Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

‘तत्काल पुनः परीक्षा सञ्चालन हुँदैन’

मंगलबार, ३१ असोज २०७४

काठमाडौं ३१ असोज/ चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले अनुसन्धानको निष्कर्षका आधारमा पुनः परीक्षा सञ्चालन हुने अथवा नहुने टुंगोमा पुगिने बताएको छ।

गत शनिबार सञ्चालन भएको एमबीबीएस प्रवेश परीक्षामा अनियमितता गरेको भन्दै १० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। यस विषयमा आवश्यक छानविन भइरहेको प्रहरीले बताएको छ।

आईओएमका डीन प्राडा जगदीशप्रसाद अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले परीक्षालाई मर्यादित बनाउन परीक्षा हलमा प्रवेश गर्नुअघि शरीरदेखि गरगहनासमेत चेक गरेका थियौं। कलमसमेत लैजान दिएका थिएनौं। त्यही भएर प्रवेशपत्र भिडाउँदा ८ जना नक्कली परीक्षार्थी फेला पार्यौं। अहिले अनुसन्धान भइरहेको छ, हेरौं के हुन्छ।’ आईओएमले गत शनिबार काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसमा सञ्चालित प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको र केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत् चिट चोरेर परीक्षा दिएको पुष्टि भएको थियो। विद्यार्थीले उक्त परीक्षा रद्द गर्नुपर्ने माग गर्दै आएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थानले नतिजा मात्र रद्द गरेको छ।

परीक्षा चलिरहेको समयमा ८ जना नक्कली परीक्षार्थीलाई तत्कालै परीक्षा हलबाट निष्काशन गरिएको र ३ जना परीक्षार्थीको साथबाट इलेक्ट्रोनिक डिभाइस सेट भेटिएकाले सो बरामद डिभाइससहित ११ जनालाई अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको आईओएमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

पक्राउ पर्नेहरूमा गिरोहका नाइके समीर झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको हो। त्यस्तै, भारतीय नागरिकद्वय सुविश देव र सौरभ कुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ। पक्राउ परेकामध्ये नक्कली जाँच दिने, पैसा असुल्ने, बिचौलियाको काम गर्ने प्रकृतिका रहेको प्रहरीको दाबी छ।

अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार समीरकुमार झाको नेतृत्वमा प्रवेश परीक्षाको क्रममा त्यस्ता गैरकानुनी क्रियाकलाप भएको हो। अभियुक्तलाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको एसपी उप्रेतीले नेपाल समाचारपत्रलाई बताउनुभयो।

कसरी प्रयोग भएको थियो डिभाइस
परीक्षा दिन गएकामध्ये केही परीक्षार्थीले फोनबाट चल्ने डिभाइस राखेका रहेछन्। डिभाइसमा स्पिकर जोडिएको थियो। र, स्पिकर कानमा राखिएको रहेछ। सानो गन्जीमा सिमकार्डसहितको फोन थियो। अनि फोन जानेबित्तिकै टिक लगाउने प्रश्नको उत्तर भन्दो रहेछ।

संगठितरूपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइसमार्फत् चिट चोराएको बताइएको छ। परीक्षामा सहभागी ३३ जना विद्यार्थीले उक्त परीक्षा पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिल, आईओएम र शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले गत असोज २८ गते लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन कार्य स्थगित भएको जनाएको छ।

आईओएम प्रवेश परीक्षा सञ्चालक समितिले आइतबार जारी गरेको सूचनामा परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएको र केहीले डिभाइसको प्रयोग गरेको पाइएको र त्यस विषयमा छानविन भइरहेको भन्दै नतिजा प्रकाशन कार्य स्थगित भएको जनाएको छ।

नेपाल समाचारपत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया