Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

‘दंग’ परे प्रअ र शिक्षक !

शुक्रबार, २७ असोज २०७४

भक्तपुर– ‘विद्यार्थीहरुले यसरी प्रस्तुति गर्लान् भन्ने सोचेकै थिइँन’, विद्यार्थीलाई नियमित पढाउँदै आएका भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ को पञ्चकन्या माविका प्रअ सन्तराम दुलालले सँगै बसेका वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छासँग कानेखुसी गरे । प्रअ धन्छाले पनि सहमति जनाउँदै टाउको हल्लाए । उनको ध्यान प्रअ दुलालको ‘कमेन्ट’मा भन्दा पनि विद्यार्थीले प्रस्तुत गरेको नाटकमा थियो ।
विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रमअन्तर्गत नृत्य, नाटक, गीति नाटक र गीत प्रस्तुत गरेका थिए । कार्यक्रम बासु माविले आयोजना गरेको थियो ।

विद्यार्थीको प्रस्तुतिका लागि बनाइएको मञ्चको पहिलो भागमा बसेर विद्यार्थीले गरेको प्रस्तुति हेरिरहेका विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुले विद्यार्थीको प्रस्तुति हेर्दै ताली बजाउँदै गरेका थिए ।

विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गराउन आयोजना गरेको कार्यक्रममा विद्यार्थीबाट त्यस किसिमको प्रस्तुति होला जस्तो नलागेको बताउँदै विद्यार्थीले धेरै मिहिनेत गरेको उनीहरुको भनाइ थियो ।

सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिमा आवद्ध भक्तपुरका १६ वटा विद्यालयहरुको सहभागिता रहेको सो कार्यक्रममा शारदा मावि, ज्योति मावि, दोलागिरी मावि, गणेश मावि सिपाडोल, समाजसुधार मावि, तारा मावि, गणेश मावि छालिङ, जोरपाटी मावि, गणेश मावि भार्वाचो, देवी मावि, भूवनेश्वरी मावि, चाँगुनारायण मावि, बासु मावि र वागीश्वरी माविका विद्यार्थीहरुले विभिन्न बोलका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै बासु माविका विद्यार्थीहरु, पञ्चकन्या माविका विद्यार्थीहरु, आदर्श आजाद माविका विद्यार्थीहरुले नाटक तथा गणेश मावि सिपाडोलका विद्यार्थीहरुले गिति नाटक प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले प्रस्तुत गरेको प्रतिभाबाट प्रअलगायत शिक्षक पनि दंग परेको सहभागी शिक्षकहरुले बताएका थिए । ‘सँधै पढाइरहेका विद्यार्थीहरुसँग पनि यस्तो प्रतिभा रहेछ भन्ने कुरा बल्ल थाहा भयो ।’ शिक्षकहरुको साझा प्रतिक्रिया छ ।

परीक्षा सञ्चालन बाहेक विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि समिति सक्रिय भएको बताउँदै सो कार्यक्रम आयोजक समितिका सभापति एवं बासु माविका प्रअ अम्बिका न्याइच्याईले विद्यार्थीलाई लोकनृत्य, देशप्रेमको भाव भएका गीतमा नृत्य प्रदर्शन गर्न लगाएर विद्यार्थीलाई अनुशासन सिकाउन कार्यक्रम आयोजना गरिएको बताइन् ।

सो अवसरमा परीक्षा समितिका अध्यक्ष कृष्णप्रसाद धन्छा भूवनेश्वरी माविका प्रअ केपी छुस्याकी, गणेश मावि छालिङका प्रअ इन्द्रबहादुर फोँजू, बासु माविका सहायक प्रअ लक्ष्मीभक्त लासिवालगायतले विद्यार्थीको प्रतिभाका प्रस्फुटन गराउन पढाइका अलावा अतिरिक्त क्रियाकलाप पनि गराउँदै जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया