Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

चिट चोरी गिरोहका थप ८ पक्राउ

सोमबार, ३० असोज २०७४

काठमाडौं ३० असोज / सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप ८ सदस्य पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो ।

शनिबार चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षाका निम्ति १७ परीक्षा केन्द्र तोकेको थियो । प्रहरीका अनुसार गिरोहका सदस्यले प्रविधिको प्रयोग गरी सेटिङमा चिट चोराउने काम अधिकांश केन्द्रमा गरेका थिए । प्रवेश परीक्षा पास गराइदिएबापत गिरोहका सदस्यलाई दुईदेखि पाँच लाखसम्म बुझाएको विद्यार्थीहरूले बताएका छन् । काठमाडौं प्रहरी परिसरले पक्राउ परेकामध्ये १० जनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । सौरभ कुमार, समीर कुमार झा, नवराज निरौला, देवेशकुमार झा, शैलेशकुमार झा, आशुतोषकुमार झा, अजय यादव, हिरेन्द्र शर्मा, मुकेश झा र सुविस देवमाथि मुद्दा चलाइने भएको छ । प्रहरीले डिभाइससहित पक्राउ परेका चार विद्यार्थीलाई भने जाहेरवाला बनाएको छ ।

यस्तै, पप्पु यादवका नाममा नक्कली विद्यार्थी बनेर जाँच दिइरहेका ज्ञानेन्द्र ठाकुर र उनलाई सहयोग गर्ने सञ्जयकुमार यादवलाई भने किर्तेको आरोपमा मुद्दा चलाइने भएको छ । काठमाडौं प्रहरी परिसरले सबैलाई पाँच दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने भएको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक उपकरण प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी शनिबार पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एकजनालाई तीनकुनेबाट पक्राउ गरेको हो ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया