Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

कमजोरी ढाकछोप गर्न शिक्षक परीक्षा सार्ने प्रपञ्चमा सरकार

विहीबार, १९ साउन २०७४

हामीले झण्डै १४ महिना अघि गरिमामय संसदबाट शिक्षा ऐन २०२८ लाई संशोेधन गर्न बनेको विधेयक २०७३ पारित गरेका छौं । त्यो विधेयक पारित गर्दाको एउटा ऐतिहासिक क्षण स्मरण गर्न चाहन्छु । त्यसमा कैयौं बुँदाहरुमा हाम्रा असहमती थिए । त्यसका बाबजुत पनि हामीले सर्व सम्मतीले त्यो विधेयक पारित गर्यौं ।

त्यो किन भने करीव १८ बर्ष देखि विद्यालय शिक्षामा देखिएको समस्यालाई समाधान गर्न, खास गरी शिक्षक ब्यवस्थापनको सवालमा जो समस्या हामीले ब्यहोरेका थियौं त्यसलाई समाधान गर्न चाहन्थ्यौं ।

त्यो विधेयकले आउने एक बर्ष भित्रमा लामो समय देखि रहेका अस्थायी शिक्षकहरुलाई स्थायी गर्न ढोका खोलेको थियो । तत्कालिन शिक्षा मन्त्रीले हामीलाई एउटा सर्त राख्नु भएको थियो र भन्नु भाथ्यो – यो तात्कालिक समस्या समाधान गर्न मात्रै ल्याईएको विधेयक हो ।

मूलुक संघीयतामा गईसकेपछि एकिकृत शिक्षा ऐन ल्याउँछौ भनेर उहाँले भन्नु भाथ्यो । यी सबै कुरालाई तत्काल लागू गर्न शिक्षा नियमावली ल्याउँछु भन्नु भाथ्यो ।

आज १४ महिना वित्दा पनि नियमावली आएन । यसले १ लाख ७ हजार शिक्षक दरबन्दी मध्ये झण्डै २६ हजार नयाँ दरबन्दीमा स्थायी शिक्षक भर्ना गरेर शिक्षक ब्यवस्थापन गर्न सकिन्थ्यो । त्यो हामीले गर्न सकेनौं । यसैबाट पनि देखिन्छ सरकार कति निर्लज्ज, कति बेईमान र अर्कमण्य छ भन्ने कुरा ।

यसले त्यति मात्रै समस्या ल्याएको हैन, अस्थायी शिक्षकहरुले आन्दोलन गरे । त्यो आन्दोलनलाई सम्बोधन गर्न भनेर सरकारले गएको असार ९ गते गम्भिर सम्झौता गरेको छ । त्यो सम्झौता अनुसार शिक्षा ऐनमा फेरी नवौं संशोधन गरेर अर्को ब्यवस्था गर्ने भन्यो । शायद उसले त्यही प्राविधिक  समस्या बुझेर होला त्यो ऐन संशोधन गर्न सक्ने ठाउँमा सरकार गएन । त्यसमा सरकारको गम्भिर कमजोरी थियो । त्यसकारणले आफ्नो कमजोरीलाई र अर्कमण्यतालाई ढाकछोप गर्नको निम्ति आगामी भाद्र ३ गते तोकिएको शिक्षक सेवा आयोगको परीक्षा सार्ने प्रपञ्चमा सरकार जुटेको छ भनेर समाचारहरुमा आईरहेको छ ।

यदी यसो हो भने त्यो २६ हजार मध्ये १५ हजार अस्थायी शिक्षकको स्थायी गर्ने प्रकृया बन्द हुन्छ । आफ्नो अर्कमण्यता र कमजोरी ढाकछोप गर्न यस किसिमको बदनियतपूर्ण काम गर्न पाईदैंन । त्यसकारण सम्माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु । सभामुखबाट विशेष प्रकारको रुलिङ् होस् धन्यवाद ।

पूर्व शिक्षा मन्त्री समेत रहेका एमालेका सांसद तुलाधरद्धारा बुधबार संसदको विषेश समयमा ब्यक्त धारणा ।    

फाईल फोटो

प्रतिक्रिया