Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

शैक्षिक गुणस्तर सुधारको अपेक्षा

मंगलबार, ०५ मंसिर २०७४

काठमाडौं ५ मंसिर / शिक्षा ऐन–२०२८ को नवौँ संशोधनको तत्काल खारेज र अस्थायी शिक्षकको विज्ञापन स्थगन गर्नुपर्ने माग गर्दै केही विद्यार्थीले शिक्षक सेवा आयोगमा रिले अनशन सुरु गरेका छन् । शिक्षा ऐनको नवौँ संशोधनमा कुल रिक्त दरबन्दीको ७५ प्रतिशत अस्थायी रूपमा कार्यरत शिक्षक र बाँकी २५ प्रतिशतमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत अस्थायी शिक्षक पदपूर्तिको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेकै बेला शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि विज्ञापन खुलाएपछि यसैको विरोधमा विद्यार्थी संघर्ष समितिले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । संशोधित ऐनले आन्तरिकतर्फ लिखित परीक्षामा अनुत्तीर्ण हुने अस्थायी शिक्षकलाई समेत उपदान दिने व्यवस्था गरेकोमा चौतर्फर्ी विरोध भइरहेको छ । अस्थायी शिक्षकले कित प्रतिस्पर्धा कि सुविधा दुईमध्ये एकमात्र रोज्नुपर्छ । प्रतिस्पर्धामा अनुत्तीर्ण हुनेलाई समेत उपदान दिने व्यवस्थाले राज्यले बालबालिकाका लागि शिक्षामा गरेको लगानीको भयंकर उपहास भएको छ । असक्षम र असफल प्रमाणित भइसकेका अस्थायी शिक्षकका लागि तिनले दबाब, घुर्की र धम्की दिए भन्दैमा प्रतिस्पर्धात्मक परीक्षा र उपदान दुबैमा बालबालिकाका लागि शिक्षामा छुट्याइएको लगानी खर्चनु शैक्षिक लगानीको दुरुपयोग नै हो ।

शिक्षामा लगानी राज्यको दायित्वमात्र नभई जनताको मौलिक अधिकार पनि हो । सार्वजनिक शिक्षामा दाताहरूको सहयोग, राष्ट्रिय ढुकुटी र समाजसेवी नागरिककातर्फबाट शैक्षिक लगानी हँुदै आएको छ । यसरी हुने लगानीको उपयोग र पारदर्शिता नहँुदा सार्वजनिक शिक्षा सुधारोन्मुख बन्नसकेको छैन । सार्वजनिक शिक्षामा लगानी बढाउनुपर्ने आवाज चौतर्फी उठिरहेको भए पनि लगानीको उपयोग र व्यवस्थापन के कसरी हुनुपर्छ वा भइरहेको छ भन्नेतर्फ सरोकारवालाको चासो देखिँदैन । शिक्षा क्षेत्रका लागि राष्ट्रको ढुकुटीबाट छुट्याइएको बजेटको झन्डै ८० प्रतिशत लगानी विद्यालय शिक्षामा नै हुने गरेको छ । तर खोइ त्यसको सदुपयोग र पारदर्शिता ? शिक्षामा छुट्याइएको बजेटमध्ये कुन क्षेत्रमा कति र के कसरी लगानी भइरहेको छ र विद्यालयहरूले उक्त रकमको के कसरी सदुपयोग गरिरहेका छन् ? यसको नियमन र निगरानी खोइ ? शिक्षामा गरिएको लगानी मूलत: विद्यार्थीको सिकाइ केन्द्रित हुनुपर्छ । नकि प्रधानाध्यापकका कार्यकक्ष सिँगार्न र शिक्षकका सेवासुविधा र समृद्धिका लागि । विद्यालयमा उचित शैक्षिक वातावरण निर्माण, यथेष्ट भौतिक संरचना निर्माण तथा योग्य दक्ष शिक्षकको व्यवस्थापनमा हुने खर्चलाई पारदर्शी बनाई शैक्षिक लगानीको सदुपयोगतर्फ सबैको ध्यानजानु जरुरी छ ।

संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क अनि माध्यमिक शिक्षा निशुल्क भनेर मौलिक हकमै व्यवस्था गरेको छ । तर कार्यान्वयनका प्रयास प्रभावकारी देखिँदैनन् । अनिवार्य र निशुल्क भनिएका सार्वजनिक विद्यालयको आधारभूत तहमा पढ्ने विद्यार्थी संख्या वर्षेनि न्यून हुँदै गएको छ । सबैको लागि शिक्षाको राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सरकारी बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्छ । वर्षेनि सरकारको नीति तथा कार्यक्रममा सरकारले १२ देखि १७ प्रतिशतसम्म बजेट शिक्षा क्षेत्रमा खर्च गर्दै आएको छ । निजी क्षेत्रबाट विद्यालय, विश्वविद्यालय, खोल्ने क्रम तीव्र गतिमा अघि बढेको छ । मेडिकल कलेज खोल्ने होडमा सरकार र संस्थापकबीच जुहारी नै चलिरहेको छ । तर विडम्बना, दक्षिण एसियाली विद्यालय, विश्वविद्यालयको सूचीमा हाम्रा कति विद्यालय, विश्वविद्यालय अगाडि छन् भनेर हेर्दा शर्माउनुपर्ने अवस्था छ । अहिले सरकारी र निजी दुबै क्षेत्रबाट शिक्षामा भएको लगानीलाई कम मान्न सकिँदैन । तर बढ्दो शैक्षिक विकृति/विसंगति नहटाई शिक्षा क्षेत्रमा बढाइने लगानीको कुनै औचित्य रहन्न । पेन्सिल, कापीसम्म किनिदिन सक्ने अभिभावक आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनै चाहन्नन् ।

ग्रामीण क्षेत्रमा केही प्राथमिक तह सञ्चालनमा रहे पनि सहरी तथा सदरमुकाम क्षेत्रमा सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी भेट्टाउन हम्मे नै छ । विद्यार्थी नभएर कैयौं विद्यालय ‘मर्ज’ हुँदैछन् । शिक्षक तालिम, महंँगा विदेशी विज्ञहरूका परामर्श र खोज–अनुसन्धानले समेत विद्यार्थीको गुणात्मक शैक्षिक उपलव्धि बढ्नसकेको छैन । सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा प्रधानाध्यापक विद्यालयमा नियमित उपस्थित नहुनु र शिक्षक–विद्यार्थीहरूलाई अध्ययन–अध्यापनमा सही निर्देश गर्न नसक्नु हो । यस अलावा विद्यालयको भौतिक संरचना शैक्षिक वातावरणययुक्त नहुनु, विद्यालय व्यवस्थापन तथा प्रशासनिक संरचना उपयुक्त नहुनु, शिक्षकहरू दक्ष नहुनु र शिक्षण कार्य प्रभावकारी नबनाउनु, तालिमको सदुपयोग नहुनु, शिक्षा क्षेत्र सुधार्न बसेका पदाधिकारी नै राजनीतिक दबाब र आर्थिक चंगुलमा पँmस्नु, नजिकै खुलेका तामझामपूर्ण निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्नु नै सामुदायिक विद्यालय धराशायी हुँदै जानुका कारण हुन् ।

पविता मुडभरीले कान्तिपुरमा लेखेकी छन् । 

प्रतिक्रिया