Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

अस्थायी शिक्षकलाई खुला पत्र : हाम्रै कमजोरी होइन र ?

शुक्रबार, ०६ असोज २०७४

आदरणीय अस्थायी शिक्षक मित्रहरु !

शिक्षकको रुपमा लामो समयसम्म शिक्षण गराउँदै हजारौँ विद्यार्थीलाई गन्तव्यमा पुग्न प्रेरित गर्दै आउनु भएका यहाँहरु प्रति सबै भन्दा पहिला नमन अर्पण गर्न चाहन्छु ।

कुनै बेला म पनि यहाँहरु जस्तै अस्थायी शिक्षकको रुपमा कार्यरत शिक्षक हुँ । त्यसैले यो पीडा कस्तो हुन्छ भन्ने महसुस मैले पनि गरेको छु । खुला विज्ञापन नभएको अवस्थामा म पनि अस्थायी करार दरबन्दीमा रहने गरी शिक्षण सेवामा प्रवेश गरेको हुँ ।

म प्रवेश हुनु पूर्व देखि नै अस्थायी शिक्षकको हक र अधिकारका आन्दोलनहरू भइरहेकै थिए र म प्रवेश पछि पनि भइ नै रहे । स्वयं आफै अस्थायी शिक्षक भएर पनि म कहिल्यै अस्थायी शिक्षकको आन्दोलन प्रति सकरात्मक हुन सकिन । त्यसको लागि म हजुरहरूसँग क्षमाप्रार्थी छु ।

अस्थायी शिक्षकको आन्दोलन भइरहेकै बेलामा संयोगवश लामो समयको अन्तरालमा शिक्षक नियुक्तिका लागि खुला विज्ञापन भयो र सोही विज्ञापन बमोजिमको परीक्षामा सहभागी भइ स्थायी हुने अवसर पनि प्राप्त गरेँ ।

आदरणीय शिक्षक साथीहरू म यहाँ स्थायी शिक्षक भएँ वा हुँ भन्ने सुनाउन वा जनाउन यी कुरा गरिरहेको छैन ।

म स्थायी भएकोमा म मा कुनै दम्भ पनि छैन र हुनु पनि हुँदैन ।

फेरी मलाई शिक्षा प्रदान गरी आजको यो अवस्थामा पु¥याउने पनि यहाँहरु नै त हो !

यहाँहरूको त्यो खारिएको अनुभव र ज्ञानले दीक्षित हुँदा हुँदै पनि आज यहाँहरुकै विपक्षमा उभिएर यो सार्वजनिक पत्र लेख्दै छु ।

आदरणीय शिक्षक मित्रहरू !

यहाँहरुको माग अनुसार आज सरकारले शिक्षा ऐनको नवौं संशोधन गरेको छ । यसमा यहाँहरु अवश्य पनि खुसी हुनु भएको होला होइन र ?

कि हुनु हुन्न ?

पक्कै पनि सबै साथीहरू खुसी हुनु हुन्न होला । कति साथीहरूले त यस अगाडि भएको आन्तरिक परीक्षामा समावेश हुने भनी निकै राम्रो तयारी समेत गर्नु भएको थियो । परीक्षा अनिश्चित हुँदा उहाँहरुमा ठूलो वेचैनी सिर्जना भएको थियो र छ पनि । त्यस्तो अवस्था सिर्जना गर्ने हामी अस्थायी शिक्षक नै होइन र ?

कि वार कि पार हुनु राम्रो भन्दै शिक्षा ऐन आठौँ संशोधनको परिधि भित्र रहेर प्रकृया अघि बढेर समस्या समाधानको अन्तिम विन्दुमा पुगेको अवस्थालाई ब्रेक लगाउने काम यहाँहरुबाटै भएको होइन र ?

हो राज्यले अस्थायी शिक्षक माथि विभेद त अवश्य नै गरेकै छ तर राज्यले विभेद ग¥यो भन्दैमा हामी जस्तो शिक्षण पेसा गरी आदर्श र नैतिकताको पाठ सिकाउनेले पनि केही कुरामा त्याग गरी समस्याको गाँठो फुकाउनुको सट्टा हलो अड्काउनु उपयुक्त हो र ?

आदरणीय अस्थायी शिक्षक साथीहरू, छातीमा हात राखेर भनौँ त के हामी सबै आन्तरिक परीक्षाबाटै स्थायी हुने हो भने हामी भन्दा योग्य र सक्षम नयाँ ज्ञान भएकाहरू कसरी शिक्षण पेशामा प्रवेश गर्ने र हाम्रो शिक्षण पेशालाई कसरी विश्वसनीय मर्यादित बनाउने ? आफ्नै मनलाई नढाँटीकन भनौ त हजुर हामी आफैले पढाएका सिकाएका होनाहार विद्यार्थीले प्रतिस्पर्धा गर्न कहिले पाउने ? अरूको त कुरै छाडौँ हजुर हाम्रै सन्ततिले खुला प्रतिस्पर्धाबाट छानिएर आएका शिक्षकबाट सिक्ने अवसर कहिले प्राप्त गर्ने ?

आदरणीय शिक्षक साथीहरू  अस्थायी शिक्षकको समस्याको विषयलाई लिएर हामीले खाली राज्यलाई दोष लगएका छौं । तर मलाई राज्य मात्र दोषी छ जस्तो पनि लग्दैन । किनकि तत्काल नै तीन पटक सम्म खुला विज्ञापन त भएकै थियो । मलाई लाग्छ उक्त विज्ञापनमा नाम निकाल्ने अधिकांश शिक्षकहरू नै हुन् । अर्थात केही वर्ष कहीँ न कहीँ शिक्षण पेशा आँगालेका साथीहरू नै हुन् । त्यसैले गर्दा ती परीक्षमा नाम निकाल्न नसक्नु के हाम्रै कमजोरी होइन र ? हामीले आफ्नो कमजोरीलाई लुकाएर सधैँ समस्या मात्र उजागर गर्नु उपयुक्त हो र ?

फेरि २०६१ पछिका साथीहरूको लागि पहिला ४९ प्रतिशत आन्तरिकको व्यवस्था त थियो । अहिलेको संशोधनले ७५ पु¥याएकोमा अवश्य पनि उत्साहित त बनाएकै छ तर यो लागु होला त भन्ने प्रश्न पनि खडा भएको छ । किनभने हामी सय दुई सय जना शिक्षक एउटा त्रिपाल मुनी अनसन बसेको अवस्थाले बनाएको सहमति अनुसार नै यो ऐन आएकोमा दुई मत छैन । यदि लाखौँ शिक्षा सङ्काय पढेका लाइसेन्सधारी वेरोजगारी युवा सडकमा नै अनसन बसे भने के होला ? हाम्रा शासकहरू सहमति गर्न जति पनि सक्छन् भनेर भनी रहनु पर्छ र ?  

भुईंको टिप्छु भन्दा पोल्टाको खस्यो,  भन्ने उखान लागु हुने सम्भावना बढेको होइन र ? संसदमै पनि यसको विरोधमा आवाज उठेको छ । ढिलै सहि विद्यार्थी सङ्गठनहरूले आन्दोलनको घोषणा गरेका छन् । शिक्षित बुद्धिजीवीहरू विरोधका आवजहरू बुलन्द पारिरहेका छन् । जसले गर्दा यो नवौँ संशोधन कार्यान्वयन हुने सम्भावना निकै कम छ । राष्ट्रपतिबाट प्रमाणिकरण हुनु अघि नै पुनः संसदमा नै फर्काउनु पर्ने आवाज पनि उठ्न थालेको छ ।

तसर्थ आदरणीय शिक्षक साथीहरू !

यदि नवौँ संशोधन फेरि संसदमै फर्केर आएमा वा संशोधन माथि नै संशोधन दर्ता भएर ऐन पुनारावलोकन हुने अवस्था भएमा यहाँहरूले आठौँ संशोधनले प्रदान गरेको प्राप्त उपलब्धीलाई सहर्ष स्वीकार गरी जानु नै सबैभन्दा श्रेयस्कर हुने देखिन्छ । त्यसैमा सबको जीत हुनेछ ।

यदि मेरा यी विचारले आदरणीय शिक्षक साथीहरूको मनोभावनामा असर पुग्न गएमा क्षमा माग्दै विदा हुन्छु ।

धन्यवाद !

लम्साल दिपक मावि भिमाद ५ तनहुँका शिक्षक हुन् ।

प्रतिक्रिया