Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

बाढीपीडित बालबालिकालाई एसओएसको संरक्षण

शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं २ भदौ /एसओएस बालग्राम नेपालले बाढीपहिरोका कारण बाबुआमा गुमाएका बालबालिकाको तत्काल संरक्षण गर्ने भएको छ । पहाडी जिल्ला इलाम र तराईका बाँके, बर्दिया, सुनसरी, मोरङ, इटहरी, बारा, पर्सा, रौतहट, सिराहा, सर्लाही, महोत्तरीसहित ३० जिल्ला यतिखेर बाढीपहिरोको चपेटामा छन् ।

एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले बाढीपहिरो वा अन्य प्राकृतिक प्रकोपका कारण बाबुआमा गुमाएका बालबालिकालाई सम्बन्धित जिल्ला बाल कल्याण समितिको सिफारिसका आधारमा संरक्षणमा लिनका लागि निर्देशन जारी गरिएको जानकारी दिए ।

बाबुआमा गुमाएका बालबालिका संरक्षण, उचित लालनपालन, रेखदेख, स्याहार र उनीहरूलाई गुणस्तरीय शिक्षा दिँदै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालले गत सातादेखि आएको बाढीपहिरो प्रभावित ३० जिल्लाका बालबालिकाको लगत संकलन गरिरहेको छ । नेपालमा सो संस्थाले ४४ वर्षदेखि बालबालिकाका लागि काम गर्दै आएको छ ।

बिहीबारसम्म इटहरी–४ मा दुई बालबालिकाले मात्रै बाढीमा आफ्ना बाबुआमा गुमाएका छन् । उनीहरूलाई एसओएस बालग्राम इटहरीले शुक्रबारदेखि संरक्षणमा लिने राष्ट्रिय निर्देशक शर्माले जानकारी दिए । उनका अनुसार सानोठिमी, जोरपाटी, काभ्रे, रामबजार पोखरा र छोरेपाटन, चितवन, इटहरी, भरतपुर, लुम्बिनी, सुर्खेत र धनगढी गरी १० बालग्राम छन् । ती बालग्राममा रहेका घरमा बालबालिकालाई कुनै पनि समय संरक्षणमा लिन सकिनेछ ।

पीडित बालबालिकाका बाबुआमा नभएको हुनुपर्ने बालग्रामको नियमअनुसार मुलुकभर जहाँका भए पनि संरक्षण दिन सक्नेछ । बाढीपहिरोपीडित बालबालिकालाई तत्काल संरक्षणमा लिनसक्ने अधिकार एसओएस बालग्रामलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले दिएको हो ।

त्यस्तै, बाढीको चपेटामा परी सुनसरी, मोरङ र बर्दियामा चल–अचल सम्पत्ति गुमाएका परिवारको सर्वेक्षण गरी उनीहरूलाई बालग्रामका तर्फबाट दीर्घकालीन आयआर्जनका लागि एसओएस बालग्राम नेपालले छलफल चलाइराखेको शर्माले बताए ।

राजधानी दैनिकमा बलराम प्यासीले लेखेको खबर ।

प्रतिक्रिया