Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

चुनावी प्रचारमा लाग्ने शिक्षक, कर्मचारीलाई कारवाही

सोमबार, ०४ मंसिर २०७४

नवलपुर - राजनीतिक दलका चुनावी कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई कारवाही हुने भएको छ । आफ्ना क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु राजनीतिक दलको चुनावी कार्यक्रममा संलग्न भएको फेला परेपछि गैंडाकोट नगरपालिकाले कारवाही गर्ने जनाएको हो । विद्यार्थीको पठन पाठन तथा विद्यालयका कार्यमा वेवास्ता गर्दै शिक्षक तथा कर्मचारीहरु चुनावी प्रचारमा  केन्द्रित भएपछि नगरपालिकाले यसमा कडाई थालेको हो ।

माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत ब्यवस्था भएसँगै नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरेर राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षक कर्मचारीलाई निर्देशन दिएको हो ।

'नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षकहरु निर्वाचन आचार संहिता विपरित राजनीतिक पार्टिहरुको कार्यक्रममा सहभागी भई विद्यालयको दैनिक पठन पाठनमा समेत प्रभावित परेको भनि बुझिन आएकोले यस नगरपालिका भित्रका विद्यालयका शिक्षक तथा कर्मचारीहरु त्यस्तो राजनीतिक पार्टिका कुनै पनि कार्यक्रममा सहभागी नहुन र विद्यालयका विद्यार्थीलाई समेत पार्टिको कार्यक्रममा संहभागी नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ' नगरपालिका द्धारा जारी गरिएको निर्देशनमा भनिएको छ, 'यदी त्यस्तो कार्यमा संलग्न भएको पाहिएमा जुनसुकै शिक्षक कर्मचारीहरुलाई नियमानुसार कारवाही अगाडी बढाईने छ ।'

प्रतिक्रिया