स्थानीय तहसँग समन्वय गरी कोटा यकिन गर्न जिशिकालाई पत्र


भक्तपुर - शिक्षा विभागले स्थानीय तहसँग समन्वय गरी कार्यक्रमको कोटा यकिन गर्न जिल्ला शिक्षा कार्यालयहरुलाई पत्र काटेको छ ।

आर्थिक वर्ष २०७४/७५का लागि विभागबाट जिल्ला शिक्षा कार्यालयलका लागि स्वीकृत भौतिक निर्माण तथा मर्मत सम्भार र सुधारका कार्यक्रमहरुमध्ये जिल्लालाई आवश्यक कोटा निर्धारण गर्न विभागले पत्र काटेको हो । त्यसका लागि विभागले जिल्लामा रहेका स्थानीय तहसँग समन्वय गर्न पनि भनेको छ ।

आर्थिक वर्ष २०७४/७५ को स्वीकृत कार्यक्रमअनुसार जिल्ला शिक्षा कार्यालयमार्फत् सञ्चालन हुने भौतिक सुविधा निर्माण कार्यक्रमका लागि असोज मसान्तसम्ममा विभागमा विद्यालयको नाम आउनु पर्नेमा नआएपछि विभागले पत्र काटेर निर्देशन दिएको हो ।

विभागको पत्रमा जिल्लामा खपत नहुने कार्यक्रमको कोटा निर्धारण गरी पठाउन भनिएको छ । जिल्लामा पुगेको पत्र अनुसार स्थानीय तहसँग समन्वय गरेपछि जिल्लामा भौतिक निर्माणअन्तर्गत आवश्यक कोटा निर्धारण हुने र पहिले माग भएका कार्यक्रममा कटौती भएको खण्डमा विभागलाई कार्यक्रम संशोधन गर्न सजिलो हुने भएको छ ।

सोही पत्रमा विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत भौतिक सुविधा निर्माण कार्यक्रमका लागि विद्यालय छनोट गर्न पनि जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

भौतिक निर्माण कार्यक्रमहरुअन्तर्गत ४ कोठे भवनसहित फर्निचर निर्माण, दुईकोठे नयाँ कक्षाकोठासहित फर्निचर निर्माण, विद्यालय मर्मत तथा सम्भार, छात्रा शौचालय निर्माण, घेराबार, शौचालय निर्माण, सरसफाइको सुविधासहितको विद्यालय भूकम्पीय सुरक्षा कार्यक्रम रहेको शिक्षा विभागले जनाएको छ ।