Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षक परीक्षा : संसदमा हुने छलफलको गतिले निर्धारण गर्ने

आइतबार, ०४ भदौ २०७४

काठमाडौं - बाजुरा ब्रम्हतोला स्थित पशुपति माविका अस्थायी शिक्षक रामबहादुर रावल आईतबार घर फर्कने योजनामा थिए । तर, अझै कति दिन महेन्द्रनगरको होटलमा बस्नु पर्ने हो कुनै भेउ पाएका छैनन् ।
भदौ ३ गतेका लागि तय भएको परीक्षा सके लगत्तै फर्कनु पर्ने अर्को वाध्यता पनि थियो – विद्यार्थीको पठन पाठन ।

मावि तहका अँग्रेजी शिक्षक रावल महेन्द्रनगर झर्दा विद्यालयमा बर्खे विदा थियो । एक मिहने विदा सकिएर विद्यालय शुरु भएको पनि १७ दिन वित्यो  । विचमा परेका ३ शनिबार मात्रै कटाउने हो भने पनि १४ दिन त विद्यार्थीको पढाई नै छुट्यो । तर कहिले फर्कने भन्ने अझै यकिन नुहँदा उनको मन भुटभुटिएको छ ।

'बर्खे विदा परेकाले परीक्षा तयारीलाई मौका मिलेको थियो, अब त बर्खे विदा मात्रै हैन आफ्नो विदा पनि सकिई सक्यो, विद्यार्थीको पढाई पनि खत्तम हुने भयो' एडुखबरसँग टेलिफोनमा उनले भने, 'परीक्षा राम्रो गरी सकौंला, अनी विद्यार्थीको पढाईमा अझै ध्यान दिउँला भन्ने योजना बनाएको थिएँ, अहिले त साथमा ल्याएको खर्च पनि सकिन लाग्यो र पो चिन्ता बढेको छ ।'

मेरो खर्च सकियो यसको हर्जाना आयोगले बेहोर्नु पर्छ ! 

अन्तिम समयमा आएर परीक्षा सार्दा आफूहरुलाई मानसिक, आर्थिक समस्या परेको भन्दै परीक्षा तयारीमा रहेका अस्थायी शिक्षक आफ्ना आक्रोश देखि अन्यौल सम्म पोखिरहेका छन् ।

परीक्षा गर्छु भन्ने लाष्टमा आएर नगर्ने ? यसले हामीलाई कस्तो समस्या परेको छ ? आयोगलाई हेक्का छ ? 

एडुखबरको कार्यालयमा फोन गर्ने अधिकाँश अस्थायी शिक्षक आयोगसँग आक्रोशित छन् ।

'यस अघि पनि परीक्षा दिन भन्दै झापा हिँडेका केटाकेटी उदयपुरबाटै फर्के' सोलुखुम्बु नेचाका पोकल शर्माले भने, '१० गते परीक्षा हुने हो भने कम्तिमा पनि बुधबार सम्म घरबाट हिँड्नु पर्छ, यस पटक पनि त्यसै गरी परीक्षा सर्यो भने के गर्ने ? पठाउने कि  नपठाउने की अन्यौल भयौं ।'

३ गतेको परीक्षाका लागि सुनसरीमा बसेर तयारी गरेका खोटाङ्का देवराज सापकोटा मात्रै हैन, एक पटक कञ्चनपुर पुगेर डढेल्धुरा फर्केका बझाङ्का प्रेमबहादुर बोहोरा पनि अन्योलमा छन् ।

अस्थायी शिक्षक ब्यवस्थापनका लागि भदौ ३ गते हुन लागेको परीक्षाको मिति आउन ४ दिन बाँकी रहँदा गत साउन ३१ गते शिक्षक सेवा आयोगले भदौ १० गतेका लागि परीक्षा सारेपछि उनीहरु मात्रै हैन परीक्षामा सहभागि हुन फारम भरेका १५ हजार परीक्षार्थी अन्यौलमा छन् ।

उनीहरुको एउटै प्रश्न छ – यस पटक भदौ १० गतेका लागि तोकिएको परीक्षा सर्छ की सर्दैन ?

यो प्रश्नको उत्तर हुन्छ / हुँदैनमा भन्न चाँही कठिन छ । किन भने फेल भए पनि सेवा सुविधाको माग सहित आन्दोलनरत अस्थायी शिक्षकलाई फकाउन शिक्षा मन्त्रालयले प्रतिष्पर्धाको दायरामा परीवर्तन गरी ऐन संशोधनको प्रकृया शुरु गरेको छ ।

गत शुक्रबार संसदमा दर्ता भएको उक्त संशोधन माथि पुरा गर्नु पर्ने आवश्यक प्रकृया र यस विषयमा संसदमा हुने छलफलको गति के कसरी अघि बढ्छ भन्ने कुराले यस पटकको परीक्षा सर्ने नसर्ने तय गर्ने छ ।

किन भने सार्वभौम संसदमा प्रवेश गरिसकेको विषय आयोगको क्षेत्र भन्दा माथिको हो । शुक्रबार दर्ता भएको उक्त संशोधन संसदीय अभ्यास अनुसार परिपक्व हुन ५ दिन लाग्ने छ । त्यस पछि सभामुखले आवश्यक तयारी सकेर कार्यसूचिमा प्रवेश गराएपछि संसदमा छलफल हुने छ । संशोधनका लागि सांसदलाई ७२ घण्टाको समय दिईने छ । उक्त समयमा प्राप्त संशोधन माथिको संशोधनमा सांसदहरुले छलफल गरेपछि मात्रै संसद बैठकमा उपस्थित सांसदहरुको बहुमतले उक्त संशोधन पारित गर्ने छ ।

सरसर्ति हेर्दा यो सबै प्रकृया भदौ १० अघि सकिने छाँट काँट देखिन्न ।  मन्त्रालयले तयार गरेको संशोधनले क्षमतावान शिक्षक कक्षामा जानबाट रोक्ने भन्दै तिव्र आलोचना भईरहेको छ । उक्त आलोचना संसदमा पनि पक्कै छिर्ने छ । जसले गर्दा यसको छलफल लम्बिन सक्ने सम्भावना प्रवल छ । 

आन्दोलनका कारण नभई बाढी पहिरोका कारण भदौ ३ गतेको परीक्षा सारेको भन्दै अन्तिम समयमा आएर परीक्षार्थीलाई अन्यौल पार्ने आफ्नो निर्णयको बचाउ गर्दै आएका आयोगका पदाधिकारीलाई यस पटक भने परीक्षा सार्न कुनै वहाना खोज्नु पर्ने छैन ।

तर आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा भदौ १० गतेको परीक्षा गर्न आवश्यक आन्तरिक तयारीमा आयोग जुटिरहेको बताउँछन् ।

'कानून भूतदर्शी हुँदैन, शिक्षा ऐनको आठौं संशोधनले गरेको ब्यवस्था अनुसार शुरु गरिसकेको प्रकृया हो, यसमा नवौं संशोधन नहुँदै यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर प्रकृया रोक्ने कुरा आउँदैन' उनले भने, 'आयोग आवश्यक कार्यमा जुटिरहेको छ ।'

अहिले सम्म सबै क्षेत्रमा आवश्यक परीक्षा सामग्री पुगिसकेको उनले बताए । कास्किमा त आयोगले प्रश्न पत्र समेत पुर्याईसकेको छ । अन्य क्षेत्रका प्रश्न पत्र तयार बनाएर राखिएको र एक दुई दिनमै पठाउने उनले बताए ।

प्रतिक्रिया