Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

भित्तेघडी र सिकाइ

सोमबार, ३० साउन २०७४

- सर कति मिलेट बाँकी छ ?

१० मिनेट

- कति रे सर ?

१० मिनेट

- आवै ! आमा मेरो त जम्मै छुट्ने भयो । म त फेल हुने भएँ सर !

ध्यानपुर्वक लेख नआत्तिकन लेख अलि छिटो लेख १ मिनेटमा संसार हल्लाउने कुरा लेख्न सकिन्छ, तिमीहरूसँग त झन् १० मिनेट छ ! १० मिनेट !!

- सर कति मिनत बाँकी होला ?

- सर समय कति भयो त ?

- घन्ती बज्न कति मिनेत बाँकी छ सर ?

- कति चाँडै घण्टी बज्यो त सर आज ?

एउटा शिक्षकले कक्षाकोठा, एकाइ परिक्षा  देखि वार्षिक परिक्षासम्म यी प्रश्नहरुको जवाफ दिइरहनु पर्ने रहेछ ।

मैले गएको वर्षभरी जवाफ दिइरहें । विद्यार्थीहरुले सोध्नु उनीहरूको धर्म हो । सोध्दछन् । तर मलाई मोवाइल हेर्दै प्रत्येक पटक समय यति छ । उति छ भनिरहन निकै झ्याउ लाग्यो । यस्को दृघकालिन समाधानको खोजि तिर लागें ।

सबैले आ आफ्नो हातमा घडी बाँधेर स्कुल आऊ यो वाक्य पनि मन भित्र नआएको होइन । यसो भनेर विद्यार्थीलाई अप्ठ्यारोमा पार्न मलाई उचित लागेन ।

खजाना हाम्रै कक्षामा

वार्षिक परीक्षा पछि मेरो दिमागमा एउटा आइडिया फुर्यो । गएको वैशाखमा मैले विद्यार्थी माझ उक्त आइडिया राखेपछि, विद्यार्थी निकै प्रफुल्ल र खुसीेका साथ सहमत भए
कक्षाकोठामा भित्तेघडी राख्ने !

यो हामी सबैको साझा सपना हुन गयो ।

घडी कसरी ल्याउने त ?

मैले सोधेपछि विद्यार्थीले प्रश्नको जवाफ अनेक ढंगले दिए ।

- रतन सरले किनेर दिने हा..हा

- होइन स्कुलले घडी दिनु पर्छ ।

- साहित्यिक क्लबले किन्नु पर्याे सर

केहीले

- कक्षा बैंकमा जम्मा भएको रकमले किन्ने भने । यी जवाफलाई मैले ह्वाइट बोर्डमा लेख्दै गएँ । अनि यी मध्ये फेरि एउटालाई विद्यार्थीलाई छान्न लगाएँ ।

सबैले 'कक्षा बैंक' मा जम्मा भएको रकमबाट किनौँ न भने ।

कक्षा ७ देखि १० सम्म गणित सिकाउन तथा बचत बानीको विकास गर्ने उदेश्यले हामीले कक्षा बैंक बनाएका छौँ । प्रत्येक बैंकमा विद्यार्थीले मासिक निश्चित रकम जम्मा गर्छन् । बैंकका आ आफ्नै निश्चित नियम छन् । साथै प्रत्येक महिनाको एक दिन नाफा नोक्सान मेलाबाट उठेको रकम पनि बैंकमै जम्मा गरिन्छ । जुन विद्यार्थीकै नेतृत्व तथा स्वामित्वमा सञ्चालित हुन्छ । भित्तेघडी बैंकको रुपियाँबाट किन्यो भने विद्यार्थीले अपनत्व महशुस गर्ने भए । साझा सम्पति, सबैको लगानीमा भएको देखिने भयो । सायद सबैले यस्तै महशुस गरेर एउटै विन्दुमा पुगेका हुन् ।

कक्षा बैंक बाट भित्तेघडी ल्याउने विद्यार्थीको निर्णय मलाई पनि धेरै सान्दर्भिक लाग्यो । विद्यार्थीलाई निर्णय गर्ने उचित वातावरण दिन सक्यो भने सहि निर्णय लिन सक्ने रहेछन् । यो मेरो लागि पनि ठुलो सिकाइ बन्यो ।

भित्तेघडी कक्षा कोठामा

जेठ महिनाको सुरुमा मैले विद्यार्थीको निर्णय बमोजिम कक्षा १० लाई चापागाउँबाट घडी ल्याएँ । ह्वाइट बोर्डको ठिक माथि विद्यार्थीले झुण्याए । कक्षा १० मा घडीले ल्याएको उमंगको समाचार अरु कक्षासम्म पुग्यो । अरु कक्षाका विद्यार्थी पनि के कम ?

- हामी पनि हाम्रो कक्षा बैंकको रकमले घडी ल्याउने सर !

विद्यार्थी आग्रह गरेपछि जेठको अन्तिम हप्तामा ८ र ९ कक्षामा पनि भित्ते घडी घुम्न थाल्यो । घडीको माग तल्लो कक्षामा पनि विस्तारै सर्दै छ । दशै तिहारको आसपासमा लगभग सबै कक्षामा भित्तेघडी घुम्ने छन् ।

के सिकाउन सकिन्छ भित्तेघडीबाट ?

झट्ट हेर्दा घडीले समय देखाउने मात्र गर्छ । तर समय मात्र होइन भित्तेघडीबाट मूल्य, मान्यता समेत सिकाउन तथा आफैले सिक्न र व्यावहारिक हुन सकिन्छ ।

१. निरन्तरता

स्वस्थ घडी । ठिक ढंगले, बिना बिश्राम, नथाकि घुमिरहन्छ । र त सबैले सम्मान साथ घरको भित्ता वा आवश्यक ठाउँमा सजाएर राख्छन् । निरन्तर ठिकसँग ठिक काम गर्याे भने सबैले माया गर्छन् । सबैले मन पराउँछन् । नतिजा पनि राम्रै आउँछ ।

२.समानता र सम्मान

घडीमा अंकित अंकहरुलाई सुईहरुले समान ढंगले व्यवहार गर्छन् । कुनै अंकमा धेरै रोकिने । कुनैमा कम रोकिने । कुनैमा अडिने । कुनैमा नअडिने काम सुईहरुले गर्दैनन् । सबैलाई बराबर सम्मान गर्छन् । हामीले पनि जात, धर्म, लिङ्ग, क्षेत्र, समुदाय, वर्ग, जान्ने नजान्ने आदिका आधारमा भेदभाव नगरि घडीका सुइले अंकहरुलाई व्यवहार गरेझैं हाम्रो पनि आम मान्छेहरु प्रतिको व्यावहार सुइको झैँ हुनु पर्छ ।

३. सामुहिक कार्य

घडीका सुइहरुबिच मजाको टिमवर्क देखिन्छ । मिनेट सुइभन्दा घण्टा सुइ छिटो कुदँे के हुन्छ होला ? पक्कै पनि घडीलाई मान्छेले भित्तामा सजाउँदैनन् । स्वस्थ घडीबाट टिमवर्कको मान्यता विद्यार्थीलाई सिकाउन सकिन्छ । आफुले सिक्न सकिन्छ ।

४.जिम्मेवारी

प्रत्येक सुइले आफ्नो भुमिकालाई नबिर्सि काम गरिरहेका हुन्छन् र त घडीको महत्व छ । मनपरि होस् त कसैले मान्दैनन् । हरेक व्यक्ति विद्यार्थी, शिक्षक तथा अभिभावकले पनि आफ्नो भुमिकालाई नबिर्सि काम गर्न सके भने त्यसको परिणाम पनि गुणस्तरीय आउँछ ।
कम्तीमा घडी मार्फत यी कुराहरु निरन्तर विद्यार्थीलाई आवश्यक अवस्थामा भन्दै गयो भने पनि विद्यार्थीमा प्रेरणा जोगाउन सकिन्छ । जुन प्रयास हाम्रा कक्षाकोठाहरुमा भैरहेको छ ।

यसबाहेक विषयगत कुरासँग पनि घडीलाई जोड्न सकिन्छ । जस्तै :

गणित पढाउने क्रममा घडीको प्रसस्त उपयोग गर्न सकिन्छ ।

जोड, घटाउ, भाग तथा गुणन गर्न यसबाट मजाले सिकाउन सकिन्छ ।

रेखा र कोणको बारेमा पनि सुइ मार्फत सिकाउन सकिन्छ ।

वर्ग संख्या, बर्ग मुल, घन संख्या, घन मुल लगायत संख्या (अंक अंकित घडीबाट) सम्बन्धित कुराहरु विद्यार्थीलाई सिकाउन सकिन्छ ।

स्टाटरका रुपमा कक्षाको सुरुवात पनि गर्न सकिन्छ ।

गणित विषयको अलावा अरु विषय शिक्षणको क्रममा पनि उत्तिकै उपयोग गर्न सकिन्छ ।

फाईल फोटो

परिणाम के भयो ?

