Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रालय र विभागले कुरै सुनेन

शुक्रबार, १७ कार्तिक २०७४

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ट्राफिक नियमसम्बन्धी विषयलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

शुक्रबार भक्तपुर ट्रक व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ट्राफिक नियमसम्बन्धी जानकारीलाई विद्यालय तहबाटै पठनपाठन गराउन पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि शिक्षा मन्त्रालयले कुरै नसुनेको बताए ।

उनले सरकारले भन्दा निजी विद्यालय सञ्चालकहरुले समयअनुसार पठनपाठन गराउनका लागि पाठ्यपुस्तकमा सो विषय समेटेको उल्लेख गर्दै भने, ‘प्राइभेट, बोर्डिङ स्कुलको किताबमा जेब्राक्रसिङ विषय छ, तर हाम्रो सरकारले निकालेकै किताबमा छैन ।’ उनले भने ।

अध्यक्ष रोहितले २० वर्ष अघि नै शिक्षा मन्त्रालय, शिक्षा विभागको ध्यानाकर्षण गराए पनि सो बारेमा मन्त्रालयले ध्यानै नदिएको पनि आरोप लगाए । पछिल्लो समयमा बढिरहेको सडक दुर्घटनाको कारणमा नयाँ पिँढीलाई ट्राफिक नियम र नागरिक भावना सिकाउन नसक्दा समस्या बढेको उनको भनाइ थियो ।

कार्यक्रममा उनले शैक्षिक, नैतिक, राजनीतिक र सैद्धान्तिक रुपमा परिपक्वता भएका व्यक्तिलाई चुनावमा उम्मेदवार बनाउनुपर्नमा गुण्डागर्दीमा लागेका व्यक्तिहरुलाई उम्मेदवार बनाउन नहुने उल्लेख गरेका थिए ।
अध्यक्ष बिजुक्छेंले चालकलाई अनुमति पत्र दिनुअघि प्राविधिक कक्षा सञ्चालन गरी शिक्षा दिनुपर्नेमा जोड दिँदै चालकको लागि ट्राफिक कार्यालयले छुट्टै तालिम विद्यालय सञ्चालन गर्न पनि सुझाव दिए ।

सोही अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक नियम पालना नगर्नेमा विद्यालयका बसहरु पनि रहेको बताउँदै गत महिनामात्र डेढसय स्कुल बस कार्वाहीमा परेको जानकारी दिए ।

उनले स्कुल बसहरुको लागि प्रहरीले छुट्टै नीति आवश्यक रहे पनि सो बारेमा सरोकारवालाको ध्यान नपुगेको बताए ।

संघका अध्यक्ष महेन्द्र खायमलीको सभापतित्वमा भएको सोसो कार्यक्रममा भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश २ का उम्मेदवार सुरेन्द्रराज गोसाईँ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल लगायतले ट्राफिक दुर्घटना नियन्त्रणका लागि विद्यालयस्तरबाटै पठनपाठन हुनुपर्ने र त्यसको लागि सरकारले ठोस पहल गर्नुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया