Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षा ऐन प्रमाणीकरण नगर्ने लविङ्को प्रभाव, तिहार पछि मात्रै टुङ्गिने

बुधबार, ०१ कार्तिक २०७४

काठमाडौं - संशोधनको विरोधमा भईरहेको लविङ्को प्रभाव स्वरुप राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणीकरण गर्ने मिति धकेलिदैं गएको छ । तिहारको विदा हुनु अघिल्लो दिन बुधबार थप ४ वटा विधेयक प्रमाणीकरण भए पनि शिक्षा विधेयक परेन ।

योग्य शिक्षकलाई सेवा प्रवेशमा वञ्देज गर्दै संसदले शिक्षा ऐनको नवौं संशोधन पारित गरेको भन्दै उक्त ऐन प्रमाणीकरण नगर्न शिक्षाविद्ले राष्ट्रपतिको ध्यानाकर्षण गरिसकेका छन् । शिक्षाका प्रवुद्ध वर्गबाट आलोचना भईरहँदा उक्त ऐन प्रमाणीकरणको मिति धकेलिदैं गएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

यही संसद बैठकबाट पारित भई प्रमाणीकरणका लागि आएका विधेयक मध्ये शिक्षा सहित तीनवटा विधेयक मात्रै प्रमाणीकरण हुन बाँकी छन् । ति मध्ये राजर्षी जनक विश्वविद्यालय विधेयक र विपद् ब्यवस्थापन विधेयक मात्रै प्रमाणीकरणका लागि बाँकी रहेको राष्ट्रपति कार्यालयको कानून शाखाका उप सचिव पुष्कर सापकोटाले बताए । अध्ययनकै चरणमा रहेकोले उक्त विधेयकहरु प्रमाणीकरण नभएको उनले बताए ।

'प्रमाणीकरण नहुनु भनेको अध्ययनकै क्रममा हुनु भन्ने बुझिन्छ' उनले भने, 'प्रमाणीकरणका लागि आएका विधेयकहरु अध्ययनको चरण सकेपछि बल्ल प्रमाणीकरण हुन्छ ।'

संसदबाट पारित भएका विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन भित्र प्रमाणीकरण गर्नु पर्ने संवैधानिक ब्यवस्था छ । उक्त विधेयक गत २३ गते अबेर राष्ट्रपति कार्यालयमा दर्ता भएको हो ।

बिहीबारबाट तिहार विदा हुने भएकोले बाँकी रहेका विधेयकका बारेमा तिहार पछि नै प्रकृया शुरु हुने राष्ट्रति कार्यालयका सहाक प्रवक्ता कृष्ण मुरारी न्यौपानेले बताए ।

बुधबार प्रमाणकिरण भएका विधेयकहरुमा सहकारी विधेयक, २०७४, स्वास्थ्य बीमा विधेयक, २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक, २०७४ र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ रहेका छन् ।

यो पनि पढ्नुहोस् : शिक्षाको कालो दिन

प्रतिक्रिया