Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

बोल्न सकेनन् डा. केसी

सोमबार, ३० साउन २०७४

काठमाडौं ३० साउन / गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. गोविन्द केसी आइतबार आफूलाई भेट्न आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् ।

पौडेलसँग थोरै बोल्ने प्रयास गर्नासाथ उनको सास बढ्यो । मुटुको चाल एक्कासि प्रतिमिनेट दुई सयभन्दा बढी भयो । अनि उनी बोल्न सकेनन् । त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको जवाफ दिएका थिए । ‘उहाँ बसेर विस्तारै कुरा गर्न लाग्दासमेत मुटुको चाल १८० देखि २०० प्रतिमिनेटसम्म पुग्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू इञ्चार्ज डा. सुभास आचार्यले भने । एक्कासि मुटुको चाल घटबढ भएर नियन्त्रणमा नआए बेहोस वा मृत्युसमेत हुन सक्ने जोखिम रहेको डा. आचार्यले बताए । ‘उहाँ आफ्नो चेतना भएसम्म उपचार गर्न मान्नुहुन्न,’ डा. आचार्यले भने, ‘उहाँको चेतना नभएपछि हामीले उपचार गर्न खोजे पनि ढिलो हुन सक्छ, मुटुको चाल गडबड भएर बेहोस भएपछि उपचार गर्न खोजे पनि पूर्वअवस्थामा फर्काउन कठिन हुन सक्छ ।’

डा. केसीको स्वास्थ्य स्थिति यति नाजुक भए पनि अनशनको २१ औं दिन आइतबारसमेत सरकारसँग वार्ता हुन सकेन । चिकित्सा शिक्षा ऐन संशोधन विधेयकका प्रावधानमा सरकारसँग सहमति हुन नसकेकाले आइतबार वार्ता नै हुन नसकेको केसीका प्रतिनिधि डा. वाईपी सिंहले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया