Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

फस्टाउँदै पुस्तक व्यवसाय

विहीबार, ०१ भदौ २०७४

काठमाडौ १ भदौ / ग्यालेक्सी पब्लिक स्कुलमा अध्ययनरत सुरवी जोशी राजधानीको भृकुटीमण्डपमा आयोजित पुस्तक मेलामा भेटिइन् । बुबा, आमा र बहिनीसँग मेलामा आएकी उनी अंग्रेजी लेखक रोबर्ट लुइस स्टेभेन्सनको ‘किड्न्याप' खोज्दै थिइन् । ‘स्कुलको पाठ्य पुस्तकमा कुनै स्टोरीको एउटामात्र च्याप्टर पढाइ हुन्छ, त्यसको पूरै पढ्न किताब खोजेकी हुँ', उनले अन्नपूर्णसँग भनिन् । उनले मेलामा ‘दी डायरी अफ यान्ने फ्र्यांक' पनि किन्ने बताइन्।

सुरवीका बुबाले बीपीको आत्मवृत्तान्त, झमक घिमिरेको जीवन काँडा कि फूल, रामलाल जोशीको ऐना र कृष्ण धरावासीको राधा किने । बहिनीका लागि तस्बिर भएको बाल साहित्य र पेन्टिङका पुस्तक किनिदिने सुरवीले बताइन् । उनले स्कुलबाट पनि पुस्तक ल्याएर पढ्ने गर्छिन् । ‘मेलामा आउँदा बजारमा आएका नयाँ बुकको बारेमा थाहा हुन्छ, मन परेको बुक भेटिए किन्न पाइन्छ', सुरवीले थपिन्, ‘यसैले पुस्तक मेलामा बुबा, ममीसँग आउने गर्छु।'

अंग्रेजी साहित्यमा मास्टर्स गरिरहेका धनकुटाका पवन पोखरेलले मेलामा राखिएका पुराना अंग्रेजी बुक ओल्टाइपल्टाइ हेरिरहेका थिए । साहित्य, थ्रिलर, सस्पेन्स बुक पढ्न मन पराउने उनी हरेक मेलामा आइरहने बताउँछन् । कारण हो, थुप्रै प्रकाशनका बुक एकै ठाउँमा भेटिन्छन् र किन्नका लागि धेरै अप्सन पनि हुन्छन् । उनीसँगै पढ्ने चार जना साथी पनि मेलामा आएका थिए, राम्रो बुक भेटिएमा किनेर लैजाने उनीहरूले बताए ।

निजी बैंकमा जागिरे काठमाडौंका अभिषेक वैद्य पनि छोरीसँग मेलामा पुस्तक छनोट गरिरहेको अवस्थामा भेटिए । हरेकजसो पुस्तक प्रदर्शनीमा आउने गरेको बताउने उनले ठूलो छोरीका लागि नोबेल, सानो छोरीका लागि पेन्टिङ पुस्तक र आफ्नो लागि दार्शनिक पुस्तक किन्ने बताए । ‘पुस्तक मेलामा रोजीरोजी पुस्तक किन्न पाइन्छ, यसले पढ्ने बानी पनि विकास गरिदिएको छ', उनी सुनाउँदै थिए, ‘छोरीलाई पुस्तक पढ्न उत्प्रेरित गर्नकै लागि मेलामा लिएर जाने गर्छु।'

‘पढ्नलाई प्रेरणा' नारासहित आयोजना गरिएको मेलामा सुरवी, पवन र अभिषेकमात्र होइन, थुप्रै पाठकको ठूलो भीड देखिन्छ । मेलामा ससाना नानी बाबुदेखि बूढापाकासम्म पुस्तक खोज्दै पुगिरहेका छन् । छोराछोरी बोकेर पुस्तक मेलामा पुगेका अविभावक प्रशस्तै देखिन्थे । मेलाभरि नै आगन्तुकको भीड लाग्यो । यस्तो लाग्थ्यो, केटाकेटी मोबाइल र कम्प्युटर छाडेर पुस्तक पढ्न सुरु गर्दै छन् । ठूलाबडा ज्ञान बढाउन पुस्तक पढ्न थालेका छन् । नेपालीमा पढ्ने संस्कृतिको विकास हुँदै गइरहेको छनक मेलाले दिन्थ्यो ।

स्वदेशी तथा विदेशी प्रकाशनका पुस्तक प्रर्दशनीमा राखिएको मेला अवलोकन गर्ने आगन्तुक अधिकांशको हातमा कुनै न कुनै पुस्तक देखिन्थ्यो । पुस्तक मेलाले नेपालीमा पढ्ने बानीको विकास गरिदिएको बताउँछन्, मन्डला बुक्सका मालिक माधव महर्जन । काठमाडौंमा पुस्तक मेलाको इतिहास दुई दशकभन्दा पुरानो छ । मोफसलनमा पनि पुस्तक मेला आयोजना हुन थालेका छन् । व्यवसायीले पुस्तक मेला आयोजना गरेरै भएपनि नेपालीमा पढ्ने संस्कृतिको विकास गर्न कस्सिएका छन् ।

‘पछिल्लो १० वर्षयता पुस्तक व्यवसायमा बढोत्तरी आइरहेको छ', विगत ५० वर्षदेखि पुस्तक व्यवसायमा संलग्न उनले अन्नपूर्णसँग भने, ‘मोबाइल, फेसबुक र गेममा झुन्डिने युवापुस्ता विस्तारै पुस्तकमा रमाउन थालेका छन्, बुद्धिजीवी पनि ज्ञानको दायरा फराकिलो बनाउन पुस्तक पढ्न थालेका छन् ।'

सुरुवाती समयमा नेपालमा प्रकाशन गृह थिएनन् । भारतको बनारसमा पुगेर पुस्तक छाप्नुपर्ने बाध्यता थियो । विद्यालय पनि निकै कम थिए, एकाध अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयका लागि भारतबाट पुस्तक झिकाइन्थ्यो । नेपाली साहित्यका पुस्तक पनि वनारसबाटै प्रकाशित गरिन्थ्यो । विस्तारै नेपालमा प्रकाशन गृह सञ्चालनमा आउन थाले । नेपाली कोर्स बुकमात्र होइन, अंग्रेजी कोर्स बुक पनि नेपालमै प्रकाशित हुन थाल्यो । अहिले प्रकाशन गृह ह्वात्तै बढेका छन्, प्रकाशनमा पनि ठूलो लगानी भइसकेको छ । पुस्तक व्यवसायमा सम्भवना देखेरै प्रकाशन गृह थपिँदै गइरहेको व्यवसायी बताउँछन् ।

नेपालमा कोर्स बुक, फिक्सन, ननफिक्सन, बालसाहित्यका पुस्तक बिक्री हुने गर्छन् । कोर्स बुकमा पनि विविधीकरण आइरहेको छ । यसले पुस्तक व्यवसायको दायरा पनि फराकिलो बनाइदिएको छ । नेपालमा वार्षिक कति पुस्तक बिक्री हुन्छ यकिन छैन । व्यवसायी वार्षिक करिब १५ अर्बबराबरको पुस्तक कारोबार हुने दाबी गर्छन् । नेपालमा स्वदेशी प्रकाशकमात्र होइन, विदेशी ठूला प्रकाशक (क्याम्ब्रिज, अक्सफोर्ड आदि) पनि बजार विस्तारमा कस्सिएका छन् । नेपालका लागि छुट्टै संस्करणसमेत छापिरहेको भेटिन्छ । एकता बुक्सका मालिक रामचन्द्र तिमोथीका अनुसार अहिले पनि कोर्स बुकमा ५० प्रतिशत हिस्सा विदेशी प्रकाशनले ओगटेका छन् । विदेशी प्रकाशनका साहित्यिक र गैरसाहित्यिक पुस्तक पनि उत्तिकै आउने गर्छन् ।

व्यवसायी महर्जनका अनुसार नेपालमा पुस्तक व्यवसाय २०४६ सालको परिवर्तन चम्किन थालेको हो । पञ्चायतकालसम्म मुलुकमा धेरै स्कुल÷कलेज थिएनन् । निजी लगानीमा विद्यालय (अंग्रेजी पढाइ हुने) खुल्न सुरु भएकै थिएन् । उच्चशिक्षा पढाइने एउटामात्र त्रिभुवन विश्वविद्यालय थियो । ‘४६ सालको परिवर्तनपपछि मुलुकमा ६÷७ वटा विश्वविद्यालय खुलिसके, निजी विद्यालय र कलेज पनि उत्तिकै खुल्दै गए', उनी भन्छन्, ‘यसले कोर्स बुकको बिक्री बढाउँदै लग्यो ।' हरेक विश्वविद्यालयका आआफ्नै पाठ्यक्रम विकास गरियो ।

विश्वविद्यालय एकअर्काका प्रतिस्पर्धी भएपछि उत्कृष्ट कोर्स डिजाइनमा प्रतिस्पर्धा भयो । निजी स्कुल र कलेजको संख्या बढ्दै गएपछि व्यवसाय पनि बढ्दै गएको प्रकाशक बताउँछन् । विद्यार्थीले पाठ्यपुस्तकसँगै रिफ्रेन्स बुक पनि खोज्न थालेका छन् । रिफ्रेन्स बुक अधिकांश विदेशी प्रकाशनका हुने गर्छन् । यसले पुस्तक व्यवसायमा सकरात्मक ‘ह्विम' ल्याइदिएको उनको बुझाइ छ ।

कोर्स बुकमात्र होइन, साहित्यिक पुस्तक लेखेर पनि बाँच्न सकिने भएको छ । पछिल्लो समय प्रकाशित चर्चित कृति यसका उदाहरण हुन् । आत्मकथा लेख्ने पनि संस्कृति पनि ह्वात्तै बढेको छ । यस्ता कृतिमा पाठकको पनि रुचि बढ्दै गइरहेको छ । मेला महोत्सव आयोजना गरी पुस्तक बिक्री बढाउन प्रकाशक लागिरहेका छन् । मेलामा लेखकसँग प्रत्यक्ष भेट गरी पुस्तकमा हस्ताक्षर गराएर किन्न पाइने हुँदा पनि पाठकबीच लोकप्रिय बनेको हो । प्रकाशक मात्र होइन, लेखक पनि आफ्नो पुस्तकको प्रमोशनमा दौडधुप गरिरहेका भेटिन्छन् । हांस्यकलाकार हरिवंश आचार्य आफ्नो पछिल्लो कृति ‘हरिबहादुर' प्रमोसनका लागि देश दौडाहामै निस्किए ।

महर्जनले मन्डला बुक्स सुरु गर्दा धेरै प्रकाशन थिएनन् । पुस्तक पढ्ने पनि धोरै हुन्थे । अहिले पाठक बढेका छन्, प्रकाशन गृह पनि उत्तिकै बढेका छन् । भृकुटीमण्डपमा चलेर बुधबार सकिएको पुस्तक मेलामा विभिन्न लेखकसमेत सहभागी थिए । लेखकको हस्ताक्षर गरिएको पुस्तक दिने उद्देश्यले उनीहरूलाई मेलामा सहभागी गराइएको हो ।

