Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

शिक्षक हुनुजस्तो सजिलो अर्को काम छैन ?

सोमबार, १६ असोज २०७४

सिक्नु र सिकाउनु भन्नाले शिक्षक शिक्षिकाहरू सबैलाई थाहा भएकै कुरा हो । सामान्यतः सिक्नु भनेको नजानेको कुरा जान्नु, सिकाउनु भनेको नजानेका कुरा जान्न दिनु, थाहा पाउन लगाउनु कति सजिलो कुरा ! आमा बुबालाई पनि लाग्छ होला, शिक्षकले आफ्ना छोराछोरीहरूलाई खाली थाहा नभएका कुराहरू जान्न लगाउने मात्र हो, पुस्तकमा भएका कुराहरू पढ्न दिने, घरमा केही कामहरू गर्न र लेख्न लगाउने मात्र हो । यसैले मानिसहरू ठान्दछन्, शिक्षक हुनुजस्तो सजिलो अर्को काम छैन । जो पनि केही व्यवसाय गर्नुभन्दा शिक्षक हुन अग्रसर हुन्छन्, भैरहेका छन् । अन्य बढी आम्दानी हुने काम नपाएसम्म शिक्षक नै भई काम गरौं न त भनी शिक्षक हुन्छन् ।

यथार्थमा शिक्षक भई आफ्नो जिम्मेवारी पूरा गर्नु त्यति सजिलो छैन । जिम्मेवार शिक्षकले आफ्ना छात्रछात्राहरूको व्यक्तित्व विकासका लागि निकै मिहिनेतका साथ सहयोग पु¥याउनुपर्ने हुन्छ । दिनभरि विद्यालयमा बस्ने बालबालिकाहरूले आफ्ना पाठ्यपुस्तकमा भएका कुराहरू मात्र सिक्ने हैनन्, उनीहरूले विद्यालयको वातावरणअनुसार सामाजिक व्यवहार, सरसफाई, शारीरिक क्रियाकलाप तथा बानीव्यहोरा पनि सिकेका हुन्छन् । यस्तो भन्दाखेरि विद्यालयको वातावरण उपयुक्त किसिमको हुनु वाञ्छनीय हुन्छ ।

उपयुक्त वातावरण बनाउने कार्य प्रत्येक शिक्षकको जिम्मेवारी भित्र पर्दछ । विद्यालयको प्रशासन र व्यवस्थापन पक्षको मात्र काम हो भनी शिक्षकहरू पञ्छिन नपाइने रहेछ । शिक्षकहरूले आफूलाई दिइएको विषय अध्यापन मात्र गरेर विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न सम्भव हुँदैन । यस्तो शिक्षकहरूले व्यवस्थापन पक्षसँग मिलेर विद्यालयको वातावरण विद्यार्थीमैत्री, आनन्ददायी, स्वस्थकर, बनाउन प्रयत्नशील हुनु आवश्यक छ । वास्तवमा आफूले काम गर्ने थलो शान्त, आनन्ददायी एवम् सहज वातावरणको भएमा आफ्नो कामप्रति जाँगर बढ्छ र सन्तोष पनि प्राप्ति हुन्छ । यसको निम्ति विद्यालयमा दरिलो र इमान्दार शैक्षिक नेतृत्व, प्रजातान्त्रिक वातावरण, शिक्षकहरू बीच सद्भाव तथा सामूहिक भावना हुनु अपरिहार्य छ ।

 शिक्षकको मुख्य जिम्मेवारी त पढाउनु नै हो भन्ने मान्यता रहिआएको छ । हुन पनि शिक्षक भन्नु नै सिकाउने व्यक्ति, गुरु हो । गुरु भनेको पथप्रदर्शक, संरक्षक, सहजकर्ता एवम् निर्देशक हो । यसैले गुरुहरूलाई देवतुल्य मान्ने हाम्रो संस्कृति छ । तर विडम्बना आज हामी गुरु÷गुरुआमाहरूले हाम्रा विद्यालयहरू विद्यार्थीमैत्री बनाई उनीहरूके सर्वाङ्गीण विकास गर्न कतिको सहयोग पु¥याएका छौं, सोचनीय छ । के हाम्रो जिम्मेवारी भनेको कक्षाकोठामा गई दिएको समयावधी(घण्टा)भरि पढाउनुमात्र हो ?

विद्याथीहरूको प्रतिभा प्रस्फुटन गर्न सक्ने वातावरण सिर्जना गर्नु जिम्मेवारी हैन ? उनीहरूको कमीकमजोरी पहिल्याई निरन्तर, सरसल्लाह दिनु, शारीरिक र मानसिक विकास हुने क्रियाकलापमा संलग्न गराउनु, विद्यालय स्वस्थकर वातावरण निर्माण गर्नु पनि हामी शिक्षक शिक्षिकाहरूको कर्तव्यभित्र पर्दछ । यसो भन्दाखेरि हामी बीच यी प्रश्नहरू उठ्न नसक्ने हैनन्, ः के बालबालिकाको सम्पूर्ण जिम्मेवारी हाम्रो मात्र हो ? हामीलाई दिइएको घण्टीमा पाठ्यांश पूरा गर्ने काममात्र हैन र ? अझ हामीमध्ये निजी विद्यालयमा पढाउने शिक्षकहरूको त न पदको स्थायीत्व छ, न त पारिश्रमिक नै सार्वजनिक विद्यालय सरह छ । वहाँहरूले त अ¥हाएको काम मन नपराइकन पनि गर्न बाध्य हुनु भएको छ ।

यस्तो स्थितिमा शिक्षक आफै क्रियाशील र सिर्जनशील भई काम गर्ने सम्भावना कमै मात्र हुन्छ । यसर्थः शिक्षकहरूलाई आफ्नो जिम्मेवारी बोध गराउन उत्प्रेरित र प्रोत्साहित गर्ने वातावरण सिर्जना गर्न नितान्त आवश्यक छ । उपयुक्त तालिम÷अभिमूखीकरण, प्रलोभन दिने अवस्था सिर्जना गर्नु सरोकारवालाहरूको दायित्व हो ।

वैद्य त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका पूर्व डिन हुन् ।

प्रतिक्रिया