Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

१९ नम्बर सार्वजनिक

सोमबार, ३० असोज २०७४

क्यानडा - अनमोलमणिको दोस्रो कथा संग्रह ‘१९ नम्बर’ सार्वजनिक गरिएको छ । एडुखबरका प्रधान सम्पादक समेत रहेका अनमोलमणि पौडेलको उक्त कथा संग्रह सामाजिक अगुवा तथा कथाकार गुरुप्रसाद मैनालीका नाति डा. अरविन्द मैनाली र लेखक यम घिमिरेले सोमबार अल्बर्टाको एडमण्टनमा आयोजित कार्यक्रममा संयुक्त रुपमा सार्वजनिक गरे । सांग्रिला बुक्सले छापेको संग्रहमा ९ वटा कथा छन् ।

१०९ औँ लक्ष्मी जयन्तिका अवसरमा नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे)र लिटरेरी क्लब अफ अल्बर्टाले आयोजना गरेको कार्यक्रममा डा. मैनालीले विदेशमा नेपाली भाषाको पुस्तक सार्वजनिक हुनु खुसीको कुरा भएको बताए । ‘क्यानडा आएको बीसौँ वर्षपछि किताब विमोचन गर्ने अवसर पाइएला भनेर मैले सोचेको थिइनँ’, उनले भने, ‘यसले हाम्रो भोलिको पुस्तालाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रतिको लगाव बढाउन सहयोग गर्ने छ भन्ने मलाई विश्वास छ ।’

पुस्तकबारे बोल्दै लेखक तथा समीक्षक घिमिरेले कथाले मान्छेका फरक परिवेश र अवस्थाको समवेदना समेटेको बताए । ‘कथामा हामी बाँचेको सामाजिक विसंगति र त्यसबाट सिर्जना भएका विभिन्न द्वन्द्व कलात्मक शैलीमा प्रस्तुत भएका छन्,’ उनले भने, ‘मध्यम वर्ग र उनीहरुको विदेश मोह, नारीमाथि हुने ज्यादती, माओवादी द्वन्द्व र त्यसले अपेक्षाहरुमा गरेको प्रहार, व्यक्तिको आप्रबासी बन्ने हुटहुटी लगायतका विषय उठाइएको छ ।’ उनले केही विषयवस्तु र भाषा शैलीमा परिमार्जन जरुरी रहेको, कति ठाउँमा कथाहरु विवरणात्मक भएको टिप्पणी गरे ।

कथाकार अनमोलमणिले प्रवासीवीच पुस्तकको चासोले आफु खुसी भएको बताउँदै पाठकका हरेक टिप्पणीप्रति सजग हुदै सिर्जनामा लाग्ने बताए । नेकासेका अध्यक्ष रामकृष्ण शर्माले समुदायलाई भाषा, साहित्य तथा संस्कृतिसित नजिक बनाउन नेपाली पुस्तकालय स्थापनाको तयारी थालेको जानकारी दिए ।

‘नेकासेले गरेको पुस्तक विमोचन त्यसकै सुरुवात हो । यहाँका स्रस्टा र पाठक दुवैको नेपाली साहित्य संस्कृतिप्रतिको लगावलाई निरन्तरता दिन हामी छिट्टै पुस्तकालय स्थापना गर्दैछौं । डिसेम्बर अन्त सम्ममा त्यसले मुर्त रुप लिने छ,’ उनले भने, ‘साहित्य र संस्कृति हाम्रो सम्पदा हो यसलाई जोगाउन हामी आफै अग्रसर हुनु जरुरी छ ।’

कार्यक्रममा गायक तथा संगीतकार इश्वर खत्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीत गाएका थिए भने १ दर्जन स्रष्टाले देवकोटाको सम्मानमा सिर्जना वाचन गरेका थिए ।

प्रतिक्रिया