Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षकले गरे नगरपालिकामा शिक्षा कार्यालयको माग

शुक्रबार, ३० भदौ २०७४

बाग्लुङ् - शिक्षा कार्यालयको एकाइ तत्काल सञ्चालन गर्न र शैक्षिक नीति तय गर्दा पक्षपात नगर्न आग्रह गर्दै नेपाल शिक्षक संगठन गल्कोट नगरसमितिले गल्कोट नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

सत्तारुढ माओवादी केन्द्र निकट शिक्षकहरुको संगठनले बुझाएको उक्त ज्ञापन पत्रमा  नगरपालिकाले शिक्षा क्षेत्रलाई बेवास्ता गरेको र पक्षधरता लिइएको आरोप पनि लगाइएको छ ।

‘कार्यालयमा शिक्षाको एकाई छैन, छलफल चलाउँदा पनि नगरपालिकाले एकपक्षीय रुपमा चलाउँछ’ अध्यक्ष चूडामणि शर्माले भने,‘चाडवाड मुखैमा आउँदा पनि शिक्षकहरुलाई तलब ख्वाउने छेक छन्दै छैन ।’ यसैले आफूहरुले ज्ञापनपत्र मार्फत् नगरपालिकाको ध्यानाकर्षण गरेको उनले बताए ।

ज्ञापनपत्रमा सामुदायिक विद्यालयका लागि वस्तुगत आधारमा बजेट विनियोजन गर्नुपर्ने, संस्थागत विद्यालयमा लगाइएको अवैज्ञानिक कर खारेज गर्नुपर्ने, शैक्षिक नीति निर्माण र कार्यान्वयनमा शिक्षक संगठनलाई प्रतिनिधित्व गराउनुपर्ने, नगरपालिकाले आफ्ना काम कारबाहीमा पारदर्शिता कायम गर्नुपर्ने माग समावेश गरिएको छ । ‘हामीले जायज मागहरु उठाएका छौं’ संगठनका सचिव हेमबहादुर बुढाथोकीले भने,‘तत्काल सम्बोधन नभएमा आन्दोलनमा उत्रिन्छौँ ।’

मेयर र उपमेयर कार्यालयमा नभएको र कुनै पनि जनप्रतिनिधिलाई निमित्त प्रमुख नदिएकाले संगठनले कार्यालयका सुब्बालाई ज्ञापन दिएर फर्किएको थियो ।

प्रतिक्रिया