चर्चित लेखक उपस्थित प्रकाशकको स्टलमा दर्शकको पनि भीड देखिन्छ । मेलामा साना बाबु नानीदेखि बूढासम्म पुस्तक किनिरहेका थिए । ‘यो एक्काइसौं मेला हो, सुरुवातका वर्ष र अहिले धेरै परिवर्तन आइसकेको छ', महर्जनले भने, ‘सुरुका वर्ष पाठक नै आउँदैनथे, अहिले मेलामा आउने बढेका छन् ।' मेलाले लेखक, प्रकाशक र पाठकबीच अन्तक्र्रिया बढाइदिएको बताउँछन्, बुक आर्ट नेपालका संयोजक एवं साहित्यकार कार्तिकेय घिमिरे । ‘अहिले अभिभावक पनि छोराछोरीलाई अतिरिक्त पुस्तक पढाउन थालेका छन्, बालसाहित्य पनि पढाउनुपर्छ भन्ने चेतना बढ्दै छ', उनले भने, ‘पुस्तक पढ्ने चेतना बढ्दै जानु राम्रो हो ।

देशभर पुस्तकालय बढ्दै गएका छन् । रुम टू रिडका मात्र ३२ सय पुस्तकालय पुगेका छन् । पुस्तक किन्न नसक्ने पुस्तकालय धाउने गर्छन् ।' पुस्तकालय र मेलाले पढ्न प्रोत्साहित गरिरहेको छ, यसले पुस्तक व्यवसायको संख्या पनि बढाउँदै लगेको छ । २० वर्षअघि पुस्तक मेला सुरु हुँदा पढ्न सुरु गरेका पाठक अहिले म्याचुअर्ड पाठक भइसकेका छन् । प्रतिस्पर्धी विश्वमा नपढे पछि परिन्छ भन्ने भइसकेको छ । रिफ्रेन्स बुक धेरै खोजिन थालेको छ । ‘अहिलेको समयमा कोर्स बुकले मात्र पुग्दैन, ज्ञान बढाउन रिफ्रेन्स बुक पढ्नैपर्छ', महर्जनले भने, ‘रिफ्रेन्स बुकका लागि पनि मेला महत्ववपूर्ण बनेको छ ।'

सबै प्रकाशन एकै ठाउँमा पाइने भएकाले पनि स्कुल तथा कलेजका विद्यार्थीदेखि बुद्धिजीवी, नेतासम्म मेला धाउन थालेको उनको बुझाइ छ । पछिल्लो समय नेताले पनि ज्ञान बढाउन पुस्तक पढ्न थालेका छन् । अंग्रेजी पढाइ हुने विद्यालयले मानिसमा विदेशी प्रकाशनका अंग्रेजी बुक पढ्न सिकायो । ‘ओ लेभल', ‘ए लेभल'मा पनि विदेशी लेखकका पुस्तक पढाइ हुन्छन् । विश्वविद्यालयका रिफ्रेन्स बुक पनि विदेशी प्रकाशनकै हुने गर्छन् । जसकारण विदेशी लेखकका पुस्तक खोजीखोजी पढ्न थालिए । यसको उदाहरण गत वर्ष आयात गरिएको पुस्तकलाई लिन सकिन्छ ।

भन्सार विभागका अनुसार गत वर्षमात्र नेपालमा एक अर्ब ५८ करोड २६ लाख रुपैयाँबराबरको पुस्तक आयात गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्ष २०७२÷७३ मा एक अर्ब ८१ करोड ४१ लाख रुपैयाँको पुस्तक भित्रिएको थियो । नेपाली प्रकाशनले पनि अंग्रेजी बुक प्रकाशन गर्न थालेपछि विदेशी पुस्तकको आयात घटेको हो । नेपाली प्रकाशनका नेपाली बुकको बिक्री पनि ह्वात्तै बढेको छ ।

महर्जनका अनुसार प्लस टूदेखि ब्याचलर्ससम्मको कोर्स बुक बढी बिक्री हुन्छ । मास्टर्स लेभलमा रिफ्रेन्स बुक बढी बिक्री हुने गर्छन् । विदेशी प्रकाशनका अधिकांश बुक महँगा हुने गर्छन् । ‘हामी विदेशी प्रकाशनका बुक कसरी कम मूल्यमा ल्याउने भनेर लागिरहेका हुन्छौं', उनले भने, ‘सुलभ मूल्यमै विदेशी लेखकका बुक पढ्न पाउने वातावरण बनाइदिएका छौं ।'

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया