Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

त्रिवि सभा : दुई मेडिकल कलेज खोल्ने निर्णय

सोमबार, ३० साउन २०७४

काठमाडौं ३० साउन /त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाले बर्दिबास र बुटवलमा आंगिक मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको त्रिवि सभाले दुई ठाउँमा मेडिकल कलेज खोल्ने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७३/७४ को नीति तथा बजेट वक्तव्यको प्रकरण २२४ मा महोत्तरीको बर्दिबास र रूपन्देहीको बुटवलमा त्रिविअन्तर्गत आंगिक मेडिकल कलेज स्थापना गर्ने’ उल्लेख छ । त्यसैअनुसार त्रिवि सभाले मेडिकल कलेज स्थापनाका लागि जग्गा, शिक्षक तथा कर्मचारीको दरबन्दी र बजेट उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा मेडिकल कलेज सञ्चालनका निम्ति ६ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । ‘त्रिविअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने सरकारको निर्णय हो,’ खनियाँले भने, ‘आवश्यकताअनुसार सरकारले जनशक्ति र स्रोत साधन त्रिविलाई दिएलगत्तै मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढ्नेछ । त्यसनिम्ति आइतबारको त्रिवि सभाले निर्णय गरेको छ ।’

त्रिवि सभाले चालु आवका निम्ति १९ अर्ब ३१ करोड ७ लाख ५८ हजार रुपैयाँ बजेट पारित गरेको छ । रजिस्ट्रार डिल्लीराम उप्रेतीले यो बजेटमा पुनर्निर्माण र उच्च शिक्षा सुधार परिमार्जनको बजेट समावेश नगरिएको बताए । कुल बजेटमध्ये नियमित कार्यक्रमतर्फ १० अर्ब ८२ करोड ५० लाख २२ हजार रहेको छ । ‘त्यसमध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट १ अर्ब ५६ करोड व्यहोरिनेछ र बाँकी ९ अर्ब २६ करोड ५० लाख २२ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान मागिनेछ,’ बजेट प्रस्तुत गर्दै उप्रेतीले भने ।

त्यस्तै, सभाले एमफिल, विद्यावारिधि शोध अनुसन्धाता विद्यार्थीले शोधनिर्देशकबाट सहयोग पाउन नसकेमा उजुरी दिन सक्ने प्रावधान अनुमोदन गरेको छ । ‘शोधार्थीले गाइडबाट सहयोग पाउन नसकेमा उजुरी गर्न सक्छ र त्यसबारे विश्वविद्यालयले छानबिन गर्नेछ,’ उपकुलपति खनियाँले भने, ‘त्यसैगरी शोधार्थीले स्रोत नखोली कसैको लेख, रचना सारेको पाइएमा विश्वविद्यालयमा उजुरी गर्न पाउने निर्णय भएको छ । र, त्यसको छानबिन हुनेछ ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले वर्तमान सरकार संविधानको सफल कार्यान्वयन गर्न तत्पर रहेको बताए । ‘संविधानको सफल कार्यान्वयन हाम्रो अनिवार्य आवश्यकता र उद्देश्य भएकाले यसप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्न हामी सबै क्रियाशील हुनुपर्दछ, जसका लागि म सबैमा विशेष आग्रह गर्दछु,’ देउवाले लिखित भाषणमा भनेका छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया