Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीको एक बर्ष बर्वाद !

शनिबार, ०२ मंसिर २०७४

ललितपुर - आफू पढ्ने कलेज र उक्त कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय प्रति विद्यार्थीको अगाध श्रद्धा हुन्छ । तर, पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको नेशनल ओपन कलेज, सानेपा प्रति त्यहाँका विद्यार्थीलाई न श्रद्धा छ न त मायाँ नै !

आफ्नो जीन्दगीको अमूल्य १ बर्ष बर्वाद गरिदिए पछि होस् पनि कसरी ! उक्त कलेजमा अध्ययन गरेर भविष्य उज्जवल बनाउने सपना बोकेका १५ विद्यार्थी हिजो आज आफूहरु प्रति अन्याय भएको भन्दै हार गुहार गरिरहेका छन् तर सुनिदिने पनि कोही छैन ।

कलेजमा सञ्चालित हेल्थ केयर म्यानेज्मेन्ट संकाय अन्र्तगत पोष्ट ग्रयाजुएट तहमा १५ विद्यार्थी अध्ययन गर्दै आएका थिए । उनीहरुका लागि गत साउनमा लिईएको परीक्षामा पाठ्यक्रममै नभएको प्रश्नहरु सोधेको भन्दै विद्यार्थीले परीक्षा त्यागेका थिए ।

परीक्षा छोडर हलबाट निस्कने बित्तिकै उनीहरुले उक्त विषयमा कलेज प्रशासनसँग छलफल समेत गरेका थिए । विद्यार्थीले आफ्ना समस्या लिखित रुपमा दिए पुनः परीक्षा गर्न विश्वविद्यालयसँग 'लविङ् गर्न सघाउने' मौखिक प्रतिवद्धता कलेज प्रशासनले गरेपछि विद्यार्थी ढुक्क भएर बसेका थिए । बायोस्टाटिस्टिक्स अध्यापन गर्ने शिक्षक रामेश्वर अर्यालले पनि आफुले पढाएको विषयबाट प्रश्नहरु नसोधिएर पाठ्यक्रम बाहिरका प्रश्नहरु सोधेको भन्दै विश्वविद्याललाई लिखित रुपमै जानकारी दिए पछि विद्यार्थी ढुक्क नहुने कुरै थिएन ।

निवेदनको सुनुवाइ हुने दिन कुरीरहेका उनीहरु सबैजना फेल भएको परीक्षाफल प्रकाशित भएपछि आश्चर्य र विस्मयमा परेका छन् !

'नेपालमा विश्वविद्यालयहरुको मनपरी चल्छ ? हामीले दिएको निवदेनको सुनुवाइ केही छैन, एक्कासि नतिजा थोपर्ने ?' पिडीत विद्यार्थी सबनम महतो प्रश्न गर्छिन् 'हामीले पिजी अध्ययन गर्नका लागि तिरको साढे २ लाखको हिसाब अब कसले दिने हामीलाई ? हाम्रो एक वर्षको अध्ययन र मिहिनेतको हिसाब माग्न कहाँ जाने हामी ?'

नतिजा प्रकाशन भइसकेपछि विद्यार्थीले विश्वविद्यालय र आफू अध्ययनरत कलेज दुवैमा सम्पर्क गरेर जानकारी लिन खोज्दा एकले अर्कोलाई दोष लगाउँदै पन्छिएको विद्यार्थीको आरोप छ ।

'हामीले कलेजलाई भन्यौं, कन्ट्रोलरसंग पनि कुरा गर्यौं । दुवै पक्षले हामीलाई अन्याय पर्यो भन्छ तर पुनःपरीक्षा गराउने विषयमा कुनै पनि पक्षले केही गरेन' अर्की छात्रा ध्रुव के.सी. भन्छिन् 'यो देशमा भएका यतिका विद्यार्थी संगठन पनि आफ्ना दलका नारा लगाउनका लागि मात्रै बनेका रहेछन् । हामी विद्यार्थी यसरी अन्यायमा परेको कसले बोलिदिने ? न्याय पाउन हुलदंगा नै गर्नु पर्ने हो ?

आफूलाई परेको यो अन्यायका विरुद्ध कहाँ गएर बोल्ने थाहा नभएर आफूहरु निराश भएको विद्यार्थी बताउँछन् । प्रिन्सिपल शीतल कार्की कलेजका तर्फबाट आफूहरुले पहल गरेको तर विश्वविद्यालयले वास्ता नगरेको बताउँछन् ।

तर, कसले कता के गरीरहेको छ अथवा गर्दै नगरी विद्यार्थीलाई गुमराहमा मात्रै राखेको हो भन्ने यकिन गर्न समेत कठिन भएको विद्यार्थी बताउँछन् ।

'हामीले युनिभर्सिटीलाई इमेलहरु गरेका छौं, मौखिक रुपमा भनेका छौं । गर्दै गरिदिंदैनन् त, हामीले के गर्ने ? विद्यार्थी सिप्पी खड्का निराश प्रश्न गर्छिन् ।

प्रतिक्रिया