Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

‘कुमारीको घर’ लिएर भारत गए विद्यार्थी

बुधबार, २१ भदौ २०७४

भक्तपुर - भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भक्तपुरको झौखेलस्थित फुटब्राइट स्कुलले नेपालको प्रतिनिधित्व गरेको छ ।

विभिन्न ४० देशले सहभागिता जनाउने सो महोत्सवमा नेपालको तर्फबाट भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरुले प्रतिनीधित्व गरेका हुन् । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा छनोटमा परेपछि उडिसा जाने नाटकको टोलीलाई विद्यालयले बिदाइ कार्यक्रम गरेको छ ।

विशेषत ः जिवित देवीको रुपमा पुजिने कुमारीको मनोदशा र कुमारी भएपछि भोग्नुपर्ने विभिन्न समस्या र शिक्षाबाट समेत बञ्चित हुनुपर्ने विषयलाई केन्द्रबिन्दूमा राखी प्रभाकर न्यौपानेद्वारा लिखित र निर्देशित नाटक कुमारीको घर अन्तर्राष्ट्रिय स्तरमा छनोटमा परेको थियो । नाटकमा कक्षा ८ का प्रभात निरौला, रीया नापित, समीक्षा खनाल, सिम्रन थापा र कृतिका न्यौपानेको भूमिका रहेको छ ।

नाटकमा छात्र निरौलाले कुमारीको बुवाको भूमिका निभाएका छन् भने नाटकको मुख्य पात्र कुमारीको भूमिकामा छात्रा नापित रहेकी छन् । त्यस्तै छात्राहरु खनालले कुमारीको आमा, थापले कुमारीको मनोदशा बुझाउने पात्र र न्यौपाने भने धाइआमाको भूमिकामा देखिने छन् ।

नाटकमा संगीतको अभिभारा रमेश दाहाल र प्रकाश संयोजनको जिम्मेवारी प्रेम पौडेलले गर्ने छन् । बिदाइ कार्यक्रममा टोलीलाई विद्यालयले विद्यालयर नेपालको झण्डा तथा लाखेको मुकुण्डो उपहार दिएको थियो ।
सो अवसरमा चाँगुनारायण नगरपाकिा वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, भक्तपुर प्याब्सन अध्यक्ष श्रीकृष्ण केसी, चाँगुनारायण माविका प्रअ दधिराम गेलाल, विद्यालयका प्रिन्सिपल राजेशकुमार दाहाललगायतले टोलीलाई बधाई, शुभकामना व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया