Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

स्थानीय सरकारको भोगाइ : शिक्षकका कारण काम गर्न गाह्रो !

आइतबार, २९ असोज २०७४

काठमाडौं - बनेपा नगरपालिकाकी उपमेयर रेखा दाहाल उपमेयरमा चुनिनु तीस दिन अघिसम्म एक विद्यालयकी शिक्षिका थिइन् ।

बनेपा नगरपालिका वडा नं. २ चुनातलमा रहेको अरुणोदय प्राविकी शिक्षिका दाहालले आफू अध्यापनमा रहँदा सार्वजनिक विद्यालय बिग्रनुका एउटा कारणमा धेरैको मुखबाट सुनेको वाक्य हो, ‘शिक्षक राजनीतिमा लागेर स्कुल बिग्रियो ।’

राजनीतिमा लागेकै आधारमा विद्यार्थीलाई पढाउनै छोडी, हाजिर मात्र गर्ने अनि राजनीतिक कार्यक्रममा जाने, राजनीतिक दलमा भएकै भरमा प्रअ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाइै थर्काउने, बढी बिदा लिने, सुविधा बढी लिने स्वभाव र प्रकृतिका शिक्षकका कारण स्कुल बिग्रिएको उनले १० वर्षको शिक्षण अुनभवका क्रममा भोगिन् ।

त्यही कारण उनले निर्वाचनपूर्व प्रतिवद्धता गरिन् । ‘राजनीतिले शिक्षकलाई बिगार्यो, शिक्षकले स्कुल । यसैले स्कुल सुधार्न पहिला शिक्षकलाई सुधार्नुपर्छ, त्यो तरिका भनेको शिक्षकलाई राजनीतिक दलको सदस्य बन्नबाट रोक्ने ।’

नभन्दै उनले गरेको प्रतिवद्धता पूरा गर्न उपमेयरको जिम्मेवारी सम्हालेको ५ महिना बितिसकेको छ । उपमेयर भएको हैसियतले सार्वजनिक शिक्षा सुधारका उपायहरु अपनाउन, कमीकमजोरी घटाउने तरिका मध्ये ‘शिक्षकलाई प्रत्यक्ष रुपमा राजनीतिक दलमा आवद्ध नगराउने नीति नगरपालिकाले पनि बनाउने, त्यस्ता शिक्षकको खोजी गर्र्न, ती शिक्षकहरुमाथि निगरानी बढाउने’ नीति त बनाए तर त्यो नीति कागजमै सीमित छ ।

त्यस्तो हुनुमा अरु कारण नभएर स्वयम् शिक्षक नै रहेको उनको ठम्याइ छ । ‘विद्यार्थी कम भएका विद्यालयका शिक्षकलाई दरबन्दी नभएका विद्यालयमा सरुवा गर्न खोज्दा राजनीतिक दलनिकट शिक्षक संघसंगठनले नै अवरोध गरे, यस हिसाबले काम गर्न गाह्रो छ ।’ उनले भनिन् ।

उपमेयर दाहालको मात्र उक्त अनुभव नभएर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, ललितपुरको महालक्ष्मी नगरपालिकामा मेयर रामेश्वर श्रेष्ठ , पनौति नगरपालिकाका मेयर भीम न्यौपानेको पनि त्यस्तै तीतो अनुभव छ । उनीहरु पनि राजनीतिक दलमा आवद्ध शिक्षककै अवरोधका कारण आफूहरुले बनाएको योजना कार्यान्वयन गर्न समस्या भएको बताउँछन् ।

स्थानीय तहको निर्वाचनपछि स्थानीयले शिक्षामा व्यापक सुधार आउने अपेक्षा गरेका थिए । जनतासँगको भेटघाटको क्रममा सार्वजनिक शिक्षा बिग्रनुका कारणबारे सोधीखोजी गर्दा राजनीतिमा संलग्न भएकैले बिग्रेको बताएपछि शिक्षकलाई कसरी पेशागत रुपमा अघि बढाउन सकिन्छ ? भन्ने विषयमा आफूले छलफल गरेको महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठले बताउँदै राजनीतिमा लागेका शिक्षकलाई यताबाट उतासम्म गर्न नसकिने अवस्था रहेको बताए ।

पनौति र कागेश्वरी मनहरा नगरपालिकाका मेयरले शिक्षा क्षेत्र सुधारका लागि योजनाबाहेक शिक्षक व्यवस्थापन गर्न खोज्दा आफूहरुलाई पार्टीगत रुपमा पूर्वाग्रह राखी सरुवा गर्न खोजेको आरोप लागेको सुनाए । शिक्षाको अधिकार स्थानीय तहमा आएपनि शिक्षामा सुधार गर्न शिक्षक राजनीति नै चुनौति रहेको उनीहरुको अनुभव छ । ‘शिक्षा ऐन आठौं संशोधनले शिक्षकलाई राजनीतिक नेतृत्व गर्न बन्देज लगाएको छ यद्यपि, छद्म नामबाट पदासीन हुने चोर बाटो भने कायमै छ, यिनीहरुकै हालीमुहाली छ ।’ मेयरद्वयको भनाइ छ ।

अझै पनि पनौतिका केही विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेको बताउँदै मयेर न्यौपानले विद्यालय व्यवस्थापन समिति गठनमा पनि राजनीतिले गाँजेको बताए । उनीहरुले स्थानीय तहमा आएको शिक्षालाई राजनीतिले नै प्रभावित बनाइरहेको बताए ।

प्रतिक्रिया