Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

दलगत प्रतिष्पर्धाबाट विद्यालय व्यवस्थापन समितिको चयन

मंगलबार, ३१ साउन २०७४

बागलुङ - दलगत प्रतिष्पर्धाका आधारमा भएको निर्वाचनबाट धवलागिरी वीरेन्द्र माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयन भएकाृ छ । समिति निर्माणका लागि मंगलबार भएको चुनावमा एमाले इतर कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

शिक्षा ऐनको पछिल्लो संशोधनले विद्यालयमा हुने दलीय राजनीतिलाई अन्त्य गर्ने कोशिश गरेको भए पनि चुनावले नै समिति चयन गरिएको छ ।

‘१२ पटकसम्म सर्वसम्मतको कोशिश गरियो’ चुनावबाट निर्वाचित सदस्य राजन शर्मा सापकोटाले भने, ‘विपक्षीलाई तिमीहरु सबै लिएर चलाऊ न त भन्दा पनि मानेनन् हामीलाई देऊ न त भन्दा पनि मानेनन्, त्यसैले चुनावै भयो ।’  सापकोटा यस अघि पनि व्यवस्थापन समितिमा पनि सदस्य रहेका थिए ।

१५१ मध्ये चुनावमा ११३ मत खसेको थियो । विजयी हुनुहरु मध्ये राजन शर्मा सापकोटाले ७३, दिपक सापकोटाले ७१, कमला शर्मा पौडेलले ६७, हुमा कुमारी पौडेलले ६३ मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिद्धन्द्धि मध्ये बैकुण्ठ सापकोटा, दीपक प्रसाद शर्मा सापकोटा र इन्दिरा आचार्यले ४० मत पाएका थिए भने हीरादेवी थापाले ४५ मत प्राप्त गरेकी थिइन् ।

कुनै समय धवलागिरी अंचलमा रात्रिकालीन कक्षा सञ्चालन गर्ने स्कुलका रुपमा चर्चित यो विद्यालयमा साधारण र प्राविधिकमा कृषि अन्र्तगत कक्षा ९ बाट पशुपालनको पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा शास्त्र संकाय रहेको विद्यालयमा शिक्षक कर्मचारीहरु गरेर २६ जना कार्यरत छन् ।

शिक्षा ऐनको आठौ संशोधनमा अभिभावकहरुले आफूहरु मध्येबाट छानेको २ महिला सहित चार जना, सम्बन्धित वडाको वडाध्यक्ष वा वडा समितिका सदस्यहरु मध्येबाट वडा समितिले मनोनयन गरेका एकजना सदस्य, विद्यालयका संस्थापक, चन्दादाता आदिबाट विद्यालय व्यवस्थापन समितिले मनोनयन गरेका एकजना महिला सहित दुई जना, शिक्षक प्रतिनिधि एक जना र प्रअ सदस्य सचिव गरी व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । राजनीतिक लुछाचुडीलाई कम गर्ने ऐनले समिति भित्रबाट अध्यक्ष चुन्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया