Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

भाषा विवाद 'आकाश खस्ने' विषय नभएको जिकीर

आइतबार, १९ कार्तिक २०७४

बाग्लुङ् - नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख प्रा.डा. हेमाङ्गराज अधिकारीले भाषा विवाद ‘आकाश खस्ने’ विषय नभएको जिकीर गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र धवलागिरी बहुमुखी क्याम्पस बागलुङ्को संयोजनमा बाग्लुङमा शनिबार आयोजित ‘नेपाली भाषा, यसको शिक्षणका चुनौती र समाधान’ विषयक गोष्ठी तथा अन्तक्र्रियामा उनले उक्त कुरा बताएका हुन् ।

‘ह्रस्व दीर्घ, पदयोग पदवियोगसम्बन्धी विवाद आकाशै खस्ने विषय त होइन’, अधिकारीले भने, ‘तर सबै भाषाभाषीका मानिसहरुलाई सहज हिसाबले भाषा सिकाउन र प्रविधिमैत्री बनाउन भाषामा परिवर्तन गरिएको हो ।’ उनले पुरानो भाषिक नियमलाई विस्थापित गरेर नयाँ भाषिक नियम स्थापित गर्न नखोजिएको पनि बताए । उनको भनाइ थियो,‘दुवै वैकल्पिक हिसाबले प्रयोग गर्न सकिन्छ तर सजिलो नयाँ छ ।’

सो अवसरमा उनले भाषा शिक्षक सहजकर्ता भएकाले नेपाली तथा अंग्रेजी भाषाका शिक्षकहरुले सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता सीपमा केन्द्रित भएर विद्यार्थीलाई कार्यकलाप गराउनुपर्ने तर पंक्तिपंक्ति व्याख्या गर्नु नपर्ने पनि बताएका थिए । कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पस नेपाली विभागका विभागीय प्रमुख सह.प्रा. डा. दिनबहादुर थापाले ‘नेपाली भाषा र व्याकरण शिक्षणका समस्या’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपाली भाषा र व्याकरण शिक्षण गर्दा आइपर्ने समस्याहरुलाई प्रस्तुत गरिएको थियो । त्यस्ता समस्याहरुको सहजीकरण भाषाविद् डा. अधिकारीले गरेका थिए । उनले ‘भाषा शिक्षणका लागि रचनामुखी व्याकरणको खोजी’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रम उद्घाटन, अन्तक्र्रिया र समापन गरेर तीन खण्डमा बाँडिएको थियो । कार्यक्रममा साहित्यकार इन्द्रकुमार विकल्प, सामुदायिक क्याम्पसहरुका तर्फबाट बरेङ् क्याम्पसका क्याम्पस प्रमुख फूलकुमारी शर्मा, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, अनुसन्धानकर्ता प्रेम छोटा लगायतले भाषा साहित्यसम्बन्धी आआफ्ना विचार राखेका थिए । कार्यक्रम नेपाली भाषा शिक्षणका चुनौती र समाधानको विषयमा केन्द्रित भनिए पनि ‘नेपाली भाषाको ह्रस्व दीर्घ, पदयोग पदवियोग’कै पक्षमा बढी केन्द्रित भएको थियो ।   

प्रतिक्रिया