Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

‘शिक्षा मन्त्रालयले नै छिन्यो विद्यार्थीको हक’

विहीबार, ३० कार्तिक २०७४

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुको अर्थ विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नु भएको बताएका छन् ।

वागीश्वरी मा.वि.को उन्नान्साठीऔं र वागीश्वरी कलेजको दशौं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘विद्यालय क्रान्तिको बारुदखाना हो, यसैले विद्यार्थीलाई विद्यालयस्तरबाटै राम्रो राजनीति सिकाउनुपर्छ, विद्यालय शान्ति क्षेत्र घोषणा गरेर सरकारले विद्यार्थीलाई राजनीति नबुझ्ने बनाउँदैछ ।’

उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रभाव र दबाबमा परी शिक्षा मन्त्रालयले हचुवाको भरमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे विद्यार्थीले पाउनुपर्ने हक छिनेको पनि बताए । ‘शिक्षा मन्त्रालय एनजिओआइएनजिओले जेजे गर भन्यो, त्यही त्यही गर्नमै सीमित छ, यसले देशको हित भएको छैन, विद्यार्थीमा राष्ट्रिय भावना छैन ।’ उनले भने ।

उनले तल्लो वर्गका जनता र देशको सेवा गर्ने इमान्दार नागरिक तयार गर्नुपर्नेमा जोड दिँदै वर्तमान पूँजीवादी व्यवस्थाले देश बिगारेको र गरिव जनताको पहुँचमा शिक्षा नभएको चर्चा गरे । सोही कारण पार्टीले राम्रो मेडिकल कलेजसहितको विश्वविद्यालय स्थापनाका लागि संघर्ष गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मा.वि.सम्म शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र विश्वविद्यालयसम्म निःशुल्क गर्नुपर्ने संविधानसभामा नेमकिपाले संशोधन पेश गर्दा पनि अन्य पार्टीले पारित गरिनदिनुले ठूला भनाउँदा पार्टीहरु शिक्षा विरोधी रहेको पुष्टि गरे ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले नीति निर्माण गर्ने ठाउँमा राम्रा मान्छे पुग्नका लागि यस वागीश्वरी हरदम प्रयासरत रहेको बताए ।उनले सस्तो, गुणस्तरीय शिक्षा प्रदान गरी देशभक्त नागरिक तयार गर्न हरेक पक्ष लाग्नुपर्ने र राम्रा मान्छे राजनीतिमा नआए गुन्डा र तस्करहरुकै राज हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले शिक्षालाई नाफा कमाउने थलोको रुपमा विकास गर्न नहुने बताए । कार्यक्रममा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले विद्यालय र कलेजको भौतिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्न हरेक तहका शिक्षक, कर्मचारीहरुले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतास, पूर्व शिक्षिका नारायणी मानन्धर, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याईच्याई, भक्तपुर जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझीले विद्यालय र कलेजको प्रगतिको शुभकामना दिए ।

वार्षिकोत्सव समारोह समितिका संयोजक दामोदर सुवालले स्वागत गरेको उक्त कार्यक्रममा विद्यालय प्राचार्य कृष्णप्रसाद धन्छा र कलेज प्राचार्य धनकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अतिथि, विशेष अतिथि एवं प्रमुख अतिथिबाट विद्यार्थीहरुलाई जिल्ला शिक्षा छात्रवृत्ति, सिद्धिबहादुर छात्रवृत्ति, नारायणी छात्रवृत्ति र शिक्षक कर्मचारी छात्रवृत्ति प्रदान गरेको उक्त कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलाप तथा कक्षागत प्रथम, द्धितीय र तृतीयलाई पुरस्कृत गरिएको थियो ।साथै कलेजका उत्कृष्ठ विद्यार्थी तथा उत्कृष्ठ शिक्षक कर्मचारीलाई समेत सम्मान गरेको उक्त कार्यक्रममा अन्तर विद्यालय कविता, कथा, निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको थियो ।

 

प्रतिक्रिया