समयसँग सम्बन्धित विद्यार्थीको अलमल र शिक्षकसँग भरपर्नु पर्ने अवस्था अब रहेन । सबै प्रश्नको उत्तर भित्तेघडीले दिने गर्छ । विद्यार्थी समयप्रति बढि सजक भए । परीक्षा वा कक्षा समय भए पनि समय हेर्दै लेख्छन् । छिटो लेख्ने बानीको पनि विकास हुँदैछ ।

शिक्षक ढिलो आएमा, सर मिस आज त यति मिनेट ढिलो आउनु भयो भन्छन् ।

कक्षा अली लामो भयो भने सर, मिस समय यति, उति मिनेट गइसक्यो भन्छन् ।

शिक्षक र विद्यार्थी दुबैले एक अर्काको सकारात्मक  मुल्यांकन र सुधार गर्न भित्तेघडीले भुमिका खेलिरहेको छ । समय व्यवस्थापन गर्न सबैलाई थप सहज बनाएको छ ।

- म पहिला भन्दा आज भोलि छिटो लेख्न थालेको छु । घडी हेर्दै लेख्दा कति ? कसरी ? लेख्ने भन्ने कुरा थाहा हुने रहेछ । भित्तेघडीले टाइम म्यानेजमेण्ट गर्न सहयोग पुर्याएको छ - अमृत जिम्बा, कक्षा १०

- समयमै काम गर्ने बानीको विकास हुँदैछ । परिक्षामा कति समय रह्यो सोधिरहनु पर्थ्यो, डर लाग्थ्यो । अचेल घडी हेर्दै लेख्नु पर्छ । त्यति डर लाग्दैन - निङमा ब्लोन, कक्षा १०

- घडीबाट समयमै काम गर्ने कुरा बाहेक समुहमा काम गर्ने तथा सबैलाई समान व्यवहार गर्ने बानीको पनि विकास भइरहेको छ - गणेश मोक्तान, कक्षा ९

- घडीले गर्दा मलाई पनि कक्षामा आवश्यक कुरा निश्चित समयमा सिकाउन तथा तयार हुन थप सहज बनाएको छ - थुप्देन पाल्साङ जिम्बा, शिक्षक

- विद्यार्थीलाई तथा आफुलाई टाईम म्यानेजमेण्ट गर्न सजिलो भएको छ -  विशाल खाईजु, अंग्रेजी शिक्षक

मेरो सिकाइ

विद्यार्थी तथा अरु शिक्षक साथीहरूलाई सहज बनाएझैं मलाई पनि धेरै सजिलो बनाएको छ । गणित विषय पढाउँदा तथा मुल्य मान्यतालाई रिइन्फोस् गर्न मैले भित्तेघडीकै सहारा लिने गर्छु । विद्यार्थीलाई छिटो लेख्न तथा समयमै काम गराउन र आफुलाई पनि सचेत रहन भित्तेघडीले सहयोग पुर्याएको छ । विद्यार्थीको डरको तह कम गराउन तथा छिटो लेख्ने बानीको विकास गर्न घडीले सहयोग पुर्याएको विद्यार्थीको प्रतिक्रियाले ससाना कामबाट पनि धेरै सिकाउन र सिक्न सकिन्छ, सानो प्रयासले पनि विद्यार्थीको जिन्दगीमा ठुलो बदलाव् ल्याउन सहयोग पुर्याउने रहेछ । भन्ने कुरामा विश्वास बढेको छ ।

भित्तेघडीको धर्मलाई हरेक व्यक्तिले आत्मसात गर्न सक्यो भने सफल मात्रै होइन हरेक व्यक्ति असल बन्न सक्छ ।

सुरु त फेरि कक्षाकोठाबाटै गर्नु पर्ने रहेछ ।

(देवकोटा सामुदायिक विद्यालयको सिकाइ सुधार अभियानमा कृयाशिल संस्था टिच फर नेपालका फेलो हुन् । उनी चण्डेश्वरी माध्यमिक विद्यालय, प्युटार, ललितपुरमा गणित विषय पढाउँछन् ।)

फोटो :  गुगल

प्रतिक्रिया