Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

निरन्तर शिक्षाको लागि २९ कोटा, १३ लाख

बुधबार, ०८ कार्तिक २०७४

भक्तपुर - साक्षर जिल्ला भक्तपुरमा सञ्चालन भइरहेको निरन्तर सिकाइ कार्यक्रमका लागि यो वर्ष २९ वटा कोटा प्राप्त भएको जिल्ला शिक्षा कार्यालय भक्तपुरले जनाएको छ ।

निरन्तर सिकाइबारेमा बुधबार भक्तपुरमा आयोजित अभिमुखीकरणमा जिशिअ अर्जुन रायमाझीले सो जानकारी दिए । चालू आर्थिक वर्ष २०७४÷७५ मा निरन्तर सिकाइ कार्यक्रमअन्तर्गत सञ्चालन हुने कार्यक्रमको शैली, विधि र प्रक्रियाबारे सरोकारवालालाई जानकारी दिई कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न गरिएको सो अभिमुखीकरणमा जिल्ला शिक्षा अधिकारी रायमाझीले कार्यक्रमको लागि भक्तपुरको लागि मात्र रु. १३ लाख प्राप्त भएको जानकारी दिए । उनले गत वर्षभन्दा यो वर्ष ८ वटा कोटा बढी प्राप्त भएको जनाए ।

जिल्लामा रहेका २२ सामुदायिक सिकाइ केन्द्रलाई २९ वटा कोटामार्फत् सो निरन्तर सिकाइ अन्तर्गतका कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।

आगामी पुसदेखि जेठ मसान्तसम्ममा कक्षा सञ्चालन गरिसक्नुपर्ने समयसीमा रहेको जिल्ला शिक्षा कार्यालयका कार्यक्रम अधिकृत यमुना पोखरेलले जानकारी दिइन् । उनले सो कक्षा सञ्चालनका लागि नियुक्त हुने सहयोगी कार्यकर्तालाई मासिक रु. तीन हजारका दरले पारिश्रमिक दिइने पनि बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालले अनौपचारिक शिक्षा दोषमुक्त नभएको बताउँदै दोषमुक्त बनाउने काम जिशिकाले गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा सहभागीहरुले भक्तपुरमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको स्तरोन्नति गर्नका लागि जिल्ला शिक्षा कार्यालयले बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया