Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

मास्टरको मनोवाद

बुधबार, २५ असोज २०७४

काठमाडौं २५ असोज / मास्टर आज तनाबमा छ । संधै ऊ कलेजको गेटबाट छिर्नासाथ कलेजका सञ्चालकलाई नमस्ते गथ्र्यो । सञ्चालकले मुस्कानका साथ नमस्ते फर्काउँथ्यो । तर आज अचम्म भयो । सञ्चालकले फिका नमस्ते फर्कायो, मुस्कान बिनाको । उसको दिमागमा नानाथरी कुरा खेल्न थाले । छोराको स्कूलको बिल सम्झ्यो, घरबेटीलाई दिनुपर्ने भाडा सम्झ्यो । यो पालि दशैँमा बुढीलाई एकसरो कपडा किनिदिउँला भनेको थियो, त्यो सारीको रङ्ग फिकाफिका देख्न थाल्यो ।

केही वर्ष अगाडी उसले एउटा कलेजको जागिरलाई लात हानेको थियो । कारण थियो, नमस्ते गर्दा पनि नमस्ते नफर्काउने कलेज सञ्चालक  र उच्च शिक्षाको पढाइ र ज्ञानसम्म नभएको सञ्चालकले उसलाई पढाउने विधि सिकाउनु । अब भने उसलाई डर लाग्छ । परिवार छ, छोरा छ, त्यसमाथि काठमाडौँको महँगी । पढे लेखेर ठूलो मान्छे भइन्छ भन्थे, त्यसैले उसले खुरुखुरु डिग्रीसम्म पढेको थियो । तर, आजभोली ठूलो मान्छे बन्ने उसका सपनालाई दैनिक गुजाराले थिचेर पाताल पुर्याइदिइसके ।

स्कूल पढ्दा एकजना साथी थियो दिपेश । दिपेश पढनमा साहै्र  कमजोर थियो भने मास्टर सधै प्रथम । शिक्षकले दिपेशलाई सधै ‘तैले जिन्दगीमा केही गर्न सक्दैनस् भन्थे । त्यसैले पनि ऊ एस एल सी  जेनतेन पास गरेर दुबईको भिसा लगाएर पैसा कमाउन हानियो । मास्टरले डिग्री सकूञ्जेलसम्ममा उसको साथीले काठमाडौमा घर ठडाइदियो । अहिले मास्टर दिपेशको घरमा भाडामा बस्छ । माथिल्लो तलामा बस्ने दिपेशकोमा बज्ने हिन्दी आइटम गीतलाई मास्टरको बुढीको करकरले मिचिदिन्छ ।

नयाँ शैक्षिक सत्रमामास्टरको जागिर हुने नहुने कुनै ठेगान हुँदैन । कलेजले विद्यार्थी जम्मागर्न सके जागिर, नभए बायोडाटा बोकेर फेरि अर्को कलेजमा जागिरको लागि आबेदन । जिन्दगी अनिश्चित छ ,त्योभन्दा पनि बढी अनिश्चित छ मास्टरको जागिर । यस्तो भर नभएको जागिर छाडेर अरु केही गरौँ भन्ने नसोचेको पनि होइन । तर सानैदेखि ठूलो मान्छे बनाउने धुनमा बाआमाले पढाइबाहेक अरू दायाँबायाँ गर्न दिएनन् । त्यसैले आउने भनेकै पढन लेख्न मात्र हो ।

विदेशबाट बिदा मनाउनआउने साथीहरूको तामझाम हेर्दा विदेश हानिऊँ भन्ने मनमा नआएको पनि होइन । तर विदेश जान दिने जिआरइको जाँचको लागि पढ्ने समयमा होम टूयुसन पढाउन पाएन भने गुजारा चलाउनै गाह्रो । कलेजको तलब कहिले आउने ठेगान हँुदैन । तलबको आसमा रगड्दारगड्दा खुइलिएको एटिएम र सधैं हतारमा खोल्ने लाउने गर्नाले हेल्मेटसँग रगडिँदा खुइलिएको तालु – मास्टरका चिनारी । तलबको लागि यति कुर्नुपर्छ कि १० वर्ष अगाडि पढेका कुराहरू याद आउँछन् तर एटिएमको पासवोर्ड बिर्सन्छ । त्यो तलब आउँदासम्म साथीभाइसँग लिएका हजार दुईहजार सापटी तिर्नमा ठिक्क हुन्छ ।

साथीभाइहरू सँगै बसौँ, पार्टी गरौँ भन्छन् । एकपटक खान बस्यो भने महिना भरिको हिसाब बिग्रिन्छ । त्यसैले मास्टर प्रकाशकले दिने पार्टीको प्रतिक्षा गर्छ । दुईचार ओटा प्रकाशकले दिने पार्टीमा छादुन्जेल खान्छ र लगभग वर्षभरिको भाग पुरा गर्छ । मास्टर पार्टी सबैको खान्छ, तर विद्यार्थीलाई किताब भने राम्रो मात्र पढ्न लगाउँछ । उसका केही साथीहरू छन् जो इमान बेचेर भएपनि धेरै जाँड खुवाउने प्रकाशकका किताब लगाइदिन्छन् ।

कलेज कुनै कारखानाभन्दा कम लाग्दैनन् । विद्यार्थीहरूलाई केकालागि पढ्न आएको भन्ने थाहा हुँदैन न त कुनै किताब नै पढनुपर्ने ! माष्टरहरू आउँछन्, नोट लेखाउँछन् । कक्षाहरू सुरु हुने समयमा किनेका महँगा किताबहरूको सुगन्ध जस्ताकोतस्तै नै रहन्छ । परीक्षा दिने दिनसम्म सम्झन्छन् अनि अर्को दिन बिर्सन्छन् । कति पढाउने, कसरी पढाउने सबै पहिला नै तय हन्छ । केही वर्षको अध्यापनपछि सबै मास्टरहरू रोबोट जस्तै बन्छन् । पढ्न मन नलागि नलागी आएका विद्यार्थीहरूबाट कलेजले रिजल्ट खोज्छ । गालि गरौँ, नियमले दिँदैन गाली नगरौँ विद्यार्थी पढदैनन् । रिजल्ट राम्रो आए विद्यार्थीले पढेर, रिजल्ट बिगारे मास्टरले राम्रो नपढाएर । केही गरे पनि जस नपाउने । साँच्चैको दुई ढुङ्गाबीचको तरुलजस्तै छ मास्टरको जिन्दगी । दुनियाँका छोराछोरीको भविष्य बनाउन हिँडेको मास्टरका आफ्नै छोराछोरीको भविष्यको कुनै ठेगान छैन । बिहान हिँडेको मास्टर साँझ घर फर्किन्छ । थकित मास्टरले आफना सन्तानलाई पथप्रदर्शन गर्न सकेको छैन ।

अरू जागिरमा जति धेरै अनुभव त्यति धेरै सुबिधाहरू थपिँदै जान्छन् । यो जागिरमा भने ठाऊँ फेरिरहनुपर्ने हुनाले नयाँ ठाउँमा गएर नयाँमास्टर जस्तो बन्नुपर्ने । जतिनै वर्ष पढाएको किन नहोस्, विद्यार्थीका अगाडि नमुना कक्षा पढाउनैपर्ने । यहाँ विद्यार्थीको मुल्याङ्कन मास्टरले होइन, मास्टरको मुल्याङ्कन विद्यार्थीले गर्छन् । पढाउने काम गर्ने मान्छे भएकाले धेरै पढ्नुपर्छ जस्तो लाग्दो हो । तर मास्टरले किताब नपल्टाएको वर्षौं भइसक्यो । नेपालको परीक्षा प्रणाली यस्तो छ कि वर्ष फेरिन्छन्, विद्यार्थी फेरिन्छन् तर आउने प्रश्न सधंै उस्तै । त्यसैले पनि पढिरहनुपर्ने आवश्यकता नै पर्दैन ।

कलेजमा बौद्धिक बहस हुँदैनन् । मास्टरलाई पहिला कलेजमा गहन बहसहरू हुन्छन् जस्तो लाग्थ्यो । तर कलेजमा बौद्धिक बहसभन्दा बढी घर व्यवहार अनि आल्तुफाल्तु कुराहरू नै बढी हुन्छन् । साँच्चै भन्ने हो भने यो जागिर जिन्दगी कटाउने माध्यमबाहेक अरू केही बन्न सकेको छैन । तैपनि मार्करको कालो लागेका सर्टका बाहुला, एउटा रातो कलम, खुइलिएको तालु लिएर ज्ञान बाँड्न अनि सञ्चालकको मुखमा हाँसो ल्याएर आफ्नो परिवारमा खुसी ल्याउने प्रयासको निरन्तर यात्रामा छ एक मास्टर ।

शुक्रबारमा प्रकाश पाण्डेले लेखेको खबर ।

प्रतिक्रिया