Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

विद्यार्थी संगठन उद्धार र राहतमा, जनप्रतिनिधि सहित कर्मचारीलाई तलब उपलब्ध गराउन अपिल

सोमबार, ३० साउन २०७४

काठमाडौं - विभिन्न दल निकट विद्यार्थी संगठनहरु राहत र उद्धारमा जुट्ने भएका छन् । बाढी पहिरोबाट पिडित नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन प्रभावित २६ जिल्लामा सबै संगठनहरू संयुक्तरूपमा परिचालित हुने उनीहरुले निर्णय गरेका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले देशभर आएको प्राकृतिक विपत्तिबारे गम्भीर छलफल गरि राहत कोष निर्माण गर्ने निर्णय समेत गरेका छन् ।

विद्यार्थी संगठनहरूको तर्फबाट तीन लाख पचास हजारको राहत कोष निर्माण गरिएको छ । विद्यार्थी सँगठनको बैठकले सांसद सहित स्थानीय सरकारका जनप्रतिनिधिलाई एक महिना तथा कर्मचारीलाई १ हप्ताको तलब नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउन अपिल गर्ने निर्णय समेत गरेको छ ।

'तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ' बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, 'विद्यार्थी संगठनको तर्फबाट गर्ने राहत संकलन तथा उद्धारको कामको संयोजन गर्न अनेरास्ववियुका अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय समन्वय समिति गठन गरिएको छ । जसमा सबै संगठनबाट १-१ जना रहने निर्णय गरियो ।'

प्रतिक्रिया