Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा आयोग भंग गर्न सांसदको माग, भन्छन् - आयोगमा माफियाहरु !

शुक्रबार, २३ भदौ २०७४

काठमाडौं - शिक्षा मन्त्रीको अध्यक्षतामा गठित शिक्षा आयोगमा माफियाहरु संलग्न भएको आरोप लगाउँदै आयोग गठनप्रति सांसदहरुले आपत्ति ब्यक्त गरेका छन् । शुक्रबार बसेको संसद बैठकको विशेष समयमा बोल्दै सांसद लक्ष्मण राजवंशीले आयोगमा राखिएका सदस्यहरुको प्रकृतिलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

'आयोगमा माफियाको मात्रै प्रतिनिनिधित्व छ, यही हो राष्ट्रिय आयोग ?' प्रश्न गर्दै उनले भने, 'यो भन्दा शरम लाग्दो कुरा के हुन सक्छ ?'

शिक्षा मन्त्रालयले पार्टिहरुको अँश बण्डाको रुपमा आयोग गठन गरेर अनर्थ काम गरेको आरोप लगाउँदै उनले सरकारकै आयु एक महिना पनि बाँकी नरहँदा ५ महिने अवधिको आयोग बनाएर शिक्षा मन्त्रीले जाँदा जाँदै अर्को ५ छ महिना आफैं 'ढलिमलि' गर्ने योजना बनाएको आरोप पनि लगाए ।

देश संघीयतामा गएको अवस्थामा हरेक प्रदेशले आफ्ना शिक्षा नीति नियम आफैं बनाउने अवसरलाई रोकेर आयोग गठन गरिएको उनको आरोप छ  ।

'सात प्रदेशमा एउटै शिक्षा आयोग बनाएर हुन्छ ?' उनले प्रश्न गरे  'प्रदेशको प्रतिनिधित्व चाँहिदैन ?'

यो सबै शैक्षिक माफियाको प्रभावबाट काम भएको भन्दै उनले शिक्षा मन्त्रीलाई यो आयोग 'भंग' गर्न माग गर्दै प्रदेश र संघको आसन्न चुनाव पछि बन्ने सरकारलाई आयोग गठन गर्न दिन आग्रह पनि गरे ।

यसैगरी अर्का सांसद प्रेम सुवालले पनि सरकारले बनाएको शिक्षा आयोगमा शिक्षा सेवी छन् कि छैनन् भन्ने प्रश्न गर्दै आयोगमा माफियाहरुको प्रभाव परेको बताए । जनतालाई हवाला दिदैं उनले आयोग निर्माण पछि आएको यस्ता गुनासोलाई सम्बोधन गर्न पनि आग्रह गरे ।

'आयोगमा जनताले शिक्षा माफिया भएको गुनासो गरे' उनले भने 'यसको सार्वजनिक हुनु पर्यो । के भएको हो ?'

यो पनि पढ्नुहोस् : शिक्षा आयोग की भारदारी सभा ?

शिक्षा आयोगसंगै कार्यदल गठन, सदस्यहरुको नाम सार्वजनिक

प्रतिक्रिया