Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

नगर शिक्षा समिति गठनको माग

आइतबार, २९ असोज २०७४

काठमाडौं २९ असोज  / स्थानीय तहमा नगर शिक्षा समिति गठनलगायत अन्य १० बुँदे माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगर समितिले शुक्रबार ठाकुरबाबा नगरपालिका नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षक संगठन नगर समिति संयोजक कलमबहादुर शाहीले ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठलाई १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नगर शिक्षा समिति तत्काल गठन गरिनुपर्ने, न्यून विद्यार्थी संख्या रहेका विद्यालयलाई नजिकैको विद्यालयमा गाभ्नुपर्ने, समयानुकूल दरबन्दी मिलान गरिनुपर्ने, स्थानीय तह शिक्षा नियम तत्काल निर्माण गरिनुपर्ने, पीसीएफमा कार्यरत शिक्षकको सेवा सुविधाबारे तत्काल योजना बनाउनुपर्ने उल्लेख गरिएको छ ।

यसै गरी विद्यालयहरूको भौतिक तथा शैक्षिक क्षेत्रमा पर्याप्त ध्यान दिनुपर्ने, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि चुस्त अनुगमन, मूल्यांकन र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनुपर्ने, शैक्षिक संस्थाहरूलाई सुशासन, पारदर्शिता र ऐन कानुनभित्र राख्नुपर्ने, बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरूको उचित सुविधा तथा व्यवस्थापन आवश्यक पहल गरिनुपर्ने र ५ कक्षासम्मको शिक्षालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझदै नगरप्रमुख घननारायण श्रेष्ठले शिक्षकका मागहरूप्रति आफू सकारात्मक रहेको र यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको संगठनका नगर समिति सचिव वासुदेव भट्टराईले बताए ।

कार्यक्रममा शिक्षा शाखा अधिकृत सीता भण्डारी, स्रोत व्यक्ति नन्दराम अधिकारी, शिक्षक संगठन जिल्ला कमिटीका कोषाध्यक्ष नारायण अधिकारी, शिक्षक संगठन नगरकमिटीका पदाधिकारी र संगठनमा आबद्ध शिक्षकहरूको उपस्थिति रहेको थियो । ठाकुरबाबा नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया