित्यकार गोविन्दमान श्रेष्ठले टिप्पणी गरेका थिए ।

सोही अवसरमा प्रा.डा.महर्जनले ‘सिद्धिदास महाजुका साहित्यमा वर्णविन्यास व्यवस्था’बारेमा कार्यपत्र प्रस्तुत गर्दै वर्णविन्यास र व्याकरणको उत्थानमा पुगेको योगदानबारे प्रष्ट पारे भने उक्त कार्यपत्रमाथि ओमकार श्रेष्ठले टिप्पणी गरे । त्यस्तै महाकवि महाजुको कृतिमा महिलाप्रतिको धारणाबारेमा प्रा.डा. चुन्दा बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्दै त्त्कालिन महिलाहरुको अवस्थालाई चित्रण गरिन् भने सो कार्यपत्रमाथि प्राज्ञ धु्रब मधिकर्मीले टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रा.डा. योगेन्द्र प्रधानले भने महाकवि सिद्धिदास महाजुका विविध विचार विषयमा कार्यपत्र प्रस्तुत गर्दै विचार सान्दर्भिक भएको जनाए । सो कार्यपत्रमाथि साहित्यकार त्रिरत्न शाक्यले टिप्पणी गरे ।
कार्यपत्र प्रस्तुतिमा प्रोफेसर माणिकलाल श्रेष्ठ, नेपालभाष आन्दोलनका अभियन्ता एवं विश्लेषक मल्ल के सुन्दर, आयोजक प्रतिष्ठानका बिमल प्रधानलगायतले महाकवि महाजुको योगदानबारेमा चर्चा गरेका थिए ।
तत्कालीन समयमा सिद्धिदासको संगत र उनले पुर्याएको योगदानको चर्चा गर्दै लौहपुरुष गणेशमान सिंह तथा साहित्यकारहरु सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित र चक्रपाणि चालिसेसँगको सामिप्यताबारे चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडा, सचिव अमररत्न बज्राचार्य, शातिनिकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यलगायतले बोलेका थिए । उनका सज्जन हृदयभरण, सत्यवती, सत्य मदन, शुक रम्भा संवाद र रम्भा शुक सम्वाद, सिद्धि रामायणलगायतका कृतिहरु छन् ।

 

प्रतिक्रिया