Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा आयोगको संरचनामै विमती, हुलले काम नगर्ने तर्क

विहीबार, २९ भदौ २०७४

काठमाडौं - उच्च स्तरीय शिक्षा आयोगको संरचनामा विमती जनाउँदै आयोगमा 'नाम भएका' शिक्षाविद्हरुले त्यहीँ भित्रबाट छुट्टै कार्यदल बनाएर काम गर्ने भए मात्रै आफूहरु सहभागी हुन सक्ने बताएका छन् ।
छरितो किसिमको आयोगको खाँचो भए पनि मन्त्रीले सबैलाइ भाग पुर्याउने जस्तो गरी आफू निकटका ब्यक्ति सहित विभिन्न दल र निजी शैक्षिक संस्थाका प्रतिनिधिको हुल राखेर आयोग गठन गरेपछि शिक्षाविद्हरुले आपत्ति जनाएका हुन् ।

आयोग गठन भएको एक साता पछि शुक्रबारका लागि तय भएको पहिलो बैठकमा उनीहरुले आफ्नो उक्त तर्क पेश गर्ने तयारी गरेका छन् ।

आयोगमा नाम राख्नु अघि आफूसँग कुनै सल्लाह नगरिएको भन्दै प्रा. केदारभक्त माथेमाले शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँग आपत्ति समेत जनाएका छन् ।

आयोगले के कसरी काम गर्ने हो ? आयोगले दिने सुझाव कार्यान्वयनको ग्यारेण्टि के हो ? जस्ता प्रश्नको उत्तर फेला नपारेको भन्दै माथेमाले मन्त्रीलाई आयोगमा सहभागीहरुको नाम हेर्दा काम गर्न भन्दा पनि भाग पुर्याउन गठन भएको जस्तो लागेको बताएका छन् ।  

आयोगका बारेमा मन्त्रीसँग बुधबार छलफल भएको बताउँदै उनले यत्रो हुल राखेर काम हुन नसक्ने भन्दै छरितो टिम बनाएर काम गर्ने वातावरण बनाउने हो भने मात्रै के कसरी काम गर्ने भन्ने बारेमा सोच्न सकिने बताएको उल्लेख गरे ।

यस अघिका ३ जना शिक्षा मन्त्री क्रमशः चित्रलेखा यादव, गिरिराजमणी पोखरेल र धनिराम पौडेलले समेत आयोगमा बस्न आग्रह गर्दा माथेमाले राजनीतिक प्रभाव नहुने ग्यारेण्टि खोजेका थिए ।

यस पटक उनी विदेशमा भएको बेला शिक्षा मन्त्रालयले उनको समेत नाम राखेर आयोग गठन गरेको सार्वजनिक गरेको थियो ।

पढ्नुहोस् : शिक्षा आयोगसंगै कार्यदल गठन, सदस्यहरुको नाम सार्वजनिक

'शिक्षा आयोग देशका लागि खाँचो छ तर संधै म बस्दिन भन्ने वित्तिकै आयोगै नबन्ने भन्ने म्यासेज गयो' उनले भने 'अहिले पनि राजनीतिक प्रभाव नहुने अवस्था त देखिएन तर नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भने जस्तो भएको छ  ।'

आयोगमा रहेका नयाँ पुस्ताका शिक्षाविद्हरुको नामले आफूलाई उत्साही बनाएको बताउँदै उनले त्यहीँ भित्रबाट काम गर्ने गरी छुट्टै कार्यदल बनाउन सुझाव दिएको बताए ।

'भोलीको बैठकका बारेमा मलाई पनि भनिएको छ, तर म यस अघिनै तय भएको कामको शिलशिलामा काठमाडौं बाहिर जानु पर्ने छ' उनले भने, 'साँच्चै काम गर्ने मनसायले आयोग बनाएका हुन् भने त्यही अनुसार गर्लान् भन्ने आशा गरौं ।'

तर शिक्षा मन्त्रालय भने आयोगमा सहभागी अरु नाम छाडेर छुट्टै कार्यदल बनाउने मनसायमा देखिन्न ।

आयोगमा नाम आईसकेको अवस्थामा कुनै व्यक्तिलाई 'नाम मात्रको सदस्य' र केहीलाई 'कामको जिम्मेवारी' दिदाँ विभेद भएको भन्दै विरोध हुने अड्कल काटेर  मन्त्रालयले सबैलाई समेटेर 'थिमेटिक ग्रुप' बनाउने तयारी गरेको श्रोतले जनाएको छ ।

तर शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला यसलाई काम नगर्ने संकेतका रुपमा ब्याख्या गर्छन् । आफूलाई पनि नसोधि आयोगमा राखेको बताउँदै उनले आयोगमा भएका 'नामधरी' बाट 'कामधारी' मान्छे छुट्याउनु पर्ने बताए । राजनीतिक प्रभावबाट मन्त्री उम्कन नसक्दा आयोगको संरचना जम्बो बनेको उनको निस्कर्ष छ ।  

'आयोगमा रहेका पदेन सदस्य, राजनीतिक दलका प्रतिनिधि र मन्त्रीका पीए कसैले काम गर्ने हैनन्' उनले भने 'कार्यदल, कमिटि जे नाम राखे पनि भयो तर, खास काम गर्ने गरी ५–७ जनालाई जिम्मा दिने हो भने मात्रै बस्नुको औचित्य हुन्छ, नत्र हामी सडकका मान्छे सडकमै ठिक छौं ।'

शुक्रबारका लागि तय भएको बैठकले धेरै कुरा निक्र्यौल गर्ने भन्दै अर्का शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पहिलो बैठकले विधि तय गर्ने बताए ।

'आयोगले गर्ने कामको कुनै पनि विधि तय भएको छैन' उनले भने, 'आयोगले के कसरी काम गर्छ भन्ने कुरा भोली मात्रै तय हुन्छ ।'

गत भदौ १९ गते गठित आयोगमा रहेका सदस्यहरुको नाम बारे मन्त्रालयले भदौ २२ गते मात्रै सार्वजनिक गरेको थियो । आयोगको जम्बो संरचना र त्यहाँ भएको भागबण्डाका कारण गठन हुना साथ आलोचना हुँदै आएको छ ।

पढ्नुहोस् : आयोग मार्फत शिक्षामा निजीकरणको नीतिगत आक्रमण

शिक्षा आयोग की भारदारी सभा ?

शैक्षिक माफियाहरुको प्रभावमा आयोग गठन भएको भन्दै सांसदहरुले संसद बैठकमै  चर्को आलोचना गरेका थिए ।

पढ्नुहोस् : शिक्षा आयोग भंग गर्न सांसदको माग, भन्छन् - आयोगमा माफियाहरु !

अहिले शिक्षाविद्हरुको 'पर्ख र हेर' को अवस्थाले आयोगको पहिलो गासमै ढुङ्गा भएको छ ।

प्रतिक्रिया