Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

त्रिविका आंगिक क्याम्पसमा ताला, २ लाख विद्यार्थीको पठनपाठन ठप्प

शुक्रबार, २७ साउन २०७४

काठमाडौं - आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुको विद्यार्थीको पठन पाठन ठप्प भएको छ । आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै विगत तीन महिनादेखि आन्दोलनरत उनीहरुले त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका छन् । यसले गर्दा करिब २ लाख विद्यार्थीको पठनपाठन ठप्प भएको छ । गत वैशाख १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका उनीहरुले बिहीबार देखि तालाबन्दी गरेका हुन् ।

आंशिक प्राध्यापकहरु त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको गेट अगाडि अनसनमा पनि बसिरहेका छन् । अनसन बसेको पनि तीन हप्ता पुग्नै लाग्यो । तर पनि उनीहरुको मागमा त्रिवि र सरकारले चासो देखाएको छैन ।

लामो समयदेखि विश्वविद्यालयका विभिन्न आंगिक कलेजमा पठनपाठन गराउँदै आएको तर हालसम्म विश्वविद्यालयले करार प्रक्रियामा समेत सहभागी हुने वातवारण नबनाएको कारण आन्दोलनमा उत्रनु परेको बताउँदै आएका आंशिक प्राध्यापकहरुले राखेको माग तत्कालै समाधान गर्न नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल नेपाल लोकतान्त्रिक प्राध्यापक फोरमले माग गरेको छ ।

प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले आंशिक प्राध्यापकहरुले उठाइरहेको मागको सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताउँदै त्यसको बाधकको रुपमा रहेको दरबन्दीलाई सरकारले पूर्ति गर्नुपर्ने बताए ।
‘विश्वविद्यालयहरुमा दरबन्दी छैन, सो दरबन्दी सरकारले तत्कालै पठाइदिनुपर्छ, कति आंशिकलाई करार गर्न सक्छ त्यसको तथ्यांक निकाल्नुपर्छ र आंशिक प्राध्यापककको वर्क लोड हेरेर करार गर्ने प्रक्रियामा लग्नुपर्छ’ उनले भने ।

विभिन्न दलनिकट प्राध्यापक संगठनहरुले पनि आंशिक प्राध्यापकहरुको जायज मागप्रति आफ्नो संगठनको ऐक्यवद्धता रहेको जनाएका छन् ।

नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिनाले त्रिभूवन विश्वविद्यालयले स्पष्ट निर्णय गर्न नसक्दा समस्या बढेको आरोप लगाए । आंशिक प्राध्यापकका माग सम्बोधन नगरी हुन्न, त्रिवि प्रशासनले प्रत्येक क्याम्पस प्रमुखबाट क्लास लोडको तथ्यांक लिएर त्यही अनसुारको करारको कोटा पठाएर समस्या समाधान गर्नु जरुरी छ’ उनले भने ।

प्राध्यापक संगठनका पदाधिकारीहरुले विश्वविद्यालयले आंशिक राख्ने प्रक्रिया नै बन्द गर्नुपर्ने भए पनि त्यसो हुन नसक्दा समस्या अझ बल्झिएको बताएका छन् ।  विजय गच्छदार निकट नेपाल लोकतान्त्रिक प्राध्यापक फोरमका संयोजक पवन झाले आंशिक प्राध्यापकको समयसीमा र दक्षता, क्षमता हेरेर तिनीहरुको समस्या समाधान गर्नुपर्ने जनाए ।

आंशिक प्राध्यापक संघले विश्वविद्यालयमा कार्यरत केन्द्रीय विभाग तथा आंगिक क्यापसमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई बिनासर्त करार नियुक्त गर्नुपर्ने, भविष्यमा नीति बनाएर मात्र आंशिक प्राध्यापक नियुक्त गर्नुपर्ने, विश्वविद्यालयमा सेवा प्रवेशविन्दु सहायक प्राध्यापक बनाउने गरी त्रिवि सभाबाट भएको निर्णय खारेजीलगायतका माग राखी आन्दोलन गर्दै आएका छन् ।

फाईल फोटो

प्रतिक्रिया