Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

भद्रकालीमा शिक्षकको अनसन, भक्तपुरमा आयोगको चटारो

मंगलबार, २४ साउन २०७४

काठमाडौं - अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले भदौ ३ गतेका लागि तोकेको परीक्षा स्थगित गर्न माग गर्दै भद्रकालीमा अस्थायी शिक्षकको अनसन जारी रहँदा आयोगमा भने प्रश्न पत्र छपाईको काम चलिरहेको छ । गाईजात्राको अवसरमा सार्वजनिक विदा भए पनि आयोगका अध्यक्ष ताना गौतम मंगलबार कार्यालयमै भेटिए । उनी आयोगको छापाखानामा प्रश्न पत्र छाप्ने कामको निरीक्षणमा ब्यस्त थिए ।

'परीक्षाको मिति नजिक आई सक्यो प्रश्न पत्र छाप्ने र उत्तर पुस्तिका प्याकिङ् गर्ने काम सक्नु छ, विदा भनेर बस्यो भने त कामै चौपट हुन्छ' उनले भने, 'अहिले छापिदैं गरेका प्रश्न र उत्तर पुस्तिका प्याकिङ् गर्ने काम यो हप्ता भित्र सक्छौं, साउनका बाँकी रहेका दिनमा सबै सामग्री परीक्षा केन्द्रमा पुगि सक्छन् ।'

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला स्थित परीक्षा समिति मार्फत् परीक्षाका अन्य आवश्यकीय काम पनि संग संगै अघि बढ्ने उनले बताए ।

'विभिन्न जिल्लाबाट परीक्षार्थीहरु परीक्षा केन्द्र सम्म आईसकेको सूचना पाएका छौं, कतिपय हिड्ने तरखरमा छन्' गौतमले भने ।

आयोगका अनुसार परीक्षा दिनेमा ०४९ अघि र ०४९ देखि ०६१ सम्म अस्थायी रुपमा कार्यरत शिक्षक माग गरे भन्दा न्यूनले आवेदन दिएका छन् । ०६१ देखि ०७२ सम्मको ४९ प्रतिशत कोटामा भने प्रतिष्पर्धा हुने भएको छ । आयोगका अनुसार सुविधा त्यागेर परीक्षा रोज्ने १५ हजार ६ सय ९७ मध्ये १० हजार ४ सय ३२ जनाले प्रावि, २ हजार ७ सय ९७ निमावि र २ हजार ४ सय ६८ जना माविका अस्थायी शिक्षक छन् ।

०४९ अघिको विज्ञापनमा प्रतिष्पर्धा गर्ने एक जना पनि नभएको आयोगले जनाएको छ । निमाविमा आवश्यक भन्दा कमले आवेदन दिएका छन् । २ हजार ८ सय ६० जना शिक्षक आवश्यक पर्नेमा २ हजार ७ सय ९८ जनाले मात्रै आवेदन दिएका छन् । त्यस्तै माविमा २ हजार ४९ जना आवश्यक पर्नेमा माग भन्दा ४ सय जना मात्रै बढीले आवेदन दिएका छन् ।

परीक्षाका लागि आयोगले आईतबार मात्रै देशभर ८५ केन्द्र निर्धारण गरेको थियो । हेर्नुहोस् परीक्षा केन्द्र

अनसनमा बसेका शिक्षकको अवस्था नाजुक

भक्तपुरमा आयोगले परीक्षाको तयारी तिब्र बनाईरहँदा भद्रकालिमा अनसन बसिरहेका शिक्षकद्वय किसुन यादव र बिष्णुहरि दनुवारको स्वास्थ्य स्थिति भने नाजुक बनिरहेको छ । आयोगले परीक्षा केन्द्र निर्धारण गरेर परीक्षाको तयारी जारी राख्दै गर्दा सुर्खेतका राम केसी भने शिक्षक आन्दोलन नरोकिने बताउँछन् ।

