Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

जंगबहादुर विद्यालय पुगेर गुरुलाई दबाब दिइरहेछ !

शनिबार, २१ असोज २०७४

वि. सं २०२३ उदयपुर ठानागाउँ थामखकरमा जन्मिएका मातृका पोखरेल नेपाली साहित्यको सक्रिय नाम हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पोखरेलको सेतो दरबारको छेउबाट, यात्राको एउटा दृष्य, अनुहारहरु लगायत कवितासङ्ग्रह, सन्त्रस्त आँखाहरु, घाम झुल्किनुअघि (कथासङग्रह लगायतका कृतिहरु प्रकाशित छन् । उनैको एक कविता साताको शिक्षा साहित्यमा ।

 

यतिबेला कसैले नपढे हुन्छ

जंगबहादुर मरेको झुटो इतिहास ।

जंगबहादुर प्रत्येक अखबारहरुमार्फत्
टेलिभिजनमार्फत्
हाम्रा लागि प्रत्येक दिन आदेश जारी गरिरहेका छन् ।
प्रत्येक दिन हामी सबै
जंगबहादुरको आदेश छातीमा टाँगेर हिँडिरहेका छौं ।

आफ्नो प्रिय घोडा चढेर जंगबहादुर
सान सौगातका साथ उसैगरी आफ्नो सवारी चलाउँछन्
राजधानीका सडकहरुमा ।
जंगबहादुर सँगसँगै उही पुरानो घोडा पनि जीवित छ ।
बालबच्चा, बुढापाका सबैले देख्ने गरी
हिनहिनाउँदै कराउँछ पहिले जसरी ।

जंगबहादुर सवार घोडा
हाम्रा पुर्खाहरु कोपरेका दाँतहरु बोकेर
सान सौगातका साथ घुमिरहेको छ हाम्रो बस्तीमा ।
जंगबहादुरको घोडा जब हिनहिनाउँछ छातीको बस्ती कोपरेर
त्यसबेला देखिन्छ उसका तरुण दाँतहरु
उसका दाँतहरु देखेर बुढापाकाहरु आतंकित देखिन्छन् ।
दूध चुस्दै गरेका अवोध बच्चाहरु एक्कासी चिच्याउँछन्
युवतीहरु कोकोहोलो मच्चाउँदै रुन्छन्

पूरै बस्ती भयग्रस्त बन्छ ।

एउटा जंगबहादुर मरेको कथा
खुबै घोकेको थिएँ इतिहासमा मैले
परीक्षामा पास गर्न पनि घोकेको थिएँ ।
अहिले आफैलाई गलत लागिरहेछ, जंगबहादुर मरेको इतिहास
आफैले घोकेको एउटा झुटो इतिहास ।

हामी सबै जंगबहादुरबाट घेरिएका छौं
जताततै सडकमा
सरकारी कार्यालयहरुमा
नीति निर्माणका तहहरुमा
पार्टीको स्थायी समिति र पोलिटब्युरोहरुमा
कहाँ छैनन् जंगबहादुरहरु ?
जंगबहादुर मरेको झुटो इतिहास अझै बोकिरहेका छन् बच्चाहरु
विद्यालय र कलेजका विद्यार्थीहरु
पढाइरहेका छन् शिक्षक र प्राध्यापकहरु
स्वयम् जंगबहादुर विद्यालय पुगेर
विश्वविद्यालय पुगेर
हाम्रा गुरुहरुलाई अझै दबाब दिइरहेका छन् ।
र,
पढाउनु भनिरहेका छन् आफू मरेको झुटो इतिहास ।
दाँत पनि नझरेको तरुण जंगबहादुरलाई बोकेर
जंगबहादुरको तरुण घोडा
मेरो प्रिय पर्व गणतन्त्र दिवसलाई
टुँडिखेलबाट ठूल्ठूलो श्वरमा ललकारी रहन्छ
म यतिखेर सबैभन्दा खतरनाक सपना देखिरहेछु
एउटा दुर्ग फेरि बनाउनु छ
त्यहाँ उभिएर फेरि गर्नुछ, जंगबहादुरको मृत्यु घोषणा ।

यतिबेला कसैले नपढे हुन्छ
जंगबहादुर मरेको झुटो इतिहास ।
           ०००

 

प्रतिक्रिया