Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

सानै छु वढ्न देउ, बाल विवाह होइन पढ्न देउ

विहीबार, २६ साउन २०७४

काठमाडौं - मञ्चमा टाँगिएको ठूलो ब्यानरको छेउमा बनाईएको गोलो आकृतिको बिचमा विहेको झल्को दिने जग्गे छ । दुई वटा केराका थाम र ध्वजापताकाले रंगाईएको उक्त जग्गेको सामुन्ने बेहुला बेहुलीको चित्र बनाईएको छ । अनी त्यसको मुन्तिर लेखिएको छ - 'सानै छु वढ्न देउ, बाल विवाह होइन पढ्न देउ' !

उक्त आकृति भएको ब्यानरको ठिक मुन्तिर राष्ट्रपति विद्यादेवी भण्डारी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायतका व्यक्ति बसेका छन् ।

र, यो मञ्च हो बालविवाह विरुद्धको राष्ट्रिय अभियानको शुरुवात गर्ने औपचारिक कार्यक्रमको । बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियानको राष्ट्रपतिले औपचारिक उद्घाटन गरिन् ।  
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐनले विवाहको उमेर तोकेको र बालविवाह गर्नेलाई दण्ड सजायको व्यवस्था हुँदाहुँदै पनि बालविवाह हुने मुलुकहरुमा नेपाल अगाडि पर्नु दुःखको कुरा भएको भन्दै यसविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिईन् । बालविवाह मध्ये पनि बालिकाको विवाह बढी हुने गरेको र यसले बालिकाहरुको अधिकार हनन् हुने तर्फ सचेत रहन उनले सबैलाई आग्रह गरिन् ।

उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष शर्माले सामाजिक चेतनाको अभाव बालविवाह विरुद्धको कार्यका लागि चुनौती भएको बताए । कुरीति, कुसंस्कार अन्त्यका लागि कानुनसँगै समाज अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।

'चेतना बढाउने भनेको शिक्षाले नै हो' उनले भने 'यसका लागि मात्रृभाषामा प्रचार प्रसार गर्दा प्रभावकारी हुन्छ ।'

विभिन्न कानूनमा बालबालिकाको परिभाषा नै भिन्दा भिन्दै भएकाले पनि समस्या परेको उनले बताए । बालबालिका सम्बन्धि ऐन २०४८, कुनै पनि नागरिकले भोट हाल्न पाउने उमेर तथा जवरजस्ति करणी विरुद्धको ब्यवस्थामा बालबालिकाको परिभाषा नै फरक फरक भएको उनले  बताए । त्यसैले काानून निर्माण गर्दा यस अघि बनेको कानून के छ रु त्यसको सामञ्जस्यता कसरी गर्ने लगायतका कुरामा ध्यान दिन उनको सुझाव छ ।

कार्यक्रममा मन्त्री कोइरालाले बालविवाह बारेको सचेतनाको अवस्था बढ्दै गए पनि व्यवहारमै कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने बताईन् । कानुन हँुदाहँुदै पनि कार्यान्वयनको पाटो भने चुनौतिपूर्ण रहेको भन्दै उनले सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा पनि बालविवाह अन्त्य गर्ने विषय राखिएकाले त्यसलाई पुरा गर्न सबै जिम्मेवार हुनुपर्ने बताईन् । कानुन मन्त्री यज्ञ बहादुर थापाले नेपालको बालविवाहको अवस्थाले सम्पूर्ण नेपालीलाई संकोच बनाएको भन्दै मन, वचन र कर्मबाटै वालविवाह अन्त्यमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा बालविवाहका कारण आफूहरुले भोगेको पिडा र समस्याका बारेमा मोरङ् वैजनाथपुरका चन्दन ऋषिदेव र मकवानपुर हेटौंडाकी मनिषा लामाले  आफ्ना अनुभव सुनाएका थिए ।

बाल विवाह दर उच्च हुने विश्वका दश देशहरुमा नेपाल पनि पर्दछ । एसियामा वंगलादेश र भारत पछि नेपाल तेश्रो स्थानमा छ । नेपालमा एकतिहाईभन्दा बढीबालिकाहरु अर्थात् ३७ प्रतिशत बालिकाहरुले १८ बर्ष भन्दा पहिला र १० प्रतिशतले १५ बर्ष पहिले विहे गर्ने युनिसेफको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा बालिकाको पढाई विचमै रोकिने गरेको छ ।

नेपालले बालविवाहर्ला २०२० सालमै गैरकानूनी ठहर गरेपनि चेतना र शिक्षाको अभावले कुरीतिकै रुपमा यो समस्या विद्यमान रहेको छ । उक्त समस्यालाई निमूल पार्न तथा भएका कानून कार्यान्वयनमा सघाउ पुर्याउन उक्त अभियान शुरु गरिएको हो । वल्र्ड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय युवा परिषद नेपाल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को संयुक्त आयोजनामा उक्त अभियान शुरु गरिएको हो ।  उक्त अभियान ५ बर्ष अर्थात् सन् २०२१ सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया