Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

अनशनमै ‘बर्थ डे’

शनिबार, २८ असोज २०७४

काठमाडौं २८ असोज / चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै १३ औं पटक अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै गइरहेको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको एउटा बेडमा रहेका डा. केसीलाई अनशनको नवौं दिन शुक्रबार चिकित्साशास्त्रका विद्यार्थीले जन्म दिनको शुभकामना दिए । फूलमाला, बेलुन र केकसहित पुगेका विद्यार्थी र शुभेच्छुकसँगै केसीले ६१ औं जन्म दिन मनाए । 

डा. केसीका भाइले शुक्रबार उनको जन्म दिन रहेको बताएपछि त्यहाँ भएका चिकित्साशास्त्रका विद्यार्थी र शुभेच्छुक जम्मा भएका थिए । ‘सरले पनि जन्म दिन बिर्सनुभएको थियो, हामीले उहाँलाई शुभकामना दिँदा धेरै भावुक हुनुभयो,’ एमबीबीएसका विद्यार्थी विषद दाहालले भने । ‘मैले आफ्नो जन्म दिन बिर्सेको थिएँ, तपाईंहरूले सम्झाउनुभयो, धेरै धन्यवाद,’ डा. केसीले शुभकामना दिनेलाई भने, ‘जन्म दिन नेताज्यूहरूले नेपाली जनताको स्वास्थ्य स्थिति उकास्न सघाउने चिकित्सा शिक्षा ऐन उपहार दिन्छन् भन्ने लागेको थियो तर देश र जनताप्रति राजनीतिक दलले गद्दारी गरे, उनीहरू सर्वहारा वर्गको प्रतिनिधि नभएर सर्वहारा मारा हुन् ।’ उनले शनिबार माइतीघर मण्डलामा हुने खबरदारी प्रदर्शनमा सरिक हुन आहवान पनि गरे । 

वार्ता जारी 

सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच शुक्रबार वार्ता भएको छ । वार्तामा सबै बुँदामा छलफल भएको डा. केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले बताए । यसअन्तर्गत काठमाडौं विश्वविद्यालयका डिनलाई बोलाएर एमबीबीएसको शुल्क बढाइनुको कारणबारे सोध्ने सहमति भएको छ । यस्तै काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिवि पदाधिकारीबारे छानबिन गर्नेबारे पनि कुरा भएको छ ।

शिक्षा मन्त्रालयले सीटीईभीटीलाई सम्बन्धन किन र कसरी दिइएको हो भन्ने विस्तृत जानकारी पनि सीटीईभीटीसँग माग्ने छलफल भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सात प्रदेशका मेडिकल कलेजको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे समेत वास्तविक स्थिति पहिचान गर्ने डा. सिंहले बताए । उनले वार्ता शनिबारसमेत जारी रहने बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया