Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

तरकारी खेती गर्दै पीएचडी

मंगलबार, ३१ असोज २०७४

काठमाडौं ३१ असोज /गुल्मी दरबार गाउँपालिका ३ राजाका लक्ष्मीकुमार भुसाल (५९) ले रोजगारीका क्रममा जीवनको ऊर्जाशील १५ वर्ष भारतको कानपुरमा बिताए । तर, सन्तुष्ट भएनन् । र, घर फर्केर गाउँकै कृषि सहकारीमा आबद्ध भए । कृषि क्षेत्रको अवलोकनका क्रममा पोखराका किसानहरूले टमाटर खेती गरेर लाखौँ कमाएको देखेपछि उनी दंग परे । र, त्यही प्रेरणाले टमाटर खेतीमा लाग्ने प्रण गरे । ‘गाउँमा खेती गरेर आम्दानी गर्न सकिन्छ’ भन्ने उनलाई शुरुमा विश्वास थिएन ।

तर, तिनै भुसाल अहिले तरकारी खेतीका अगुवा किसान बनेका छन् । पत्नी रूपाकुमारी (४९) ले गाउँकै नवदुर्गा कृषि सहकारीबाट ३० हजार रुपैयाँ ऋण लिइन र उनले २०६४ सालदेखि तम्घास–बुटवल सडकखण्डअन्तर्गत सडकछेउमै व्यावसायिक टमाटर खेती शुरु गरे । दुई छोरा र एक छोरीका पिता उनलाई छोराछोरी कसरी पढाउने भन्नेमै चिन्ता थियो । तर तरकारी खेतीबाट आम्दानी बढ्दै जान थालेपछि उनको चिन्ता दूर भयो ।

टमाटर खेती गरेरै कमाएको पैसाले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएर गाउँमै उदाहरणीय काम गरेका छन्, भुसाल दम्पतीले । जेठो छोरा प्रदीपले स्पेनमा होटल म्यानेजमेन्टमा पीएचडी गरेर उतै जागिरे छन् भने कान्छो छोरा प्रताप अस्ट्रेलियामा सूचना प्रविधि पढ्दै छन् । छोरी उषाले काठमाडौंमा पत्रकारिता विषयमा स्नातकोत्तर पूरा गरेर राजधानीमै पत्रकारिता पेसामा छिन् । उनी कृषि टेलिभिजनमा काम गर्छिन् । भुुुुसाल दम्पतीको दशवर्षे व्यावसायिक कृषि यात्राले अहिले परिवारमा खुसियाली छाएको छ ।

‘छोरा छोरीहरूलाई पढाउन लाखौंं खर्च भइसक्यो,’ रूपाले भनिन्, ‘लगानीअनुसार छोराछोरीले राम्रोसँग पढेपछि हामी यसैमा खुशी छौँ ।’ उनीहरूले चार वटा टनेल बनाएर लटरम्म टमाटर फलाएका छन् । ‘बजारको चिन्ता छैन,’ भुसाल दम्पती भन्छन्, ‘गाउँमै आएर लैजान्छन् । कहिलेकाहीँ तम्घास र बुटवल पनि पठाउँछौँ । गाडी लिएरै टमाटर किन्न आउँछन् ।’‘एक बोटबाट कम्तीमा दश किलो टमाटर फलाउने उनले बताए । भन्छन्, ‘बिरुवा लगाएको तीन महिनापछि उत्पादन शुरु हुने गर्छ ।’

उनीहरूले टमाटर खेतीसँगै तीन वटा जर्सी गाई पनि पालेका छन्, जसको गोबर टमाटर खेतीमा प्रयोग गर्ने गरेको दम्पती बताउँछन् । दूधबाट पनि आम्दानी भइरहेको छ । ‘सबै खर्च कटाएर वार्षिक चार लाख आम्दानी हुन्छ,’ लक्ष्मीले भने, ‘शरीरले साथ दिँदासम्म खेती गर्ने हो ।’ तरकारीकै आम्दानीबाट उनीहरूले चार रोपनी जग्गासमेत किनेका छन् ।जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले उनलाई मिहिनेती किसान घोषित गरी विभिन्न अनुदानसमेत दिने गरेका छन् । भारतको कानपुरमा वर्षौं बिताएको स्मरण गर्दै उनले मिहिनेत गर्न सके आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँछन्, उनी । चार रोपनी क्षेत्रफलमा टमाटर खेती गर्ने भुसाल दम्पती जिल्लामा व्यावसायिक तरकारी खेतीको नमुना जोडी बनेको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया