Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

त्रिविको नक्कली प्रमाणपत्र बुझाउने शिक्षक विरुद्ध मुद्धा

बुधबार, २५ असोज २०७४

काठमाडौं - भारतका बिभिन्न विश्वविद्यालयबाट शैक्षिक योग्यताको झुटा बिवरण बुझाउनेहरुको खबर त फेला पर्दै आएकै थिए । तर यस पटक देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वबिद्यालयकै झुटा प्रमाणपत्र बुझाएका एक जना शिक्षक फेला परेका छन् !

नवलपरासीको रामग्राम स्थित जनता माध्यामिक विद्यालयमा निम्न माध्यामिक तहको शिक्षक पदमा कार्यरत अर्जुनकुमार गुप्ता तेलीले जागिर खाने प्रयोजनका लागि बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र झुटो फेला परेको हो । तेलीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बुटवल बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा बी.एड.उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए । उक्त प्रमाणपत्र झुटो रहेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविनका क्रममा उक्त तथ्य फेला परेको अख्तियारले जनाएको छ ।  तेली विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । 

अनुसन्धान तथा छानविन हुदाँ निजले उक्त पदमा नियुक्ति पाउने र सो हैसियतले लाभ तथा सुविधा पाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बुटवल बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा बी.एड. उत्तिर्ण गरेको झुठ्ठो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको हुदाँ निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ । अख्तियार द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ऐनको उक्त दफामा झुटा विवरण दिनेलाई हुने सजाय उल्लेख छ । यस्तो अवस्थामा कसुरको मात्रा हेरी छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार देखि बीस हजार रुपैयाँसम्म जरिबाना हुने ब्यवस्था छ ।

कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीन पुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटा विवरण दिएमा वा सो सम्बन्धी झुटा प्रमाणपत्र पेश गरेमा कसुरको मात्रा हेरी जरिवाना हुने ब्यवस्था छ ।

प्रतिक्रिया