Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

राष्ट्रिय पुस्तकालय बेहाल

विहीबार, २६ असोज २०७४

काठमाडौं २६ असोज / राष्ट्रिय पुस्तकालयका तीन सय वर्ष पुराना पुस्तक अढाइ वर्षदेखि बोरामै छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन ।

भूकम्पले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरू बोरामा कोचेर राखिएका थिए । भूकम्पबाट पुस्तक जोगिए । ती पुस्तक काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा सारिएको छ । मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरू छन् ।

दुई वर्षदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएका पुस्तकमा ढुसी लागेको छ । अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन् । भित्तातिरका पुस्तकमा धमिरा लागेको छ । बीच भागका २५ वटा स्टिल र्‍याकमा अटेसम्म किताब छन् । ‘यसरी थन्क्याएको २८ महिना भयो,’ कान्तिपुरको अनुरोधमा गोदामघर खोल्न पुगेका पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने, ‘पुस्तकलाई बोराबाट निकालेर र्‍याकमा राख्ने काम जारी छ । पुस्तक जोगाउन कपुर र बेगन राखेका छौं ।’ पुस्तकको नियमित रेखदेख गर्ने कर्मचारी भने नरहेको उनले जनाए । झ्यालबाट पानी पसेर किताब भिजेका छन् । कुनातिर धमिरासमेत लागेको छ । कतिपय पुस्तक तथा कागजातहरू धुजाधुजा अवस्थामा छन् । हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर र्‍याकमा राखिएको छ । पुस्तक राखेको सिमेन्ट प्लास्टर गरिएको भुइँ भिजेको अवस्थामा छ । 

रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा ती लगायत मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । भूकम्पबाट पुस्तकालय भवन ध्वस्त भए पनि किताब अहिलेसम्म जोगिएको प्रमुख मैनालीको दाबी छ । राष्ट्रिय पुस्तकालय तत्कालका निम्ति भाडाकै घरमा राखेर सञ्चालन गर्ने प्रस्ताव राख्दै आएको मैनालीले जनाए । ‘मन्त्रालयको ध्यानाकर्षण गराउँदै हैरान छौं,’ मैनालीले भने, ‘सरकार मातहतको जग्गा उपलब्ध गराउन पनि भन्दै आएका छौं । शिक्षामन्त्रीज्यूले राजधानीको जमलमा रहेको ठाउँ उपलब्ध हुनसक्ने आश्वासन दिनुभएको छ ।’ 

मैनालीका अनुसार राष्ट्रिय पुस्तकालयको बजेट चालू आर्थिक वर्षमा ९८ लाख रुपैयाँ छ । उक्त बजेटमध्ये ९० लाख रुपैयाँ कर्मचारीकै तलबमा खर्च हुन्छ । राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारीको दरबन्दी रहेमध्ये एक उपसचिव, चार अधिकृत, पाँच नासु, दुई खरिदारलगायत २१ जना कार्यरत छन् । गत वर्षको भूकम्पपछि पुस्तकालय अन्यत्र सारिए पनि कर्मचारी भने हरिहरभवन परिसरको तत्कालीन तबेला टहरामा बाल पुस्तकालय कक्षमा छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सेरियल नम्बर (आईएसएसएन) दिंदै आएको छ । अनलाइन सुचारु छ । नयाँ पुस्तक खरिद गर्ने गरिन्छ । सरकारले २०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरेर पुस्तक संकलन सुरु गरिएको थियो । उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो । 

थन्कियो यन्त्र

राष्ट्रिय पुस्तकालयले पुस्तकालय सुधारका निम्ति विगतमा जापान सहयोग नियोग (जाइका), युनेस्को, डानिडा प्रोजेक्टसित सहकार्य गरेको थियो । तर, अहिले त्यस्ता कुनै सहयोगी दाता रहेका छैनन् । पुस्तकालयको वेबसाइटसमेत अपडेट हुन सकिरहेको छैन । राष्ट्रिय पुस्तकालयका दुर्लभ, महत्त्वपूर्ण पुस्तक संरक्षणका निम्ति जापान सरकारले सन् २००१ मा माइक्रोग्राफिक यन्त्र प्रदान गरेको थियो । ती माइक्रोफिल्म क्यामरा, प्रोसेसिङ मेसिन, माइक्रोफिल्म रिडर, बाइन्डिङ इकुप्मेन्टलगायत यन्त्र निकम्मा अवस्थामा थन्किएका छन् ।

गणेश राईले कान्तिपुरमा लेखेको खबर् ।

प्रतिक्रिया