Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

बाढी र पहिरो : सजग रहन शिक्षा मन्त्रालयको आग्रह, क्षती संकलन गर्न डेक्स स्थापनाको तयारी

आइतबार, २९ साउन २०७४

काठमाडौं - लगातारको बाढी र पहिरोले मुलुकभर जनधनको क्षती भएको छ । यस्तो बेला सजग र सुरक्षित रहन विद्यार्थी, शिक्षक र अभिभावकलाई शिक्षा मन्त्रालयले आग्रह गरेको छ । प्राकृतिक प्रकोप मान्छेको बशमा नभए पनि सुरक्षित कसरी रहने भन्ने कुरामा ध्यान दिन सकिने भएकोले सजग रहन शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी प्रसाद लम्सालले आग्रह गरेका छन् ।

'सबै भन्दा पहिले सुरक्षित रहनु पर्यो, क्षतीको बिवरण  के कस्तो छ भन्ने कुरा दोश्रो हो' एडुखबरसँग कुरा गर्दै लम्सालले भने, 'सुरक्षित रहने कुरा अरुले भन्नु र निर्देशन गर्नु सँग सम्बन्धित छैन, यो ब्यवहारिक पक्ष हो शैक्षिक संस्था, शिक्षक विद्यार्थी र अभिभावकले अवस्था हेरी सजग रहनु आवश्यक छ ।'

बाढी र पहिरोका कारण कतिपय जिल्लामा शैक्षिक संस्था सञ्चालन नै हुन नसक्ने अवस्था आएको छ । बाढी र पहिरोले पुर्याएको क्षतीको बिवरण भन्दा पनि पहिलो आवश्यकता उद्धार र राहत भएकोले जिल्ला स्थित दैवि प्रकोप उद्धार समिति त्यसमै कृयाशिल रहेकोले अहिले कहाँ के भयो भन्न नसकिने उनले बताए ।

'सबै भन्दा पहिले बाढीमा फसेकाहरुको उद्धार र उद्धार भएकाहरुलाई राहत उपलब्ध गराउनुमा केन्द्रित हुनु मानवीय आवश्यकता हो' लम्सालले भने, 'त्यो चरण सकिएपछि क्षतीको बिवरण संकलनको काम शुरु हुन्छ ।'

यसका लागि जिल्ला तहमा जिल्ला शिक्षा कार्यालय सकृय भईसकेको उनले बताए । सबै जिल्लाका बिवरण केन्द्रमा एकिकृत गर्न भने शिक्षा विभागमा छुट्टै डेक्स स्थापनाको तयारी भएको उनले बताए । विभागमा यस अघिनै रहेको विपद् ब्यवस्थापन शाखालाई नै अहिलेको क्षतीको विवरण संकलन गर्ने डेक्स बनाउने तयारी गरेको उनले बताए ।

शैक्षिक परामर्शको काम पनि गर्ने गरी विभागमा रहेको शैक्षिक परामर्श तथा विपद् ब्यवस्थापन शाखाले विवरण संकलनको काम गर्ने छ । तर यसमा थप जनशक्ति ब्यवस्थापन गर्ने मन्त्रालयको तयारी रहेको लम्सालले बताए ।

फाईल फोटो

प्रतिक्रिया