‘परीक्षाको स्थगन गरी ४ बुंदे सहमति कार्यान्वयनको माग गरिरहेका शिक्षकहरुलाई परीक्षा केन्द्र समेत तोकेर शिक्षक सेवा आयोगले आतंकित र आन्दोलनबाट विकेन्द्रीत गराउने हरकत गरेको छ,’ उनले भने, ‘नियमित र खुल्लातर्फको परीक्षा जस्तै ठानेर बिषयको गाम्भीर्यतालाई नबुझेर या बुझ पचाएर आयोगले जे जस्ता हरकत गरिरहेको छ हाम्रो लागि त्यो आपत्तिजनक छ, हाम्रो आन्दोलन जारी रहन्छ ।’

उनीसँगै भद्रकालीमा अनसन बसिरहेका थुप्रै शिक्षकमध्ये रामेछापका अर्का शिक्षक सरोज सत्याल पनि आयोगको उक्त कदमबाट सन्तुष्ट छैनन् । आयोग, मन्त्रालय, शिक्षक सेवा आयोगकै कारण सेवा आयोगले उक्त निर्णय गरेकोमा आक्रोसित हुँदै उनी भन्छन्, ‘अब हाम्रो सरोकार ४ बुंदे सहमति गर्ने मन्त्रालय, सरकार र पेशागत रुपले शिक्षक महासंघसँग हुनेछ, आफ्नो वाचा अनुसार ती निकायहरु गम्भिर बन्छन् या बन्दैनन्  हामी पनि हेर्छौं !’

अनसनमा बसेका शिक्षकलाई ढाडस दिएर आन्दोलनमा लागेका उनीहरुले कुनै पनि हालतमा भदौ ३ मा परीक्षा सम्भव नभएको बताए ।

‘यस्तो संकटपूर्ण तरिकाले शिक्षकहरुले न्याय प्राप्तिको लागि जीवन मरणको संघर्ष गरिराखेको क्षणमा परीक्षा चलाएर आयोगले ठूलो गल्ती गर्न लागेको छ ’ सोलुखुम्बुका शिक्षक कमला कार्कीले भनिन् । उनले आयोगको विज्ञापनबाट आधाभन्दा बढी शिक्षक छुटेको बताउँदै शिक्षकलाई नै छुटाएर आयोगले गर्ने परीक्षा सफल नहुने बताईन् ।

यस अघि अनसनमा बसेका अस्थायी शिक्षकसँग शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितीमा भएको ४ बुँदे सहमती आन्दोलनरत शिक्षकको यतिखेरको हतियार बनेको छ । गत असार ९ गते भएको उक्त सहमती सँगै शिक्षकहरुले आठ दिन देखि जारी अनसन तोडेका थिए ।

शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा अस्थायी शिक्षक, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबाट गठित वार्ताटोलीका बीच भएको उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरु फेरी अनसनमा बसेका हुन् ।

मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको वार्ताको क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको थियो । यसअघि परीक्षा वा सुविधा रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएको छ । उक्त सम्झौतमा भनिएको छ, ‘सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागि हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐन आठौ संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अनुसारका अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउने ।’ तर उक्त सहमतीमा भदौ ३ मा हुने परीक्षाका बारेमा केही उल्लेख गरिएको थिएन ।

अस्थायी शिक्षकलाई लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने उक्त सहमतिमा अर्थ मन्त्रालयले आपत्ति जनाएपछि यो समस्या थप पेचिलो बनेको हो ।  सहमती पश्चात शिक्षा मन्त्रालयले ऐन संशोधन गर्न अर्थ मन्त्रालयमा रायका लागि पठाइएको थियो । अस्थायी शिक्षकले परीक्षामा अनुतिर्ण भएपनि सविधा दिनु पर्ने प्रस्ताव अर्थ मन्त्रालयले ठाडै अस्वीकार गरे पछि अस्थायी शिक्षक अनसनमा र आयोग परीक्षाको तयारीमा जुटेका हुन् ।  

उक्त सहमतीसँगै सुविधा छाडेर परीक्षा रोजेका १५ हजार ६ सय ९७ जना अस्थायी शिक्षक परीक्षाको तयारी गर्ने किन नगर्ने भन्ने दोधारमा थिए । आयोगले केन्द्र निर्धारण गरेसँगै उनीहरुको दोधार भने अन्त्य भएको छ, तर अनसनरत शिक्षकको अवस्था चाँही जटिल बन्दै छ ।

प्रतिक्रिया